काठमाडौं । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानको आसपासमा रहेको छ। यसको प्रभावका कारण देशका अधिकांश भूभागमा बदली रहने र विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ र वर्षासँगै केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले यात्रा तथा दैनिक गतिविधिमा आवश्यक सावधानी अपनाउनुपर्ने देखिन्छ।
हाल देशका अधिकांश हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि सामान्य बदली छ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
कोशी प्रदेश:
दिउँसो प्रदेशभर सामान्य बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो तथा गेग्रान बहावको जोखिमप्रति सचेत रहनुपर्नेछ। राति पनि हिमाली क्षेत्रमा वर्षा तथा हिमपात र पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहनेछ।
मधेस प्रदेश:
दिउँसो प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। रातिको समयमा पनि केही स्थानमा वर्षाको सम्भावना रहनेछ। वर्षाका कारण स्थानीय सडक तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्नेछ।
बागमती प्रदेश:
प्रदेशभर सामान्यतया बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। हिमाली भूभागमा वर्षासँगै हिमपात हुन सक्नेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। राति पनि हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको गतिविधि जारी रहनेछ।
गण्डकी प्रदेश:
दिउँसो सामान्य बदली रही हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्नेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो तथा बाढीको जोखिम भएका क्षेत्रमा विशेष सावधानी आवश्यक छ। राति पनि वर्षाको सम्भावना कायम रहनेछ।
लुम्बिनी प्रदेश:
तराई तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। राति पहाडी क्षेत्रमा धेरै स्थानमा तथा तराईका केही स्थानमा वर्षाको सम्भावना रहनेछ। भारी वर्षा हुने क्षेत्रमा बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहनुपर्नेछ।
कर्णाली प्रदेश:
दिउँसो पहाडी भूभागका केही स्थानमा तथा हिमाली क्षेत्रमा समेत वर्षा र हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। राति हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। पहिरो तथा भू–क्षयको जोखिम भएका क्षेत्रमा विशेष सावधानी आवश्यक छ।
सुदूरपश्चिम प्रदेश:
दिउँसो तराईका केही स्थानमा तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। राति हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहनेछ भने तराईका थोरै स्थानमा समेत मध्यम वर्षा हुन सक्नेछ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा समेत वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्राकृतिक प्रकोपको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सम्बन्धित सबैले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ।




