काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको विनाशकारी बाढीबारे बाढी पूर्वानुमान महाशाखाले विस्तृत प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदनअनुसार तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुटेपछि आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको हो । बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका चारवटा स्वचालित जलमापन केन्द्रसमेत बगेका छन् ।
रसुवाको भोटेकोशी र स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती तथा धादिङको मलेखुस्थित जलमापन केन्द्र पुलसहित बाढीले बगाएको प्रतिवेदनमा उल्लेख छ । प्राविधिक आँकलनअनुसार देवघाटस्थित जलमापन केन्द्रबाट मात्रै बाढीको अवधिमा करिब २ करोड घनमिटर अतिरिक्त पानी बगेको थियो ।
प्रतिवेदनअनुसार १० भदौ बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको थियो । त्यसको केही समयपछि तिब्बततर्फबाट भोटेकोशीमा ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त भएको थियो ।
बिहान ९ बजे बाढीबारे सूचना पाएपछि महाशाखाले ९ः१५ बजेदेखि नदी तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीमा सतर्कता सन्देश पठाउन थालेको जनाएको छ । नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा रसुवा, नुवाकोट, धादिङ र चितवनका जोखिमयुक्त क्षेत्रका नागरिकलाई ६ लाख ७९ हजार २९५ वटा पूर्वसूचना एसएमएस पठाइएको प्रतिवेदनमा उल्लेख छ ।
महाशाखाका अनुसार समयमै पठाइएको पूर्वसूचनाका कारण धेरै नागरिक सम्भावित जोखिमबाट जोगिन सकेका थिए ।
प्रतिवेदनअनुसार बिहान ९ बजे भोटेकोशीमा प्रवेश गरेको बाढी करिब १०ः२८ बजे धादिङको गल्छी आसपास पुगेको थियो । ११ः५० बजे मलेखु बजार आसपास पुगेको बाढी दिउँसो १ बजे मुग्लिन पार गरेको थियो ।
दिउँसो ३ः२० बजे बाढी नारायणी नदी हुँदै देवघाट क्षेत्रमा पुगेको थियो । देवघाट जलमापन केन्द्रमा दिउँसो ४ बजे जलसतह ६.५७ मिटरको उच्चतम बिन्दुमा पुगेपछि घट्न थालेको थियो । साँझ ६ः३० बजेसम्म जलसतह करिब ४ मिटरमा झरेको प्रतिवेदनमा उल्लेख छ ।
बाढीको तीव्र बहावका कारण चारवटा जलमापन केन्द्र पूर्ण रूपमा ध्वस्त भएका छन् । केन्द्रहरू बगेपछि सम्बन्धित क्षेत्रमा प्रत्यक्ष जलसतहको तथ्यांक प्राप्त गर्न कठिन भएको महाशाखाले जनाएको छ ।
महाशाखाले रसुवागढी नाकादेखि नेपाल–भारत सीमासम्मको नदी तटीय क्षेत्रलाई जोखिमका आधारमा अति उच्च, उच्च र मध्यम जोखिम क्षेत्रमा विभाजन गर्दै नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
