काठमाडौं। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
मुस्लिम समुदायले हजरत मोहम्मदलाई आफ्ना सन्देष्टाका रूपमा मान्ने गर्दछ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो। पछि उहाँ मदिना जानुभएको थियो। उहाँको जन्म भएको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भएको मानिन्छ। हाल हिजरी संवत् १४४८ चलिरहेको छ।
मक्का–मदिना मुस्लिम समुदायका प्रमुख तीर्थस्थल
मक्का र मदिना मुस्लिम समुदायका प्रमुख धार्मिक तथा तीर्थस्थलका रूपमा परिचित छन्। मुस्लिम समुदायको विश्वासअनुसार पैगम्बर मोहम्मदले उपदेश दिने क्रममा मक्कामै कुरान अवतरण भएको थियो। कुरान अवतरणपछि मक्का इस्लाम धर्मावलम्बीको प्रमुख तीर्थस्थलका रूपमा स्थापित भएको मानिन्छ।
यसअघि जेरुसेलमलाई इस्लाम धर्मावलम्बीको प्रमुख तीर्थस्थलका रूपमा मानिँदै आएको थियो। त्यसैले इस्लाम धर्मावलम्बीले आफ्नो जीवनमा कम्तीमा एकपटक मक्का–मदिना पुगेर हज गर्ने इच्छा राख्ने गर्छन्।
इस्लाम धर्ममा महत्वपूर्ण योगदान पुर्याएका पैगम्बर मोहम्मदका उपदेशलाई स्मरण गर्दै जन्मजयन्तीका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरिँदैछ। यस अवसरमा ¥याली, सभा तथा धार्मिक कार्यक्रम आयोजना गरिने जनाइएको छ।
काठमाडौंस्थित नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ। जन्मजयन्तीका अवसरमा सरकारले आज इस्लाम धर्मावलम्बीका लागि सार्वजनिक बिदासमेत दिएको छ।



