२०८३ कार्तिक १६

इरानमाथि थप आक्रमण गर्ने ट्रम्पको चेतावनी, अमेरिकी हमलामा १८ जनाको मृत्यु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप आक्रमण गर्ने चेतावनी दिएका छन् । आफूले चाहेको जुनसुकै समयमा इरानमा आक्रमण गर्न सक्ने धम्कीका बीच अमेरिकी हमलामा परी इरानमा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

पछिल्लो अमेरिकी आक्रमणमा कम्तीमा १०८ जना घाइते भएका छन् । अमेरिका र इरानबीच जुलाईयताकै सबैभन्दा ठूलो आक्रमण–प्रत्याक्रमण भइरहेका बेला ट्रम्पले बुधबार थप आक्रमणको चेतावनी दिएका हुन् ।

अमेरिकी सेनाले इरानको दक्षिणी तट नजिकका सहर तथा आसपासका क्षेत्रमा आक्रमण गरेको थियो । त्यसक्रममा बुधबार कुहेस्तक सहरस्थित एउटा विवाह समारोह भइरहेको घरमा समेत मिसाइल प्रहार भएको थियो । उक्त आक्रमणको जवाफमा इरानले बहराइन, इराक र जोर्डनलगायत पश्चिम एसियाली देशमा रहेका अमेरिकी सैन्य शिविरमा आक्रमण गरेको थियो ।

‘गए राति हामीले उनीहरूलाई निकै कडासँग प्रहार गर्‍यौँ,’ ह्वाइट हाउसमा बोल्दै ट्रम्पले भनेका थिए । उनका अनुसार ती आक्रमणमा स्ट्रेट अफ होर्मुजमा इरानले निर्माण गरिरहेका सबै नयाँ उपकरण ध्वस्त भएका छन् ।

‘गए रातिको आक्रमण निकै कडा थियो । र हामीले अर्को यस्तै आक्रमणको तयारी गरिरहेका छौँ,’ ट्रम्पले भने । उनले यस्ता आक्रमण आफूले चाहेको जुनसुकै समयमा गर्न सकिने पनि स्पष्ट पारे ।

बुधबार भएको अमेरिकी आक्रमणमा मृत्यु हुनेमध्ये दुई जना बालबालिका रहेको इरानी स्वास्थ्य मन्त्री मोहम्मद–रेजा जफारघन्डीले बताएका छन् । कुहेस्तकको विवाह समारोह भइरहेको घरमा भएको आक्रमणमा चार वर्षीय बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको उनले बताए ।

कुहेस्तकमा भएको आक्रमणलाई इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले ‘युद्ध अपराध’ को संज्ञा दिएका छन् ।