काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कञ्चनपुर, कैलालीलगायत जिल्लाको भ्रमणमा जाने भएकी छन्।
मन्त्री रावलले सामाजिक सञ्जालमार्फत भदौ ६ गतेदेखि केही दिन ती जिल्लाको भ्रमणमा रहने जानकारी दिएकी हुन्। भ्रमणका क्रममा भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित जनगुनासो सुन्ने कार्यक्रम रहेको उनले बताएकी छन्।
भ्रमणका क्रममा सहकारी क्षेत्रका समस्या तथा भूमिहीन र सुकुम्बासी नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ। साथै, सम्बन्धित सरोकारवालासँग छलफल गर्ने कार्यक्रम तय गरिएको मन्त्री रावलले जानकारी दिएकी छन्।
उनका अनुसार भ्रमणका क्रममा सम्बन्धित विषयमा सरकारले गरिरहेका काम तथा आगामी तयारीबारे नागरिकलाई जानकारी गराइनेछ।




