काठमाडौं । जेनजी अगुवा रवि किरण हमालले आगामी भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन अपिल गरेका छन्। उनले उक्त दिनलाई पुनः आन्दोलन गर्ने दिनका रूपमा नभई गत वर्षको जेनजी आन्दोलनको स्मरण, शहीदप्रति श्रद्धा र राष्ट्रिय एकताका लागि समर्पित गर्न आग्रह गरेका हुन्।
राष्ट्रिय नागरिक जेनजी अभियानको पत्रकार सम्मेलनमा बोल्दै हमालले शहीद परिवारको भरोसा, घाइतेहरूको आत्मबल र नागरिक एकताका लागि भदौ २३ गते एकजुट हुनुपर्ने बताए।
उनले सरकारले जेनजी आन्दोलनका सुशासन, पारदर्शिता, जवाफदेहिता र संस्थागत सुधारका मुद्दा सम्बोधन नगरेको आरोप लगाए। साथै सरकारका केही अभिव्यक्ति तथा नेपाल–भारत सीमा र सन्धिसम्बन्धी विषयमा गम्भीर प्रश्न उठेको भन्दै छानबिन र सार्वजनिक बहसको माग गरे।
आन्दोलनका उपलब्धिमाथि घात गर्ने प्रयास भए आफूहरू पुनः कठिन संघर्षका लागि तयार रहेको चेतावनी दिँदै हमालले भदौ २३ लाई नयाँ राष्ट्रिय संकल्पको दिन बनाउन सबै नेपालीलाई आह्वान गरे।




