काठमाडौं । रसुवाको टिमुरेमा भदौ १० गते आएको भोटेकोशी बाढीपछि ठूलो संख्यामा सवारीसाधन तथा त्यसमा संलग्न व्यक्तिहरू सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। विभिन्न यातायात व्यवसायी संघ, कम्पनी तथा प्रालिबाट संकलित विवरणअनुसार ५ सय ३३ वटा सवारीसाधन र तिनमा संलग्न ७ सय ४१ चालक, सहचालक, परिचालक तथा व्यवसायी अझै सम्पर्कविहीन छन्।
बाढीमा ट्रक, कन्टेनर, बस, जिप, माइक्रोबसलगायतका सवारीसाधन परेको व्यवसायीहरूको विवरणमा उल्लेख छ। तर घटना भएको तीन साताभन्दा बढी समय बितिसक्दा पनि हराएका सवारीसाधन र व्यक्तिको यकिन तथा एकीकृत सरकारी तथ्यांक भने सार्वजनिक हुन सकेको छैन।
ट्रक र कन्टेनरमा सबैभन्दा ठूलो क्षति
नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागमा बुझाएको विवरणअनुसार मात्रै ३ सय २५ ट्रक तथा कन्टेनरसँग सम्बन्धित ४ सय ४० जना सम्पर्कविहीन छन्। भदौ १० गते बिहान चीनतर्फबाट आएको बाढीले टिमुरे क्षेत्रमा पार्किङ तथा आवतजावतमा रहेका सवारीसाधन बगाएको महासंघले जनाएको छ।
महासंघका अनुसार नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका २ सय १७ सवारीसाधन हराएका छन् भने २ सय ५१ चालक, परिचालक तथा व्यवसायी सम्पर्कविहीन छन्। अन्य संस्थाबाट संकलित विवरण यस्तो छ:
| संस्था | हराएका सवारीसाधन | सम्पर्कविहीन व्यक्ति |
|---|---|---|
| नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालि | २१७ | २५१ |
| नारायणी यातायात व्यवसायी संघ | ५५ | ७८ |
| तराई यातायात व्यवसायी संघ | २१ | ३५ |
| ट्रक यातायात व्यवसायी संघ नेपाल | १० | २० |
| गण्डकी ट्रक व्यवसायी संघ | २१ | ३४ |
| पश्चिमाञ्चल यातायात व्यवसायी समिति | ११ | २२ |
| जम्मा | ३२५ | ४४० |
महासंघले थप विवरण प्राप्त भएमा तथ्यांक अद्यावधिक गर्ने जनाएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार उसका सदस्य संघ, समिति, कम्पनी तथा प्रालिअन्तर्गतका १ सय ११ सवारीसाधन बाढीबाट प्रभावित भएका छन्। यसमा बस, मिनीबस, जिप, कन्टेनर, ट्रक, टिपर र माइक्रोबसलगायतका सवारीसाधन छन्।
महासंघका अनुसार ती सवारीसाधनसँग सम्बन्धित चालक, परिचालक तथा यात्रुसहित तीन सयभन्दा बढी व्यक्ति प्रभावित भएका छन्। विभिन्न यातायात कम्पनी तथा समितिबाट थप विवरण संकलन भइरहेको जनाइएको छ।
यसैगरी ट्रान्सपोर्टेसन पोर्टर सर्भिस प्रालिका चार पर्यटक सवारीसाधन हराएका छन् भने ती सवारीका चार चालकसमेत सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँका अनुसार हराएका सवारीसाधन तथा व्यक्तिको विवरण आउने क्रम अझै जारी छ। उनले हाल प्राप्त विवरण प्रारम्भिक भएकाले वास्तविक क्षति अझ ठूलो हुन सक्ने बताएका छन्।
व्यवसायीहरूले सरकारलाई विवरण बुझाए पनि खोजी तथा तथ्यांक अद्यावधिक गर्ने काम अपेक्षाअनुसार अघि नबढेको गुनासो गरेका छन्। नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अर्जुनबहादुर सापकोटाका अनुसार हराएका चालक तथा मजदुरका परिवारसमेत आफन्तको अवस्थाबारे जानकारी नपाउँदा चिन्तित छन्।
सरकारसँग अझै छैन एकीकृत तथ्यांक
यातायात व्यवसायी संघहरूले आफ्ना सदस्य तथा सम्बन्धित संस्थाबाट छुट्टाछुट्टै विवरण संकलन गरिरहेका छन्। तर ती सबै विवरणलाई एकीकृत गरी प्रमाणीकरण गरिएको सरकारी तथ्यांक भने अहिलेसम्म सार्वजनिक भएको छैन।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले सवारीसाधन तथा यातायात मजदुर हराएको विषयमा तथ्यांक संकलन भइरहेको बताएकी छन्। उनका अनुसार हालसम्म कति सवारीसाधन र व्यक्ति हराएका छन् भन्ने यकिन विवरण उपलब्ध छैन।
व्यवसायी संघहरूले उपलब्ध गराएको विवरणमा वर्गीकरण फरक रहेको र कतिपय तथ्यांक दोहोरिन सक्ने सम्भावना रहेकाले ५ सय ३३ सवारीसाधन र ७ सय ४१ व्यक्तिको संख्या अन्तिम सरकारी तथ्यांक होइन। सम्बन्धित निकायबाट प्रमाणीकरण र थप अद्यावधिक भएपछि मात्र वास्तविक क्षतिको यकिन विवरण आउनेछ।



