काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको प्रवेशद्वार खोल्न सोमबार बिहान ३ बजे ब्लास्टिङ गरिएको छ। बाढीपछि सुरुङको मुख थुनिएर आयोजनाभित्र केही व्यक्ति फसेको तथा केही सम्पर्कविहीन रहेको अवस्थामा उनीहरूसम्म पुग्ने बाटो खोल्ने उद्देश्यले ब्लास्टिङ गरिएको हो।
सुरुङको प्रवेशद्वारमा रहेको करिब ४० सेन्टिमिटर बाक्लो ढलान हटाउन ब्लास्टिङ गर्नुपरेको जनाइएको छ। ब्लास्टिङपछि सुरुङको मुख खोल्ने प्रयास जारी रहे पनि सुरुङको भित्री भागमा पानी भरिएका कारण तत्कालै भित्र प्रवेश गर्न सक्ने अवस्था नरहेको सांसद श्रीराम न्यौपानेले जानकारी दिएका छन्।
उनका अनुसार बिहान करिब ३ बजे ब्लास्टिङ गरिएको हो। तर सुरुङभित्र पानीको मात्रा धेरै रहेकाले तत्काल उद्धार टोली प्रवेश गर्ने सम्भावना देखिएको छैन। पानीको अवस्था र सुरुङको संरचनाको निरीक्षण गर्दै प्रवेशद्वार खोल्ने तथा उद्धारका लागि सुरक्षित बाटो बनाउने काम भइरहेको उनले बताए।
भोटेकोशी बाढीपछि आयोजनास्थलमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, प्राविधिक तथा सम्बन्धित टोली परिचालन गरिएको छ। आयोजनास्थलको कठिन भौगोलिक अवस्था, बाढीबाट भएको क्षति र सुरुङभित्र पानी भरिएका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
उद्धार टोलीले सुरुङभित्रको अवस्था सुरक्षित बनाएपछि मात्र भित्र प्रवेश गरी फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी अघि बढाउने तयारी गरेको छ। उद्धार कार्यमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राविधिक मूल्यांकन र आवश्यक सुरक्षा उपाय अपनाइँदैछ।




