२०८३ भाद्र ९

मधेशमा एक वर्षमा १,९३८ उद्योग–व्यवसाय बन्द

काठमाडौं । आर्थिक गतिविधिमा आएको सुस्तताबीच मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा १ हजार ९३८ उद्योग तथा वाणिज्य फर्म बन्द भएका छन्। प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार बन्द हुनेमा ८२१ उद्योग र १ हजार ११७ वाणिज्य फर्म छन्।

तर, सोही अवधिमा प्रदेशमा ५ हजार ६८ नयाँ उद्योग दर्ता भएका छन्। पर्सामा सबैभन्दा धेरै १ हजार १०१ उद्योग दर्ता हुँदा धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ उद्योग दर्ता भएका छन्। एक वर्षमा ७ हजार ५४० उद्योग नवीकरण भएका छन्।

वाणिज्यतर्फ ६ हजार १२२ निजी फर्म र १८ साझेदारी फर्म नयाँ दर्ता भएका छन् भने ११ हजार १४४ फर्म नवीकरण भएका छन्। दर्ता तथा नवीकरणलगायतका शीर्षकबाट प्रदेश सरकारले ५ करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व संकलन गरेको छ।

मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोका अनुसार विश्वव्यापी आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा कमी र पूँजी अभावले व्यवसाय सञ्चालनमा चुनौती बढाएको छ। स्थानीय तहबाट समेत उद्योग दर्ता हुने क्रम बढेकाले प्रदेश सरकारको अभिलेखबाट उद्योगको लगत कट्टा हुने संख्या बढेको उनको भनाइ छ।