काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावितका लागि संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाल पठाएको राहत तथा उद्धार सामग्री ग्रहण गर्दै सहयोगका लागि धन्यवाद दिएका छन् ।
मन्त्री पुनले मंगलबार सामाजिक सञ्जालमार्फत युएईबाट करिब ६० टन उद्धार तथा राहत सामग्री नेपाल आइपुगेको जानकारी दिएका हुन् । उनका अनुसार युएईले विपद्का बेला नेपाललाई गरेको यो दोस्रो सहयोग हो । यसअघि पनि युएई सरकारले नेपाललाई सहयोग गरेको उनले बताएका छन् ।
पुनका अनुसार युएई सरकारले नेपाललाई एक अर्ब रुपैयाँ नगदसमेत सहयोग गरेको छ । उनले विपद्को समयमा गरेको सहयोगका लागि युएई सरकारप्रति आभार व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “हिजो राती संयुक्त अरब इमिरेट्स (युएई) बाट आएको करिब ६० टन उद्धार सामग्री नेपाल सरकारले बुझ्यो । यो सहयोग दोस्रो हो । यसका साथै युएई सरकारले नेपाललाई एक अर्ब रुपैयाँ नगद पनि सहयोग गरेको छ । युएई सरकारलाई धन्यवाद।”
युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनमा नेपालका बाढी तथा पहिरो प्रभावितका लागि उक्त सहायता पठाइएको हो । राहत सामग्रीमा खाद्यान्न, दैनिक उपभोग्य तथा आवश्यक सामग्री, जेनेरेटरलगायत विपद् प्रभावितको उद्धार तथा राहतमा आवश्यक सामग्री समावेश छन् ।
विपद्बाट प्रभावित क्षेत्रमा आवश्यकताअनुसार उक्त सामग्री परिचालन गरी राहत तथा उद्धार कार्यमा सहयोग पुर्याइने जनाइएको छ ।




