काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कञ्चनपुरबाट करिब १ करोड रुपैयाँ बराबरको सहयोग जुटाइएको छ । जिल्लाका विभिन्न स्थानीय तह, संघसंस्था, शैक्षिक संस्था, सहकारी तथा व्यक्तिबाट संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
शुक्लाफाँटा नगरपालिकाले ७ लाख रुपैयाँ कोषमा जम्मा गरेको नगर प्रमुख रणबहादुर महराले जानकारी दिए । यस्तै, सुदूरपश्चिम विश्वविद्यालयले ८८ लाख रुपैयाँ बराबरको रकम राहत कोषमा प्रदान गरेको विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्टले बताए । उनका अनुसार उपकुलपतिले एक महिनाको तलब, प्राध्यापक तथा कर्मचारीले १० दिनसम्मको र अन्य तहका कर्मचारीले २ देखि ७ दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गरेका हुन् ।
कञ्चनपुर उद्योग वाणिज्य संघले ५ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष दिनेश मल्लले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको बताए ।
लिटिल बुद्ध एकेडेमीले ८ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ । यस्तै, उदयदेव सहकारी संस्थाले २ लाख ११ हजार, मेघा सहकारीले १ लाख १ हजार र जिल्लाका अन्य सहकारीले ९८ हजार रुपैयाँ सहयोग गरेका छन् ।
निड्स नेपालले १ लाख २५ हजार, समाज कल्याण संघले १ लाख ८६ हजार, भीमदत्त नगरपालिका–१८ ले १ लाख ११ हजार, सिर्जनशील सहकारीले १ लाख ११ हजार, भीमदत्त नगरपालिका–४ ले ५१ हजार र वडा नम्बर १७ ले ५० हजार रुपैयाँ राहत कोषमा जम्मा गरेका छन् ।
त्यसैगरी, होटल चेतनले ५१ हजार, आध्या स्कुलले ५५ हजार, मर्निङ ग्लोरी स्कुलले ५१ हजार र होटल ओपेराले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
कञ्चनपुरस्थित गुरुकुल इन्टरनेसनल स्कुलले पनि विद्यालय परिसरमा धार्मिक महोत्सव आयोजना गरी बाढीपीडितका लागि सहयोग जुटाउने तयारी गरेको छ । विद्यालयका प्राचार्य खेमलाल घिमिरेका अनुसार ‘दिव्य श्रीकृष्ण लीला गौरा पर्व धार्मिक महोत्सव’ आयोजना गरी संकलन हुने सम्पूर्ण रकम बाढीपीडितको राहतमा प्रदान गरिनेछ ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कञ्चनपुरका विभिन्न संघसंस्था, स्थानीय तह तथा नागरिकबाट सहयोग जुटाउने क्रम जारी रहेको छ ।




