काठमाडौं। नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा अवरुद्ध सडक खुलाएर यातायात सञ्चालनमा ल्याइएको छ । विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन सञ्चालन हुन थालेपछि भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको आवागमन सहज भएको छ । बाढीका कारण क्षति पुगेका सडक तथा डुबानमा परेका बस्तीमा आवतजावत सहज बनाउन जिल्ला विपद् व्यवस्थापन समितिले सडक सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको हो ।
ढुङ्गेबजारको बस्ती तथा सडकमा पुगेको क्षति र डुबानका कारण सिर्जित अवरोध हटाएपछि यातायात सञ्चालन गर्न सम्भव भएको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । सडक सञ्चालनमा आएपछि बाढीबाट प्रभावित क्षेत्रमा शव व्यवस्थापन, क्षति पुग्न बाँकी घरबाट सामग्री सुरक्षित स्थानमा सार्न तथा राहत तथा उद्धारका काममा समेत सहज भएको उनले बताए ।
नगरप्रमुख श्रेष्ठका अनुसार ढुङ्गे क्षेत्र हुँदै बेत्रावतीसम्म पुग्ने बाटो खुलेपछि क्षतिग्रस्त सडक मर्मत तथा पुनःस्थापनाका लागि आवश्यक यन्त्र–उपकरण र जनशक्ति परिचालन गर्नसमेत सहज भएको छ । “क्षति पुगेका सडक मर्मतका लागि यन्त्र–उपकरणसहित जनशक्ति पठाउन सजिलो भएको छ,” उनले भने ।
ढुङ्गेलगायतका क्षेत्रमा अवरुद्ध सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय नुवाकोट, पूर्वाधार विकास कार्यालय र विदुर नगरपालिकाले हेभी उपकरणसहित जनशक्ति परिचालन गरेका थिए । सडक खुलाउने तथा प्रभावित क्षेत्रमा अत्यावश्यक काम अघि बढाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले समेत आवश्यक सहयोग गरेका थिए ।
सडक सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई थप गति दिन र स्थानीयवासीको आवागमन सहज बनाउन सहयोग पुगेको छ ।




