काठमाडौँ । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका केही सडक सञ्चालनमा आएका छन्। मुख्य सडक अझै पूर्ण रूपमा सञ्चालनमा नआएको अवस्थामा सरकारले वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरेको छ।
प्राधिकरणले अत्यावश्यक खोज, उद्धार तथा राहत सामग्री ढुवानीका लागि मात्रै हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्था रहेकाले अनावश्यक हवाई उद्धारको माग नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। सीमित हवाई साधनलाई अत्यावश्यक काममा मात्रै प्रयोग गर्नुपर्ने भएकाले प्रभावित क्षेत्रका नागरिकलाई सम्भव भएसम्म वैकल्पिक सडकमार्ग प्रयोग गर्न अनुरोध गरिएको हो।
रसुवा जान वैकल्पिक सडक सञ्चालनमा
प्राधिकरणले रसुवा र धादिङ जोड्ने वैकल्पिक सडकमार्ग सार्वजनिक गरेको छ। जसअनुसार रसुवा जान नुवाकोटको विदुर–ढिकुरे–चौघडा–आप्र–नर्जा–लच्याङ–सरमर्थाले–पाटीखर्क हुँदै बोगटीटार (पासाङ ल्हामु मार्ग, रसुवा)–कालिकास्थान–धुन्चे पुग्न सकिनेछ। उक्त सडकमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा आएका छन्।
धादिङका लागि पनि वैकल्पिक मार्ग
धादिङतर्फ जाने यात्रुका लागि धादिङबेँसी–परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेँसीटार हुँदै मास्टर ग्रामीण सडकबाट पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।
प्राधिकरणले विपद्को अवस्थामा अत्यावश्यकबाहेकका यात्रा नगर्न तथा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। साथै, विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सहज बनाउन सम्बन्धित सबैलाई सहयोग गरिदिन अनुरोध गरिएको छ।




