काठमाडौं । अमेरिका र दक्षिण कोरियाले आगामी संयुक्त सैन्य अभ्यासमा उत्तर कोरियाली सेनाले रुस–युक्रेन युद्धबाट हासिल गरेको युद्ध अनुभव तथा ड्रोन, साइबर हमला र जीपीएस अवरोधजस्ता आधुनिक युद्धका चुनौतीलाई समेट्ने तयारी गरिरहेका बेला उत्तर कोरियाले त्यसको जवाफमा ‘नयाँ स्तरको प्रतिरोध’ अपनाउने चेतावनी दिएको छ।
‘उल्ची फ्रिडम सिल्ड’ नामक ११ दिने संयुक्त सैन्य अभ्यास अगस्ट १७ देखि २७ सम्म सञ्चालन हुँदैछ। अमेरिका र दक्षिण कोरियाले अभ्यासलाई उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणविरुद्ध संयुक्त प्रतिरक्षा क्षमता र सैन्य तयारी सुदृढ गर्ने अभ्यासका रूपमा लिएका छन्।
उत्तर कोरियाको विदेश मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा अभ्यासको विरोध गर्दै नयाँ स्तरको खतरालाई नयाँ स्तरको प्रतिरोधबाट जवाफ दिने चेतावनी दिएको छ। प्योङयाङले यस्ता अमेरिकी–दक्षिण कोरियाली अभ्यासलाई लामो समयदेखि आफूविरुद्धको आक्रमणको पूर्वाभ्यासका रूपमा चित्रण गर्दै आएको छ।
यस वर्षको अभ्यासमा ड्रोन, साइबर हमला, जीपीएस जामिङ तथा आधुनिक युद्धका अन्य चुनौतीसँग सम्बन्धित प्रशिक्षणमा विशेष ध्यान दिइनेछ। अमेरिकी तथा दक्षिण कोरियाली सैन्य अधिकारीहरूले रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सैनिकको संलग्नताबाट प्राप्त युद्ध अनुभवलाई समेत सम्भावित नयाँ खतराको आकलनमा समेटिएको बताएका छन्।
अभ्यासअघि उत्तर कोरियाले पछिल्ला दिनमा दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणसमेत गरेको छ। अगस्ट ११ मा वोनसान क्षेत्रबाट प्रहार गरिएको क्षेप्यास्त्र करिब ७०० किलोमिटर उडेको दक्षिण कोरियाली तथा जापानी अधिकारीहरूले बताएका छन्।
अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त अभ्यास तथा उत्तर कोरियाका क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्वीपमा सैन्य तनाव कायम रहेका बेला पछिल्लो चेतावनी आएको हो। उत्तर कोरिया र रुसबीच पछिल्लो समय सैन्य सहकार्यसमेत बढेको छ, जसका कारण उत्तर कोरियाली सेनाले युक्रेन युद्धबाट प्रत्यक्ष युद्ध अनुभव हासिल गरेको विषयलाई दक्षिण कोरिया र अमेरिकाले आफ्नो सुरक्षा आकलनमा समेटिरहेका छन्।




