२०८३ भाद्र ११

त्रिविका व्यवस्थापन संकायअन्तर्गत केही परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका केही परीक्षा प्राकृतिक विपत्तिका कारण स्थगित भएका छन्।

त्रिवि व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले बुधबार जारी गरेको सूचनाअनुसार भोटेकोसी नदीमा आएको बाढीबाट उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै भोलि भदौ ११ गतेका लागि तोकिएका केही परीक्षा स्थगित गरिएको हो।

स्नातकोत्तर तहअन्तर्गत एमबिएस, एमपिए, एमबिए–एफ, एमबिए–सिएल, एमबिए–एम, एमबिएम, एमएचएम, एमटिटिएम र म्याट्स कार्यक्रमको तेस्रो सत्रको नियमित परीक्षा–२०२६ अन्तर्गतका निर्धारित परीक्षा मात्र स्थगित गरिएको डीनको कार्यालयले जनाएको छ।

स्थगित परीक्षाको नयाँ मिति यथाशीघ्र प्रकाशित गरिने संकायले जनाएको छ।

Read More

रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउने सूचना अपुष्ट

काठमाडौं। रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ।

महाशाखाका अनुसार हालसम्म प्राप्त मौसम तथा जलसम्बन्धी सूचना र प्रारम्भिक विश्लेषणबाट थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन। त्यसैले नागरिकलाई संयमित रहन र अपुष्ट सूचना तथा हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ।

हाल उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने भए पनि तत्काल थप विनाशकारी बाढी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ।

नेपालतर्फ ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल आवश्यक सूचना प्रवाह गरिने महाशाखाले जनाएको छ।

Read More

बाढीपीडितका लागि भारतले नेपाललाई १० टन मानवीय सहायता दियो

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि भारत सरकारले १० टन मानवीय सामग्री उपलब्ध गराएको छ।

नेपालमा आएको प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएपछि छिमेकी राष्ट्र भारतले संकटको समयमा ऐक्यबद्धता जनाउँदै राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको हो। नेपालस्थित भारतीय दूतावासका अनुसार उपलब्ध गराइएको सहायता बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने राहत तथा मानवीय सहयोगमा प्रयोग गरिनेछ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार राति नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेललाई उक्त राहत सामग्री हस्तान्तरण गरेका हुन्। राहत सामग्री हस्तान्तरण गर्दै भारतीय पक्षले विपद्को यस कठिन घडीमा नेपालसँग सहकार्य र सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।

भारतको विदेश मन्त्रालयले उपलब्ध गराइएको मानवीय सहायताले बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका राहत, खोजी तथा उद्धार र पुनःस्थापनाका प्रयासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

सहायता सामग्री हस्तान्तरणका क्रममा भारतीय पक्षले नेपाललाई आवश्यक पर्ने हरेक प्रकारको सहयोग उपलब्ध गराउन भारत सदैव प्रतिबद्ध रहेको जनाएको छ। साथै, प्राकृतिक विपद् वा अन्य संकटका समयमा भारत सधैं नेपालको साथमा उभिने प्रतिबद्धता पनि दोहोर्याएको छ।

Read More

रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बिहीबार सर्वदलीय बैठक बस्दै छ।

भोटेकोशी बाढीबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार, राहत वितरण र आगामी पुनःस्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको रास्वपाले जनाएको छ। बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनेदेखि दीर्घकालीन पुनःस्थापना तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल हुने बताइएको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ।

बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा देखिएको मानवीय तथा भौतिक क्षतिको अवस्थाबारे समीक्षा गर्दै उद्धार, राहत र पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच साझा पहल र समन्वयको आवश्यकता बारे पनि छलफल हुने बताइएको छ।

Read More

त्रिशूली र नारायणी नदीमा ६४ शव भेटिए

काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका कारण त्रिशूली र नारायणी नदीमा हालसम्म ६४ शव तथा मानव शरीरका विभिन्न अङ्ग फेला परेका छन्। नदीमा आएको बाढीले बगाएर ल्याएका शवहरू चितवनका विभिन्न क्षेत्रमा भेटिएका हुन्। कतिपय शव सग्लो अवस्थामा छन् भने केही स्थानमा मानव शरीरका अङ्ग मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार नदी किनार तथा आसपासका क्षेत्रमा भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। बाढीका कारण ठूलो संख्यामा शव फेला पर्न थालेपछि शव पहिचान तथा व्यवस्थापनमा समेत चुनौती देखिएको छ।

प्रहरीका अनुसार तनहुँमा फेला परेका नौ शवसमेत चितवन पठाइएको थियो। तर भरतपुर अस्पतालको शवगृहमा पर्याप्त ठाउँ नभएपछि ती शवलाई पुनः तनहुँ नै फिर्ता पठाइएको पौडेलले जानकारी दिए।

बाढीपछि चितवन जिल्लामा रहेका तीनवटै सुरक्षा निकायले नदी किनारमा खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्। त्रिशूली र नारायणी नदीका विभिन्न क्षेत्रमा सम्भावित शव तथा मानव शरीरका अङ्गको खोजी भइरहेको प्रहरीले जनाएको छ।

भरतपुर अस्पतालको शवगृहमा थप शव राख्ने ठाउँको अभाव भएपछि अब फेला पर्ने शवलाई औद्योगिक प्रतिष्ठानका कार्यालय तथा उपलब्ध अन्य सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तयारी भइरहेको प्रहरी प्रमुख पौडेलले बताए।

बाढीका कारण नदीको बहाव तीव्र रहेकाले खोजी तथा उद्धार कार्यमा समेत जोखिम रहेको सुरक्षा निकायले जनाएको छ। फेला परेका शवको पहिचान, अभिलेखीकरण तथा सम्बन्धित परिवारसँग समन्वय गर्ने काम पनि सँगसँगै अघि बढाइने बताइएको छ।

Read More

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

काठमाडौं, भदौ ११ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मृतकमध्ये ३४ महिला, ६३ पुरुष, ६ बालिका र ७ बालक रहेका छन्। थप ४७ जनाको पहिचान खुल्न सकेको छैन। बाढीका कारण विभिन्न जिल्लामा शव फेला पर्ने क्रम जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने देखिएको छ।

प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव फेला परेको छ। बाढी प्रभावित अन्य जिल्लामा पनि ठूलो संख्यामा शव भेटिएका छन्।

नुवाकोटमा ६ महिला र ७ पुरुष गरी १३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै, धादिङमा १० महिला, १० पुरुष, एक बालिका र पहिचान नखुलेका ६ जनाको शव भेटिएको छ।

गोरखामा दुई महिला, आठ पुरुष, एक बालक तथा पहिचान खुल्न नसकेका आठ जनाको शव फेला परेको छ। बाढी र त्यसबाट सिर्जित विपद्का कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक तथा पहिचान नखुलेका २८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। यस जिल्लामा पहिचान नखुलेका शवको संख्या उल्लेख्य रहेको छ।

त्यसैगरी, तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र पहिचान नखुलेका एक जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका, एक बालक तथा पहिचान नखुलेका चार जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार विभिन्न जिल्लामा भेटिएका शवको पहिचान तथा आफन्तसँग समन्वय गर्ने कार्य भइरहेको छ। विपद्पछिको खोज तथा उद्धार र शव व्यवस्थापनको काम पनि सम्बन्धित निकायको समन्वयमा अघि बढाइएको छ।

Read More

मौसम पूर्वानुमान

काठमाडौं । देशभर अहिलेनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानको आसपासमा रहेको छ। यसको प्रभावका कारण देशका अधिकांश भूभागमा बदली रहने र विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ र वर्षासँगै केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले यात्रा तथा दैनिक गतिविधिमा आवश्यक सावधानी अपनाउनुपर्ने देखिन्छ।

हाल देशका अधिकांश हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि सामान्य बदली छ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी प्रदेश:
दिउँसो प्रदेशभर सामान्य बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो तथा गेग्रान बहावको जोखिमप्रति सचेत रहनुपर्नेछ। राति पनि हिमाली क्षेत्रमा वर्षा तथा हिमपात र पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहनेछ।

मधेस प्रदेश:
दिउँसो प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। रातिको समयमा पनि केही स्थानमा वर्षाको सम्भावना रहनेछ। वर्षाका कारण स्थानीय सडक तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्नेछ।

बागमती प्रदेश:
प्रदेशभर सामान्यतया बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। हिमाली भूभागमा वर्षासँगै हिमपात हुन सक्नेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। राति पनि हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको गतिविधि जारी रहनेछ।

गण्डकी प्रदेश:
दिउँसो सामान्य बदली रही हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्नेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो तथा बाढीको जोखिम भएका क्षेत्रमा विशेष सावधानी आवश्यक छ। राति पनि वर्षाको सम्भावना कायम रहनेछ।

लुम्बिनी प्रदेश:
तराई तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। राति पहाडी क्षेत्रमा धेरै स्थानमा तथा तराईका केही स्थानमा वर्षाको सम्भावना रहनेछ। भारी वर्षा हुने क्षेत्रमा बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहनुपर्नेछ।

कर्णाली प्रदेश:
दिउँसो पहाडी भूभागका केही स्थानमा तथा हिमाली क्षेत्रमा समेत वर्षा र हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। राति हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। पहिरो तथा भू–क्षयको जोखिम भएका क्षेत्रमा विशेष सावधानी आवश्यक छ।

सुदूरपश्चिम प्रदेश:
दिउँसो तराईका केही स्थानमा तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। राति हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहनेछ भने तराईका थोरै स्थानमा समेत मध्यम वर्षा हुन सक्नेछ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा समेत वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्राकृतिक प्रकोपको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सम्बन्धित सबैले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ।

Read More

आजको राशिफल

२०८३ भदौ ११ गते (२७ अगस्ट २०२६) बिहीवार
श्रावण शुक्लपक्ष चतुर्दशी तिथि, प्रातः ८ः३१ बजेपछि पूर्णिमा। आज धनिष्ठा नक्षत्र रहेको छ। चन्द्रमा मकर राशिमा रहनेछ भने १४ः१५ बजेपछि कुम्भ राशिमा प्रवेश गर्नेछ। ग्रह–नक्षत्रको यही प्रभावका कारण आज विभिन्न राशिका जातकका लागि काम, व्यवसाय, आर्थिक पक्ष, सम्बन्ध, अध्ययन तथा दैनिक व्यवहारमा फरक–फरक प्रभाव देखिन सक्छ। बिहानको समय र दिउँसोपछि आउने परिस्थितिमा समेत परिवर्तन देखिने भएकाले महत्त्वपूर्ण काम गर्दा समय र परिस्थितिलाई ध्यान दिनु लाभदायक हुनेछ।

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

विवादास्पद काममा हात हाल्नुपर्ने परिस्थिति आए पनि धैर्य र निरन्तर प्रयत्नले बिस्तारै लक्ष्यतर्फ अघि बढ्न सकिनेछ। अवसरहरू आफैंले पछ्याउनेछन्। आज दिगो फाइदा हुने कामको जग बसाउने राम्रो मौका मिल्नेछ। मिहिनेत र लगनशीलताले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। यसअघि गरिएका कामबाट समेत मनग्य लाभ मिल्नेछ। उठ्नुपर्ने रकम हातलागी हुन सक्छ भने सञ्चित रकमको उचित उपयोगले थप फाइदा दिलाउनेछ।

वृष – Taurus

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

टाढिएका मित्रहरू पुनः नजिकिनाले मनमा प्रसन्नता छाउनेछ। सामाजिक काममा रुचि बढ्नेछ र आवश्यक पर्दा सहयोगीहरूको साथ सहजै पाइनेछ। आर्थिक अभाव हट्नुका साथै नाम, दाम र इनाम प्राप्त हुने सम्भावना छ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काममा सहभागी हुने अवसर मिल्नेछ। दिउँसोदेखि व्यवसायमा मनग्य फाइदा हुनेछ। कामका बाधाहरू हट्दै जानेछन्। चुनौतीहरू स्वतः कम हुनेछन् भने अवसर र सफलताले तपाईंलाई पछ्याउनेछन्।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, हा

परिस्थितिवश अरूका लागि आफ्नो समय र ऊर्जा खर्च गर्नुपर्ने हुन सक्छ। व्यवहारमा केही असमझदारी आउन सक्ने भएकाले बोली र व्यवहारमा संयम अपनाउनुहोला। सानातिना समस्याले अल्झाउनेछन् भने स्वास्थ्य पनि केही प्रतिकूल रहन सक्छ। काम गर्दा शुभचिन्तकहरूको भावना बुझ्ने प्रयास गर्नु उचित हुनेछ। दिउँसोदेखि आफ्नो क्षमता र काम देखाएर प्रभाव जमाउन सकिनेछ। अवसरवादीहरूले तपाईंका कमजोरीबाट फाइदा उठाउन सक्ने भएकाले सजग रहनुहोस्। तापनि समुदायको हितमा उल्लेखनीय काम गर्न सकिनेछ।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रियजनको साथ र आत्मीयताले दिन रमाइलो रहनेछ। विशेष तथा महत्त्वपूर्ण कामका लागि बिहानको समय बढी लाभदायक हुनेछ। व्यवसायबाट आम्दानी बढ्नेछ। साथीभाइको साथ जुट्नाले परिस्थिति पनि अनुकूल बन्दै जानेछ। स्वादिष्ट खानपानको आनन्द लिन पाइनेछ। दिउँसोदेखि लोकाचार र सामाजिक व्यवहारका कारण फजुल खर्च बढ्न सक्छ। स्वास्थ्यका लागि खानपान र आहारविहारमा विशेष ध्यान दिनुहोला। धेरै मिहिनेत गरे पनि अपेक्षाअनुसार लाभ नपाइन सक्छ, त्यसैले खर्च र श्रम दुवैमा सन्तुलन आवश्यक छ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आए पनि आवश्यक स्रोतसाधन जुट्नाले दिगो र प्रभावकारी काम गर्न सकिनेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने प्रयास गर्न सक्छन्, त्यसैले आफ्नो काम र योजनाप्रति सजग रहनुहोला। बुद्धि र विवेकको सही प्रयोगले कठिन कामसमेत बनाउन सकिनेछ। मध्याह्नपछि व्यापार विस्तार हुनुका साथै व्यवसायबाट लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। मित्रता र प्रेमको सम्बन्ध अझ प्रगाढ हुनेछ भने आकर्षक उपहार वा सुखद् व्यवहारले उत्साह बढाउनेछ।

कन्या – Virgo

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। मिहिनेत र लगनशीलताले अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव तथा सन्तानको सहयोग विशेष रूपमा लाभदायी बन्न सक्छ। विशेष कामको जग बसाउने अवसर जुट्नेछ। दिउँसोदेखि प्रतिस्पर्धामा उत्रनुपरे पनि त्यसबाट मनग्य लाभ उठाउन सकिनेछ। फाइदा हुने कामको थालनी गर्ने अवसर मिल्नेछ। समस्या खुलेर राख्दा सहयोगीहरूले साथ दिनेछन्। बुद्धिको उचित उपयोग र योजनाबद्ध प्रयासले लक्ष्यमा पुग्न सहज हुनेछ।

तुला – Libra

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो परिस्थिति निम्त्याउन सक्छ, त्यसैले महत्त्वपूर्ण निर्णय गर्दा पर्याप्त सोचविचार गर्नुहोला। प्रक्रिया नमिल्दा एउटै काम दोहोर्याएर गर्नुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्तसँग पुनः निकटता बढ्नेछ। मध्याह्नदेखि बुद्धिको सदुपयोग गरेर फाइदाका नयाँ स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि हासिल हुनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको नतिजा पनि सकारात्मक रहने सम्भावना छ। निरन्तर मिहिनेतले अन्ततः लक्ष्य प्राप्त गर्न सकिनेछ।

बृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

गलत व्यक्तिमाथि विश्वास गर्दा धोका पाउने सम्भावना भएकाले व्यवहारमा सावधानी अपनाउनुहोला। काममा आफ्नो श्रम र समय खर्चिए पनि त्यसको प्रतिफलमाथि अरूले अधिकार जमाउने प्रयास गर्न सक्छन्। नतिजा कमजोर देखिएमा कुनै काम पुनः दोहोर्याउनुपर्ने अवस्था आउन सक्छ। मध्याह्नदेखि भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ भने आवश्यक सहयोग गर्ने व्यक्तिहरू पनि भेटिनेछन्। विगतमा दिएको वचनले अहिले अप्ठ्यारो परिस्थिति निम्त्याउन सक्ने भएकाले सोचेर अघि बढ्नुहोला। साथीभाइसँग सन्तुलित र स्पष्ट व्यवहार गर्नु लाभदायक हुनेछ।

धनु – Sagittarius

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आज मान–सम्मान प्राप्त गर्ने समय छ। प्रभावशाली बोली र आत्मविश्वासका कारण चिताएका काम बन्नेछन्। तपाईंका विचारले धेरैलाई आकर्षित गर्नेछन् र प्रशंसकहरूको संख्या बढ्नेछ। सहयोगीहरूले काममा साथ दिने भएकाले योजनाहरू अघि बढाउन सहज हुनेछ। आर्थिक रूपमा पनि राम्रो फाइदा हुने योग छ। दिउँसोदेखि नयाँ काम प्रारम्भ गर्ने अवसर मिल्नेछ। पेसा तथा व्यवसायमा लाभ हुनेछ। अध्ययन र व्यापार दुवै क्षेत्रमा प्रगतिको सम्भावना छ। व्यक्तित्वमा निखार आउनुका साथै नाम, दाम र इनाम हातलागी हुनेछ।

मकर – Capricorn

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

प्रियजनसँगको भेटघाटले दिनलाई सुखद् र रमाइलो बनाउनेछ। भौतिक साधन तथा सुविधाको प्राप्तिले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। बिछोडिएका आफन्त नजिकिनेछन्। निरन्तर मिहिनेतले उपलब्धि हासिल हुनेछ। अध्ययनमा प्रगति हुनुका साथै आफ्नो ज्ञान र सीपलाई थप निखार्ने अवसर मिल्नेछ। सुखद् समाचारले उत्साह र आत्मविश्वास बढाउनेछ। आम्दानीका स्रोत विस्तार हुनेछन् भने दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ गर्न पनि अनुकूल वातावरण बन्नेछ।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

खर्चिलो काममा बढी संलग्न हुँदा आर्थिक अभाव निम्तिन सक्छ, त्यसैले आवश्यक र अनावश्यक खर्च छुट्याउनुहोला। तापनि तत्कालभन्दा भविष्यका लागि योजना बनाएर काम गर्ने समय छ। समस्याहरूले तपाईंलाई थप सक्रिय र जिम्मेवार बन्न प्रेरित गर्नेछन्। शुभचिन्तकहरूको साथ जुट्नाले आशा मारेको उपलब्धि पुनः प्राप्त हुन सक्छ। आज गरिएको श्रमले भविष्यमा राम्रो फाइदा दिनेछ। दिउँसो पारिवारिक भेटघाटले घरमा खुसियाली छाउनेछ। चिताएको काम बन्नाले उत्साह बढ्नेछ। नयाँ काम सुरु गर्ने अवसर मिल्नेछ र पेसा–व्यवसायमा लाभ हुनेछ।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

मिहिनेत र लगनशीलताले आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधनहरू सहजै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह र आत्मविश्वास बढ्नेछ। आफ्नो श्रमको उचित मूल्य प्राप्त हुनेछ। व्यापारमा उल्लेखनीय प्रगति गर्दै राम्रो फड्को मार्न सकिनेछ। तर दिउँसोदेखि खर्च बढ्नाले आर्थिक अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने अवस्था आउन सक्छ। सोख तथा विलासितामा हुने खर्चले आर्थिक दबाब बढाउन सक्छ। योजनाबद्ध प्रयत्न गरेमा यात्राको प्रक्रिया अघि बढ्नेछ र नयाँ अवसरतर्फ जाने बाटो खुल्नेछ।

Read More