२०८३ कार्तिक ७

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडौं । दसैँमा घर फर्किने यात्रुका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ। यात्रुको चाप व्यवस्थापन गर्दै सहज र सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यले यातायात व्यवस्था विभागले यस्तो तयारी गरेको हो।

यातायात व्यवस्था विभागमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलासहित व्यवसायी तथा विभागका महानिर्देशक राजीव पोखरेललगायत पदाधिकारीबीच बसेको बैठकले अग्रिम बुकिङ खोल्ने निर्णय गरेको हो।

बैठकपछि महानिर्देशक पोखरेलले दसैँमा राजधानीबाट बाहिरी जिल्लातर्फ जाने यात्रुको संख्या बढ्ने भएकाले त्यसअनुसार यातायात व्यवस्थापनको तयारी अघि बढाइएको जानकारी दिए।

उनका अनुसार यात्रुको चापलाई ध्यानमा राखेर पर्याप्त सवारीसाधन व्यवस्थापन, टिकट वितरण र यात्रु सेवासम्बन्धी व्यवस्था मिलाइनेछ। यात्रुलाई गन्तव्यसम्म सहज रूपमा पुर्‍याउन यातायात व्यवसायी, सम्बन्धित सरकारी निकाय र सुरक्षा निकायबीच आवश्यक समन्वयसमेत गरिने विभागले जनाएको छ।

दसैँको समयमा टिकट अभाव, अव्यवस्थित यात्रा तथा यात्रुले अनावश्यक सास्ती भोग्न नपरोस् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङसहित यातायात व्यवस्थापनको तयारीलाई प्राथमिकता दिइएको विभागको भनाइ छ।

विभागले यात्रुको बढ्दो चापअनुसार सेवा व्यवस्थापन गर्दै सुरक्षित र व्यवस्थित रूपमा आवतजावत गर्ने वातावरण तयार पार्ने जनाएको छ।