काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना क्षेत्रको आज स्थलगत निरीक्षण गर्नुहुने भएको छ। मन्त्री श्रेष्ठ नुवाकोट हुँदै रसुवास्थित जलविद्युत् आयोजना क्षेत्रमा पुगेर बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिनुहुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।
मन्त्री श्रेष्ठ स्थलमार्गबाट नुवाकोट पुग्नुहुनेछ। नुवाकोटमा उहाँले बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यको अवस्थाबारे जानकारी लिनुका साथै विद्युत् सेवा पुग्न नसकेका स्थानमा वैकल्पिक ऊर्जाका रूपमा सौर्य ऊर्जा (सोलार) को व्यवस्था गर्ने विषयमा सम्बन्धित पक्षसँग छलफल गर्नुहुनेछ। उहाँ त्रिशूलीको बट्टारस्थित क्याम्पमा समेत पुग्नुहुने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार मन्त्री श्रेष्ठ त्यसपछि हेलिकप्टरमार्फत रसुवा पुग्नुहुनेछ। रसुवामा उहाँले जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा भइरहेको उद्धार कार्यको अवस्था, उद्धारमा देखिएका कठिनाइ तथा बाढीबाट भएको क्षतिको विवरणबारे जानकारी लिनुहुनेछ।
रसुवाबाट फर्किएपछि मन्त्री श्रेष्ठ नुवाकोटस्थित नेपाली सेनाको एकीकृत उद्धार शिविरमा पुग्नुहुनेछ। त्यहाँ उहाँले उद्धार तथा राहत कार्यको प्रगतिबारे जानकारी लिनुका साथै प्रभावित क्षेत्रमा भइरहेको कामका सम्बन्धमा सम्बन्धित अधिकारीसँग छलफल गर्नुहुनेछ।
नुवाकोटमै मन्त्री श्रेष्ठले सुरुङमार्गमा फसेका कर्मचारीका परिवारसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै, उहाँले नेपाल विद्युत् प्राधिकरणको टोलीसँग छलफल गरी उद्धार तथा प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापनालगायत विषयमा आवश्यक सहजीकरण तथा निर्देशन दिने उहाँको सचिवालयले जनाएको छ।




