काठमाडौँ । भोटेकोशी बाढी तथा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न स्थानका सडक तथा राजमार्ग अवरुद्ध भएका छन्। सडक भासिने, नदीले सडक कटान गर्ने र पहिरो खस्ने क्रम नरोकिँदा यातायात सेवा प्रभावित भएको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गरेपछि सडक भासिएको छ। सडकको ठूलो हिस्सा भासिएपछि उक्त स्थानमा मानिससमेत आवतजावत गर्न नसक्ने गरी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
धादिङकै गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा बाढीका कारण सडकको तल्लो भाग भासिएपछि यातायात पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।
यस्तै, लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौरस्थित बेँसीसहर–मनाङ सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, ओखलढुङ्गाको सिद्धिचरण लोकमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ जोड्ने सडकखण्डसमेत अवरुद्ध भएको छ।
लगातारको वर्षाका कारण मुगुबाट गमगढीतर्फ जाने सडकमा समेत क्षति पुगेको छ। सडकमा बाढी तथा पहिरोको असर परेपछि उक्त सडकखण्डमा यातायात सञ्चालन प्रभावित भएको प्रहरीले जनाएको छ।
अविरल वर्षासँगै देशका विभिन्न सडकखण्डमा बाढी, पहिरो र सडक कटानको जोखिम बढेको छ। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले आवश्यक पहल तथा उद्धार कार्य अघि बढाइरहेका छन्।




