काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी सबस्टेसनको निरीक्षण गर्दै निर्माणाधीन प्रसारण लाइनको काम निर्धारित समयमा सम्पन्न गर्न जोड दिएका छन्।
निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले सबस्टेसनमा निर्माण भइरहेका दुईवटा ‘मल्टिसर्किट टावर’को अवस्थाबारे जानकारी लिएका थिए। मन्त्रालयका अनुसार उनले देशको ऊर्जा प्रसारण प्रणालीका लागि महत्वपूर्ण मानिएको आयोजनाको काममा ढिलाइ हुन नदिन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएका छन्।
हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माणको काम सुरु भएको करिब १२ वर्ष भए पनि विभिन्न कारणले आयोजना प्रभावित हुँदै आएको छ। पछिल्लो निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले बाँकी कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका हुन्।




