२०८३ भाद्र ९

१५ जिल्लामा आकस्मिक बाढीको जोखिम, सात सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौं । आज देशका १५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ती जिल्लाका स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने भएकाले नदी आसपासका बस्ती तथा सडक क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ।

ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, रसुवा, तनहुँ, लमजुङ, कास्की, दैलेख र सुर्खेत तथा आसपासका क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहेको छ।

यसैबीच, देशभरका सात सडक पूर्णरूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। मेची राजमार्गको इलाम खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक खण्ड तथा जाजरकोट–डोल्पा सडक खण्ड अवरुद्ध छन्।

सिन्धुपाल्चोकको लिपिङ र रसुवाको खाल्टेमा आएको बाढी तथा पहिरोका कारण सडक सञ्चालनमा आउन सकेको छैन। यस्तै, सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बागमती प्रदेशका बीपी राजमार्ग, कान्ति लोकपथ र टोखा–छहरे सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।