काठमाडौं । प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ दसैँअघि नै सम्पन्न गर्ने निर्णय भएको छ। संसदीय सुनुवाइ समितिले असोज २६, २७ र २८ गते सुनुवाइ गर्ने गरी कार्यतालिका तय गरेको हो।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। सरकारले असोज २ गतेको मन्त्रिपरिषद् बैठकबाट भारत, चीन, अमेरिका लगायतका देशका लागि राजदूत सिफारिस गरेको थियो।
बैठकमा सुनुवाइको मिति तय गर्ने विषयमा सांसदहरूबीच लामो छलफल भएको थियो। केही सदस्यले दसैँको समय र आफ्नो जिल्ला भ्रमणको पूर्वनिर्धारित कार्यक्रमलाई कारण देखाउँदै सुनुवाइ चाडपर्वपछि गर्नुपर्ने धारणा राखेका थिए।
तर विभिन्न मुलुकमा राजदूतको पद रिक्त रहँदा त्यसले पारेको प्रभाव र कूटनीतिक आवश्यकतालाई ध्यानमा राख्दै प्रक्रिया ढिला गर्न नहुने निष्कर्षमा समिति पुगेको हो।
समितिका सदस्यहरूले प्रस्तावित राजदूतहरूको सुनुवाइलाई औपचारिक प्रक्रिया मात्र नबनाउने बताएका छन्। सम्बन्धित व्यक्तिको योग्यता, क्षमता र प्रस्तावित जिम्मेवारीसँगको उपयुक्तताबारे आवश्यक परीक्षण गरेर प्रक्रिया अघि बढाउने प्रतिबद्धता उनीहरूले जनाएका छन्।




