काठमाडौं। भोटेकोसी बाढीमा ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षणलाई तीव्र बनाएको छ। बाढीपछि भेटिएका शवको पहिचानमा कुनै त्रुटि नहोस् भन्ने उद्देश्यले प्रहरीले वैज्ञानिक तथा आधुनिक फोरेन्सिक प्रविधिबाट परीक्षण अघि बढाएको हो।
नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा बाढी प्रभावित क्षेत्रबाट संकलन गरिएका तथा मृतकका आफन्तबाट प्राप्त डीएनए नमुनाको परीक्षण भइरहेको छ। नमुना संकलन, सुरक्षित भण्डारणदेखि परीक्षणसम्मका सबै चरणमा वैज्ञानिक मापदण्ड र उपलब्ध प्रविधि प्रयोग गरिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले विपद्पछिको खोज तथा उद्धारसँगै शव पहिचानको कामलाई पनि प्रहरीले प्राथमिकतामा राखेको बताएका छन्।
प्रयोगशाला प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालका अनुसार प्रभावित क्षेत्रबाट मृतकका नमुना तथा आफन्तका नमुना प्रयोगशालामा आउने क्रम जारी छ।
प्रहरीका अनुसार हालसम्म मृतकका आफन्त तथा अन्य स्रोतबाट संकलित ८०८ वटा रगतका नमुना प्रयोगशालामा प्राप्त भएका छन्। त्यस्तै, मृतकका दाँत तथा हड्डीबाट ३४८ वटा नमुना र ८४ वटा औँठाछापसम्बन्धी नमुना प्राप्त भएका छन्। यीसमेत गरी डीएनए तथा अन्य फोरेन्सिक परीक्षणका लागि कुल १ हजार २४० नमुना प्रयोगशालामा पुगेका छन्।
डीएनए प्रोफाइलिङका लागि हालसम्म २६ जिल्लाबाट रगतका नमुना प्राप्त भएको प्रहरीले जनाएको छ। पछिल्लो विवरणअनुसार शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ४१२ गरी कुल २ हजार ६७८ डीएनए नमुना संकलन गरिएको छ।
प्रहरीले प्राप्त नमुनाको वैज्ञानिक परीक्षणमार्फत शवको यकिन पहिचान गर्ने प्रक्रिया अघि बढाइरहेको जनाएको छ।




