२०८३ भाद्र २९

गोरखाको छेकम्पारमा पहिरो खस्दा बूढीगण्डकी आंशिक थुनियो

काठमाडौँ । गोरखाको छेकम्पारमा सुख्खा पहिरो खस्दा बूढीगण्डकी नदी केही समय आंशिक रूपमा थुनिएको छ। सोमबार बिहान छेकम्पारको वडा नम्बर ७ स्थित सियारखोलमा पहिरो गएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिएका छन्।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार पहिरोले नदीको सम्पूर्ण बहाव भने रोकिएको छैन। नदीको पानी निकास भइरहेको उनले बताए।

छेकम्पारको चौँरीखर्कपारि ठूलो पहिरो गएर चुमबाट बग्ने बूढीगण्डकी नदी थुनिएको भन्दै केही समयदेखि सामाजिक सञ्जालमा विभिन्न सूचना तथा हल्ला फैलिएको थियो।

तर, पहिरोका कारण केही समय नदीको बहाव प्रभावित भए पनि अहिले पानी पुनः बग्न थालेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।