२०८३ श्रावण २९

नेपाल ‘एक चीन सिद्धान्त’प्रति दृढ : परराष्ट्रसचिव राई

काठमाडौं। परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्त’प्रति दृढ रहेको बताउँदै नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्‍याएका छन्।

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव तथा २०२६ नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा बिहीबार बोल्दै सचिव राईले दुई देशबीचको सम्बन्ध पञ्चशील, असल छिमेकीपन, पारस्परिक सम्मान, समानता र सहकार्यमा आधारित रहेको बताए।

उनले पछिल्ला सात दशकमा नेपाल–चीन सम्बन्ध व्यापार, लगानी, पूर्वाधार, पर्यटन, शिक्षा, संस्कृति र जनस्तरीय आदानप्रदानसम्म विस्तार भएको उल्लेख गर्दै ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क सञ्जालको शीघ्र कार्यान्वयनलाई नेपालले प्राथमिकता दिएको बताए।

कार्यक्रममा चिनियाँ राजदूत चाङ माओमिङले नेपाल र चीनबीचको राजनीतिक विश्वास थप बलियो हुँदै गएको बताए। उनले व्यापार, पूर्वाधार, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलगायत क्षेत्रमा सहकार्य विस्तार भइरहेको उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई पारस्परिक सम्मान र लाभका आधारमा थप अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार तथा सम्मान गरिएको थियो। प्रतियोगितामा दिपेश स्याङ्दानले प्रथम हुँदै ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।