२०८३ भाद्र १०

रसुवाको बाढीले मालवाहक सवारीसाधन र यातायात व्यवसायी प्रभावित

काठमाडौँ । रसुवाको टिमुरेमा चीनको तिब्बती भू–भागबाट आएको बाढीका कारण मालवाहक सवारीसाधन, यातायात व्यवसायी तथा मजदुर प्रभावित भएका छन्।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका अनुसार टिमुरे भन्सार यार्डमा पार्किङ गरिएका मालवाहक सवारीसाधन बाढीले बगाएको छ। यस्तै, बेत्रावती क्षेत्रमा पार्किङ गरिएका मालवाहक सवारीसाधनमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको महासंघले जनाएको छ।

महासंघअन्तर्गतका सदस्य संस्थामा आबद्ध केही सवारीसाधन, व्यवसायी तथा मजदुरसमेत सम्पर्कविहीन रहेको बताइएको छ। महासंघले सम्पर्कविहीन व्यवसायी तथा मजदुरलाई सम्बन्धित संस्था र सुरक्षा निकायको सम्पर्कमा ल्याउन पहल भइरहेको जनाएको छ।

बाढीको जोखिम अझै कायमै रहेकाले नदी किनार तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन महासंघले व्यवसायी, मजदुर तथा सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न अनुरोध गरिएको छ।

महासंघले विपद्को यस घडीमा उद्धार तथा जोखिम न्यूनीकरणका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्न सबैमा अपिल गरेको छ।

WhatsApp Image 2026-08-26 at 1.53.15 PM