काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीले बस्ती र भौतिक संरचनासँगै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा समेत क्षति पुर्याएको छ। केही शाखा कार्यालय बाढीले बगाएको नेपाल बैंकर्स संघले जनाएको छ।
संघका अनुसार टिमुरेलगायत बाढी प्रभावित क्षेत्रमा विभिन्न बैंकका शाखा सञ्चालनमा थिए। बाढीपछि ती शाखाको अवस्था तथा भएको क्षतिको यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको छ।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बाढीको जानकारी पाएलगत्तै संघले बुधबार बिहान आकस्मिक बैठक गरी क्षतिको विवरण संकलन र उद्धारका विषयमा छलफल गरेको थियो। बैठकले प्रभावित क्षेत्रमा उद्धारका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्ने निर्णय गरेको उनले बताए।
बाढी प्रभावित क्षेत्रमा रहेका केही बैंकका कर्मचारीसँग समेत सम्पर्क हुन नसकेको कोइरालाले जानकारी दिए। टेलिफोन सेवा अवरुद्ध भएकाले कर्मचारीको अवस्था तथा शाखामा भएको क्षतिको विवरण लिन समस्या भइरहेको उनको भनाइ छ। सम्पर्क स्थापित भएका स्थानबाट विवरण संकलन गर्ने काम भइरहेको संघले जनाएको छ।
बैंकर्स संघका अनुसार टिमुरे क्षेत्रमा नबिल, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, ग्लोबल, माछापुच्छ्रे, सानिमा तथा इन्भेस्टमेन्ट मेगालगायत बैंकका शाखा कार्यालय रहेका थिए।




