२०८३ भाद्र २९

भोटेकोशी बाढीमा दुई युवाको मृत्यु, कोहलपुरको लोकनगर शोकमा

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान आएको विनाशकारी बाढीमा परी दुई युवाको मृत्यु भएपछि बाँकेको कोहलपुर–११ स्थित लोकनगर बस्ती शोकमा डुबेको छ।

रोजगारीका सिलसिलामा रसुवाको जलविद्युत् आयोजनामा कार्यरत २८ वर्षीय महेश थारू र २३ वर्षीय कबीरलाल थारू बाढीमा परी ज्यान गुमाएका हुन्। दसैँमा घर फर्किएर परिवारसँग खुसी साट्ने सपना बोकेका उनीहरूको क्षतविक्षत शव घर ल्याइएपछि सिङ्गो बस्ती स्तब्ध बनेको कोहलपुर नगरपालिका–११ की वडाध्यक्ष कल्पना अधिकारीले बताइन्।

अभिभावकका एक्ला छोरा महेश गत असार १० गते मिस्त्रीको कामका लागि रसुवा गएका थिए। बाढीपछि सम्पर्कविहीन भएका उनको शव चितवनमा आफन्तले फेला पारेका थिए।

महेशका वृद्ध बुबा विश्राम थारूले सुरुदेखि नै छोराको फोन सम्पर्क हुन नसकेको बताए। उनले छोराको शव भेटिने आशामा चितवन पुगेको र त्यहाँ मृत अवस्थामा फेला पारेको बताए।

‘सुरुदेखि नै फोन लागेन। लासै भए पनि भेटिन्छ कि भन्ने आशले चितवन पुग्यौँ, छोरो मृत अवस्थामा भेटियो,’ उनले भने, ‘बाढीले छोरालाई बगाएपछि बुढेसकालको सहारा खोसिएको छ।’

महेशको परिवारमा श्रीमती, वृद्ध बुबाआमा तथा आठ र दुई वर्षका दुई छोरा छन्।

त्यसैगरी, गत वैशाखमा रोजगारीका लागि रसुवा पुगेका २३ वर्षीय कबीरलालको शव भरतपुर अस्पतालमा फेला परेको उनका दाजु सुग्रीप थारूले जानकारी दिए।

उनका अनुसार भरतपुर अस्पतालमा रहेका शवहरूमध्ये खोजी गर्ने क्रममा कबीरलालको क्षतविक्षत शव फेला परेको थियो।

‘भरतपुर अस्पतालमा सयौँ लास थिए। खोजी गर्दा भाइको दायाँ खुट्टा छिनिएको र क्षतविक्षत लास भेटियो,’ सुग्रीपले भने, ‘घरबाट जिउँदो भेट्ने आशा लिएर खोजीमा पुगेका हाम्रा आशा सधैँका लागि समाप्त भयो।’

मृतक दुवै युवाको कोहलपुरस्थित शवदाह गृहमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार कोहलपुरका थप ११ जना नागरिकसमेत बाढीमा परी सम्पर्कविहीन रहेको विवरण उनीहरूका आफन्तले नगरपालिकामा बुझाएका छन्।

नगरपालिकाले बाढीमा ज्यान गुमाएका नगरवासीका परिवारलाई काजकिरिया खर्चबापत तत्काल ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि वडा नम्बर १२ का वडाध्यक्ष वीरेन्द्र शाहको नेतृत्वमा जनप्रतिनिधि, नगर प्रहरी र परिवारका सदस्यसहितको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

त्यस्तै, राहत तथा उद्धारका लागि सहयोग पुर्‍याउने उद्देश्यले जनप्रतिनिधि र कर्मचारीको तीनदेखि सात दिनसम्मको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयसमेत नगरपालिकाले गरेको छ।