२०८३ भाद्र ११

रसुवा बाढीपछि कञ्चनपुरका २४ जना सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि कञ्चनपुरका २४ जना सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार २४ जना सम्पर्कविहीन भएको भन्दै उनीहरूका आफन्तले प्रहरीलाई जानकारी गराएका छन् । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, नेपाली सेना तथा हाइड्रोपावरमा कार्यरत व्यक्तिहरू रहेको उनले जानकारी दिए ।

रावतका अनुसार बैतडी र डडेल्धुराका तीन जनाका आफन्तले पनि जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरी आफ्ना परिवारका सदस्य सम्पर्कविहीन भएको जानकारी दिएका छन् ।

यसअघि कञ्चनपुर प्रहरीले रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका तथा सम्पर्कमा नआएका व्यक्तिको खोजी र उद्धारमा सहजीकरण गर्न विभिन्न ६ वटा सम्पर्क नम्बर सार्वजनिक गरेको थियो ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कामको सिलसिलामा प्रभावित क्षेत्रमा रहेका व्यक्तिका आफन्तले ती नम्बरमा सम्पर्क गरी आफ्ना परिवारका सदस्यबारे प्रहरीलाई जानकारी गराएका हुन् ।