२०८३ भाद्र ८

‘सानो टोकाइ, ठूलो चुनौती’ नारासहित विश्व लामखुट्टे दिवस मनाइँदै

काठमाडौं । लामखुट्टेको टोकाइबाट फैलिने रोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा आज विभिन्न कार्यक्रम आयोजना गरी विश्व लामखुट्टे दिवस मनाइँदैछ। यस वर्ष दिवसको मूल सन्देश ‘सानो टोकाइ, ठूलो चुनौती’ रहेको छ।

लामखुट्टेको टोकाइबाट औँलो, डेँगी, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले र जापानिज इन्सेफलाइटिसजस्ता विभिन्न रोग फैलिने गर्छन्। नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे पहिचान भएको जनाइएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका अनुसार गत आर्थिक वर्षमा लामखुट्टे तथा अन्य कीटजन्य रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए।

पछिल्लो समय जलवायु परिवर्तनका कारण लामखुट्टे तथा त्यसबाट सर्ने रोगको जोखिम उच्च हिमाली क्षेत्रसम्म विस्तार हुन थालेको विभागले जनाएको छ। तापक्रम र वातावरणीय परिवर्तनका कारण यसअघि कम जोखिममा रहेका क्षेत्रमा समेत कीटजन्य रोगको सम्भावना बढ्दै गएको बताइएको छ।

कीटजन्य रोग नियन्त्रणका लागि विभागले सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। किट रोग नियन्त्रण शाखाका प्रमुख डा. कर्ण दाहालका अनुसार पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लासम्म फैलिएको छ।

दिवसका अवसरमा लामखुट्टेको टोकाइबाट बच्ने उपाय, रोगको समयमै पहिचान तथा उपचार र व्यक्तिगत तथा सामुदायिक सरसफाइबारे जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गरिँदैछ।