२०८३ कार्तिक ८

रास्वपाले तोक्यो १३ विभागका प्रमुख, दुई उपप्रमुख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका विभिन्न विभागमा नयाँ जिम्मेवारी तोक्दै १३ विभागका प्रमुख र दुई उपप्रमुख मनोनयन गरेको छ।

वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समिति बैठकले विभागीय नेतृत्वसम्बन्धी निर्णय गरेको हो। प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले पार्टीका विभिन्न सांगठनिक तथा विषयगत विभागमा प्रमुख र उपप्रमुखको जिम्मेवारी बाँडफाँट गरेको हो।

नयाँ जिम्मेवारीअनुसार प्रवास सम्पर्क विभागको नेतृत्व मनिष झालाई दिइएको छ। आर्थिक व्यवस्थापन विभागको प्रमुखमा डा. मनोहर प्रधान, कानुन मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य तथा सामाजिक न्याय, लैंगिक समानता तथा समावेशिकता विभागमा रुविना आचार्यलाई जिम्मेवारी दिइएको छ।

सुशासन तथा राज्य व्यवस्था विभागको प्रमुखमा सुदिप ढकाल र विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागको नेतृत्व सुलभ खरेलले पाएका छन्। कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभागमा दीपककुमार साह (महोत्तरी) प्रमुख बनेका छन्।

त्यस्तै, आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागको जिम्मेवारी शर्मिला खनाललाई दिइएको छ। विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा आनन्दबहादुर चन्द र संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मी चयन भएका छन्।

वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागको नेतृत्व धर्म केसीले गर्नेछन् भने सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागको प्रमुखमा रिमा विश्वकर्मालाई मनोनयन गरिएको छ।

केन्द्रीय समितिको निर्णयअनुसार अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र तथा अर्थ विभागको उपप्रमुखमा डिल्लीश्वर कार्कीलाई जिम्मेवारी दिइएको प्रवक्ता खरेलले जानकारी दिए।