काठमाडौँ। सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २५ वटा ढोका खोलिएका छन्। पानीको बहाव बढ्दै गएपछि ब्यारेजका थप ढोका खोलिएको हो।
हिजो साँझ गरिएको मापनअनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड २ लाख १० हजार ९२५ क्युसेक पानीको प्रवाह हुँदा २१ वटा ढोका खोलिएका थिए। त्यसपछि पानीको बहाव निरन्तर बढेर प्रतिसेकेन्ड १ लाख ९२ हजार ५३५ क्युसेक पुगेपछि २५ वटा ढोका खोलिएको जनाइएको छ।
कोशी ब्यारेजमा पानीको प्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको संकेतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ।
हाल तत्काल डुबानको जोखिम नरहे पनि दिउँसोदेखि जलसतह निरन्तर बढिरहेकाले सम्बन्धित निकाय तथा सप्तकोशी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। जोखिमपूर्ण क्षेत्रमा नजानसमेत सर्वसाधारणलाई अनुरोध गरिएको छ।
तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन नगर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचनामार्फत आग्रह गरेको छ।




