२०८३ भाद्र २८

नेपाल टेलिकमका कर्मचारीद्वारा विपद् प्रभावितका लागि २ करोडभन्दा बढी सहयोग

काठमाडौं । नेपाल टेलिकमका कर्मचारीहरूले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ सहयोग गरेका छन्।

नेपाल टेलिकमका कर्मचारीहरूको तर्फबाट प्रदान गरिएको सहयोग रकमको चेक कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन्।

रकम हस्तान्तरण कार्यक्रममा नेपाल टेलिकम सञ्चालक समितिका सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेय, सञ्चालक समितिका कर्मचारी प्रतिनिधि सदस्य लोकबहादुर कटुवाल, प्रमुख वित्तीय अधिकृत द्वारिकाप्रसाद पौडेल र प्रमुख मानव संसाधन अधिकृत निर्झर भट्टराईको उपस्थिति थियो।

नेपाल टेलिकमका अनुसार उक्त रकम कम्पनीमा विभिन्न तहमा कार्यरत कर्मचारीहरूको तलबबाट तहगत योगदानका आधारमा कट्टा गरी संकलन गरिएको हो। कर्मचारीहरूको यो सहयोगबाट बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कर्मचारीहरूको व्यक्तिगत योगदानबाहेक नेपाल टेलिकमले संस्थागत रूपमा पनि कम्पनीको तर्फबाट छुट्टै रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने तयारी गरेको छ। केही दिनभित्रै संस्थागत सहयोग रकम कोषमा जम्मा गरिने नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए।