२०८३ भाद्र २९

रसुवागढी र तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो व्यापारिक चाप

काठमाडौँ चीनसँगको उत्तरी व्यापारका लागि प्रयोग हुँदै आएका रसुवागढी र तातोपानी नाका प्रभावित भएपछि मुस्ताङको कोरला नाकामा आयातको चाप बढेको छ। रसुवागढी नाकामा रोकिएका मालवाहक कन्टेनरसमेत कोरला हुँदै नेपाल भित्रिन थालेपछि पछिल्लो समय नाकाको व्यापारिक गतिविधि तीव्र बनेको हो।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार रसुवागढी नाकामा रोकिएका १७६ वटा कन्टेनर कोरला नाकातर्फ डाइभर्ट गरिएको छ। केही कन्टेनर कोरला पुगिसकेका छन् भने बाँकी पनि क्रमशः आइरहेका छन्। अहिले भन्सार कार्यालयको सडक आसपास २०० भन्दा बढी कन्टेनर छन् भने भन्सार ¥याडमा मालवस्तुसहित करिब १५० भन्दा बढी कन्टेनर रोकिएका छन्।

दसैँ, तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा चीनबाट तयारी लत्ताकपडा, शृङ्गारका सामग्री, औद्योगिक कच्चा पदार्थ, फलफूल र खाद्य सामग्री बोकेका कन्टेनरसमेत कोरला नाकातर्फ डाइभर्ट भएका छन्। भन्सार प्रमुख चुडालका अनुसार अहिले दैनिक ५० भन्दा बढी कन्टेनर चीनको लिजी क्षेत्रमा प्रवेश गर्ने गरेका छन्।

कोरला नाकाको पछिल्लो सक्रियता भने आकस्मिक रूपमा सुरु भएको होइन। कोभिड महामारीका कारण चार वर्ष बन्द रहेको यो नाका २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकका लागि बाह्रै महिना खुला गरिएको थियो। त्यसपछि तल्लो मुस्ताङका नागरिकलाई समेत सीमापार पास वितरण गरी नेचुङ–लिजी आवतजावत सहज बनाइएको थियो।

कोभिडअघि कोरला नाका असार र भदौमा सीमित समयका लागि मात्र खुल्ने गरेको थियो। चीनको तिब्बती भूमि झोङ्वासेन पठारमा चिनियाँ पक्षले सीमावर्ती नेपाली नागरिकका लागि दैनिक उपभोग्य वस्तु खरिद गर्न अल्पकालीन अन्तरदेशीय व्यापार मेला सञ्चालन गर्ने गरेको थियो। तर कोभिडपछि चीनले एकपक्षीय रूपमा नाका बन्द गरेपछि चार वर्षसम्म व्यापार र आवतजावत ठप्प भएको थियो।

२०८० कात्तिक २७ गते नाका पुनः खुलाउँदा चिनियाँ पक्षले नेपाली पक्षलाई सहभागी गराएर आतसबाजीसहित औपचारिक कार्यक्रम गरेको थियो। सुरुमा नाका उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै खुला गरिएको थियो। पछि तल्लो मुस्ताङका नागरिकलाई पनि सीमापार पास दिइएपछि आवतजावत विस्तार भएको हो।

बाह्रै महिना खुला भए पनि सुरुआती चरणमा कोरला नाकाको कारोबार स्थानीयस्तरमै सीमित थियो। सीमावर्ती क्षेत्रका नागरिक र तल्लो मुस्ताङका केही बासिन्दाले घरायसी प्रयोजनका दैनिक उपभोग्य वस्तु चीनको कोरलास्थित लिजी हाटबजारबाट खरिद गरी ल्याउने गरेका थिए। चिनियाँ पक्षले नेपालीलाई सीमित मात्रामा मात्रै मालसामान आफ्नो भूमिबाट ल्याउन दिने गरेको थियो। त्यसबेला मुस्ताङ भन्सार कार्यालयको वार्षिक राजस्व संकलन करिब १० देखि १५ करोड रुपैयाँमा सीमित थियो।

गत वर्षको भदौ ३१ गतेदेखि कोरला नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याएपछि भने आयात–निर्यातको परिमाण बढ्न थालेको हो। उत्तरतर्फका तातोपानी र रसुवागढी नाका बाढी, पहिरो र नदी कटानका कारण बन्द भएपछि कोरलालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग गर्न थालिएको थियो। नाका पूर्ण रूपमा सञ्चालनमा आए पनि पूर्वाधार निर्माणतर्फ भने पर्याप्त ध्यान पुग्न नसकेको बताइएको छ।

पछिल्लो पटक यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले रसुवागढी नाका पूर्ण रूपमा बन्द गरेपछि कोरला नाकामाथिको निर्भरता थप बढेको हो। तातोपानी नाका पनि सञ्चालनमा नरहेको अवस्थामा उत्तरतर्फका तीन नाकामध्ये अहिले व्यापारिक गतिविधिका लागि कोरला महत्वपूर्ण विकल्प बनेको छ।

कोरला नाकाको पछिल्लो अवस्थातथ्यांक
रसुवागढीबाट डाइभर्ट भएका कन्टेनर१७६
भन्सार सडक आसपास रहेका कन्टेनर२०० भन्दा बढी
भन्सार ¥याडमा रोकिएका कन्टेनर१५० भन्दा बढी
दैनिक चीनको लिजी क्षेत्रमा प्रवेश गर्ने कन्टेनर५० भन्दा बढी

भन्सार कार्यालयका अनुसार रसुवागढी नाका बन्द हुनुअघि ४० दिनमा कोरला नाकाबाट भित्रिएका मालवस्तुको पैठारीबापत ५२ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको थियो। भदौ १० गतेपछि मात्रै थप २६ करोड रुपैयाँभन्दा बढी राजस्व उठेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २० गतेसम्म मुस्ताङ भन्सार कार्यालयले ७८ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिसकेको छ।

राजस्वसँगै सवारीसाधन र कन्टेनरको जाँचपास पनि तीव्र भएको छ। रसुवागढी नाका बन्द भएपछि नौ दिनको अवधिमा ८८ वटा मालवाहक कन्टेनर र १३० वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको छ। त्यसअघि साउनदेखि भदौ १० गतेअघिसम्म १६३ वटा विद्युतीय सवारीसाधन र १३३ वटा मालवाहक कन्टेनरको जाँचपास भएको थियो।

भन्सार गतिविधिभदौ १० अघिको ४० दिनभदौ १० पछिको अवधि
विद्युतीय सवारीसाधन जाँचपास१६३१३०
मालवाहक कन्टेनर जाँचपास१३३८८
दैनिक औसत EV जाँचपास४–५१५ भन्दा बढी
दैनिक औसत कन्टेनर जाँचपास३–४१० भन्दा बढी

भन्सार प्रमुख चुडालका अनुसार भदौ १० गतेअघिको ४० दिनमा दैनिक औसत १ करोड ३० लाख रुपैयाँ राजस्व संकलन भएको थियो। भदौ १० गतेपछि भने दैनिक औसत राजस्व २ करोड ८८ लाख रुपैयाँभन्दा बढी पुगेको छ। अघिल्लो ४० दिनमा १६३ वटा विद्युतीय सवारीसाधन जाँचपास भएकामा पछिल्लो १० दिनमा मात्रै १३० वटा जाँचपास भएका छन्। त्यस्तै, अघिल्लो ४० दिनमा १३३ कन्टेनर जाँचपास भएकामा पछिल्लो १० दिनमा ८८ वटा जाँचपास भएका छन्।

राजस्वको अवस्थारकम
भदौ १० अघिको ४० दिनमा राजस्व५२ करोड ८० लाख रुपैयाँ
भदौ १० अघिको दैनिक औसत१ करोड ३० लाख रुपैयाँ
भदौ १० पछि थप राजस्व२६ करोड रुपैयाँभन्दा बढी
भदौ १० पछिको दैनिक औसत२ करोड ८८ लाख रुपैयाँभन्दा बढी
चालु आवको भदौ २० सम्म७८ करोड रुपैयाँभन्दा बढी

मुस्ताङ भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। उक्त वर्ष चीनबाट १४ अर्ब ४० करोड रुपैयाँभन्दा बढीका मालवस्तु आयात भएका थिए भने २० करोड ५० लाख रुपैयाँभन्दा बढीका मालवस्तु चीनतर्फ निर्यात भएका थिए।

गत वर्ष कोरला नाका हुँदै ३ हजार २२३ वटा विद्युतीय सवारीसाधन र १ हजार ८७३ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएको थियो। चालु आवमा सामान्य अवस्था रहे ९ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। तर रसुवागढी र तातोपानी नाका बन्द भएपछि कोरला हुँदै आयात बढेकाले लक्ष्यभन्दा बढी राजस्व संकलन हुने अनुमान गरिएको भन्सार प्रमुख चुडालले बताएका छन्।

गत आव २०८२/८३ को विवरणतथ्यांक
संकलित भन्सार राजस्व६ अर्ब ९२ करोड रुपैयाँ
चीनबाट आयात१४ अर्ब ४० करोड रुपैयाँभन्दा बढी
चीनतर्फ निर्यात२० करोड ५० लाख रुपैयाँभन्दा बढी
जाँचपास भएका विद्युतीय सवारीसाधन३,२२३
जाँचपास भएका मालवाहक कन्टेनर१,८७३
चालु आवको राजस्व लक्ष्य९ अर्ब रुपैयाँभन्दा बढी

चीनबाट कोरला हुँदै आएका विद्युतीय सवारीसाधन भन्सार जाँचपासका लागि कोरला नाकामै पार्किङ गरिएका छन्। पछिल्लो समय कोरला नाकादेखि न्हेचुङ भन्सार आसपासका क्षेत्र कन्टेनर र विद्युतीय सवारीसाधनले भरिन थालेका छन्।

यसअघि उपल्लो मुस्ताङका नागरिकको आवतजावत र घरायसी प्रयोजनका सामानको खरिद–बिक्रीमा सीमित रहेको कोरला नाका अहिले रसुवागढी र तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि महत्वपूर्ण वैकल्पिक मार्ग बनेको छ। बढ्दो व्यापारिक चापसँगै नाकाको भन्सार ¥याड, पार्किङ तथा अन्य पूर्वाधारको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता पनि देखिएको छ।