काठमाडौं । केन्याको साम्बुरु काउन्टीमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा इक्वेडरका राष्ट्रिय गुप्तचर प्रमुख मिसेल सेन्सी कोन्टोजी, उनकी पत्नी स्टेफनी होलिहानसहित सात जनाको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमध्ये पाँच जना अमेरिकी नागरिक रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार युरोकप्टर ईसी–१३० बी४ मोडलको हेलिकप्टरमा एक पाइलट र छ यात्रु सवार थिए। स्थानीय समयअनुसार बिहान ९ः१३ बजे लुइसास्थित संरक्षित वन्यजन्तु क्षेत्रबाट इवासो न्याइरो नदीतर्फ उडान भरेको हेलिकप्टर माउन्ट ओलोलोक्वे क्षेत्रमा दुर्घटनामा परेको थियो। दुर्घटनामा हेलिकप्टरमा सवार कसैलाई पनि जीवित उद्धार गर्न नसकिएको प्राधिकरणले जनाएको छ।
इक्वेडरको राष्ट्रिय गुप्तचर केन्द्रका प्रमुख कोन्टोजी निजी भ्रमणका क्रममा पत्नी र साथीहरूसँग केन्या पुगेका थिए। दुर्घटनामा मृत्यु हुने अमेरिकी नागरिकमध्ये अमेरिकी टेलिभिजन क्षेत्रका कार्यकारी जोसे सुआरेजसमेत रहेको जनाइएको छ।




