काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले उद्योग स्थापना गर्न सरकारले दिएको सहुलियतको आश्वासन पूरा नगर्दा अटोमोबाइल क्षेत्रका उद्योग समस्यामा परेको बताएका छन्।
मंगलबार काठमाडौंमा सुरु भएको नाडा अटो शो–२०२६ को उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले उद्योग स्थापना भइसकेपछि सञ्चालनका क्रममा देखिएका समस्या समाधानमा सरकारले पर्याप्त ध्यान नदिएको गुनासो गरे।
उनका अनुसार अटोमोबाइल क्षेत्रमा उच्च भन्सार दर घटाउन निजी क्षेत्रले माग गर्दा तत्कालीन अर्थमन्त्रीले नेपालमै उद्योग स्थापना गर्न आग्रह गर्दै सहुलियत दिने आश्वासन दिएका थिए। तर, उद्योग स्थापना भएपछि तिनको अवस्था र समस्याबारे सरकारले पर्याप्त चासो नदिएको उनको भनाइ छ।
श्रेष्ठले लामो समयदेखि बन्द रहेका उद्योग पुनः सञ्चालन गर्ने सरकारी प्रयास सकारात्मक भए पनि अहिले सञ्चालनमा रहेका उद्योगको संरक्षण र नयाँ लगानीको वातावरण निर्माणमा पनि समान रूपमा ध्यान दिनुपर्ने बताए।
श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै बजारमा माग बढ्न नसक्दा उद्योग तथा व्यवसाय सञ्चालनमा कठिनाइ भइरहेको बताए।
उनले आफ्नो लामो व्यावसायिक यात्रामा अहिलेको जस्तो कमजोर व्यावसायिक मनोबलको अवस्था पहिलोपटक अनुभव गरेको दाबी गरे। बजारमा माग विस्तार नहुँदा उत्पादन, लगानी र व्यवसाय विस्तारमा समेत असर परेको उनको भनाइ छ।
महासंघ अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको लगानी सुरक्षित हुने वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने बताए। स्थिर व्यावसायिक वातावरण र उद्योग सञ्चालनका समस्या समाधान नगरेसम्म आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने उनको भनाइ छ।
उनले अटोमोबाइल क्षेत्रले सरकारलाई उल्लेख्य राजस्व योगदान दिँदै आएको भए पनि यस क्षेत्रका उद्योग तथा व्यवसायले भोगिरहेका समस्या समाधानमा अपेक्षित ध्यान नपुगेको बताए।
नयाँ लगानी आकर्षित गर्न तथा सञ्चालनमा रहेका उद्योगलाई टिकाइराख्न कर तथा भन्सार नीति, कर्जा सुविधा, बजार माग र व्यावसायिक वातावरणमा सुधार आवश्यक रहेको उनले बताए।



