२०८३ भाद्र २८

हङकङद्वारा नेपाललाई २६२ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको हो।

हङकङका लागि बाबर हायतले उत्कृष्ट अविजित शतकीय पारी खेल्दै ११७ रन बनाए। उनले १२६ बलमा ७ चौका र ७ छक्का प्रहार गरे। हायतले ईशान खानसँग आठौँ विकेटका लागि १२८ रनको अविजित साझेदारी गर्दै टोलीको स्कोर बलियो बनाउन महत्वपूर्ण भूमिका खेले। ईशान खान ३५ रनमा अविजित रहे।

तेस्रो क्रममा ब्याटिङ गर्न आएका हायतले एकतर्फ लगातार विकेट गइरहे पनि धैर्यपूर्वक पारी सम्हाल्दै हङकङलाई बलियो योगफलतर्फ डोर्याए। ओपनर जिसन अलीले १५ तथा अंशुमान रातले १३ रन बनाए भने साहिदवासीले ४५ रनको योगदान दिए।

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। शेर मल्लले ३ विकेट हात पारे। नेपालका अन्य चार बलर भने विकेटविहीन रहे।

प्रतियोगितामा नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा मलेसियामाथि ६ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा साउदी अरेबियासँग प्रतिस्पर्धा गरेको थियो। आजको खेल नेपालका लागि समूह चरणको अन्तिम खेल हो।