२०८३ भाद्र ११

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोट प्रस्थान

काठमाडौं । प्रधानमन्त्री बालेन शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि रहेका छन् । सडकमार्ग हुँदै विदुरतर्फ प्रस्थान गरेका प्रधानमन्त्री शाहले समय अभावका कारण मुख्य रूपमा विदुर तथा आसपासका प्रभावित बस्तीको निरीक्षण गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

निरीक्षणका क्रममा प्रधानमन्त्री शाह र पूर्वाधारमन्त्री लम्सालले बाढीबाट भएको भौतिक क्षतिको स्थलगत जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग राहत, पुनःस्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनका विषयमा छलफल गर्नेछन् ।

बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढीपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रिय रहँदै आएका छन् ।

बाढीको लगत्तै उच्चस्तरीय बैठक आह्वान गरी उनले उद्धार तथा राहतका लागि मातहतका निकायलाई आवश्यक निर्देशन दिनुका साथै राहत तथा उद्धार कार्यमा निरन्तर सहजीकरण गर्दै आएका छन् ।