२०८३ श्रावण १२

सर्वोच्च अदालतद्वारा सरकारी विज्ञापनको एकद्वार प्रणाली खारेज

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन वितरणमा सरकारले लागू गरेको एकद्वार प्रणाली खारेज गरेको छ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले मंगलबार उत्प्रेषणको आदेश जारी गर्दै सरकारको उक्त निर्णय बदर गरेको हो।

बालेन शाह नेतृत्वको वर्तमान सरकारले सरकारी विज्ञापनहरू केवल सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्ने उद्देश्यले एकद्वार प्रणाली लागू गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको सोसम्बन्धी परिपत्रले निजी सञ्चारमाध्यमको व्यवसाय र अधिकारमा गम्भीर असर पुर्‍याएको भन्दै सञ्चार क्षेत्रका सरोकारवालाहरूले विरोध गर्दै आएका थिए।

सरकारी सञ्चारमाध्यमलाई मात्र विज्ञापन उपलब्ध गराउने निर्णय विभेदकारी भएको भन्दै नेपाल मिडिया सोसाइटीका अख्तियारप्राप्त अधिवक्ता अनन्तराज लुइँटेल र राहुल कुमार साहले २०८२ साल चैत २३ गते सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका थिए।

उक्त रिटमाथि अन्तिम सुनुवाइ गर्दै सर्वोच्चको संयुक्त इजलासले प्रधानमन्त्री कार्यालयको परिपत्र बदर गर्ने फैसला सुनाएको हो।

सर्वोच्चको यो निर्णयसँगै अब सरकारी विज्ञापन वितरणमा सरकारी तथा निजी दुवै सञ्चारमाध्यमले समान अवसर पाउने बाटो खुलेको छ।

Read More

चार दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, कारोबार रकम ८ अर्ब ४१ करोड रुपैयाँ

काठमाडौँ । लगातार चार कारोबार दिन ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य सुधार देखिएको छ। परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ।

मंगलबार नेप्से परिसूचक ६.११ अंकले बढेर २,५७६.२९ विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इन्डेक्स ०.७९ अंक, फ्लोट इन्डेक्स ०.३२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२० अंकले वृद्धि भएको छ।

यस दिन ३८३ कम्पनीका १ करोड ८२ लाख ९३ हजार कित्ता शेयर ५३ हजार ८५४ पटक खरिदबिक्री हुँदा कुल ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

कारोबार रकमका आधारमा शीर्ष १० धितोपत्रमध्ये नौवटा डिबेञ्चर रहेका छन्। सबैभन्दा बढी १० प्रतिशत केबीएल डिबेञ्चर २०९० को ५२ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि १० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०, ७ प्रतिशत नेपाल एसबीआई डिबेञ्चर २०९० र एभरेष्ट बैंक डिबेञ्चरको उच्च कारोबार भएको छ।

मूल्य वृद्धितर्फ ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७ को मूल्य सबैभन्दा बढी १०.२२ प्रतिशतले बढेको छ। त्यसपछि सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ करिब १० प्रतिशतले बढ्दा उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

यता, ७ प्रतिशत नेपाल एसबीआई डिबेञ्चर २०९० को मूल्य सबैभन्दा बढी ९.६८ प्रतिशतले घटेको छ।

कारोबारमा सहभागी १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ। व्यापार उपसमूह १.४७ प्रतिशतले सर्वाधिक बढ्दा उत्पादन तथा प्रशोधन उपसमूह ०.१८ प्रतिशतले घटेको एकमात्र उपसमूह बनेको छ।

Read More

नेपाल यू–१९ महिला टोलीको शानदार जित, हङकङमाथि १८१ रनको फराकिलो विजय

काठमाडौं। एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। समूह ‘डी’ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले हङकङलाई १८१ रनले पराजित गरेको हो।

वायुमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २११ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको हङकङले २० ओभरमा ९ विकेट गुमाएर मात्र ३० रन बनाउन सक्यो।

नेपालका लागि कप्तान सोनी पाख्रिनले उत्कृष्ट ब्याटिङ गर्दै ९० रन बनाइन्। उनले ६० बलमा १३ चौका र एक छक्का प्रहार गरिन्। ओपनर सावित्री धामीले ५२ रनको अर्धशतकीय पारी खेल्दा एलिसा कुमारी यादवले २३ रन जोडिन्।

बलिङतर्फ सोनी पाख्रिनले ४ विकेट लिइन्। मनिषा उपाध्यायले २ विकेट तथा कृष्मा गुरुङ र स्नेह महराले समान १/१ विकेट लिए।

हङकङका लागि वोङ विङ क्यू हेलीले सर्वाधिक १३ रन बनाइन् भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

नेपालले प्रतियोगिताको पहिलो खेलमा कतार र दोस्रो खेलमा सिङ्गापुरलाई पराजित गरेको थियो। लगातार तीन जितसँगै नेपाल समूह चरणबाटै क्वाटरफाइनलमा पुगेको हो।

Read More

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १,२०० रुपैयाँ सस्तियो

काठमाडौं : नेपाली बजारमा पछिल्लो कारोबार दिन सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ।

सोमबार प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार घटेर २ लाख ८४ हजार रुपैयाँमा झरेको हो। अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय माग–आपूर्तिका कारण सुनको मूल्यमा दैनिक परिवर्तन देखिँदै आएको व्यवसायीहरू बताउँछन्।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ४ हजार ३७५ रुपैयाँ रहेको चाँदी मंगलबार १५ रुपैयाँले घटेर ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार बजारमा सुनचाँदीको मूल्य निर्धारण अन्तर्राष्ट्रिय बजार मूल्य, विदेशी मुद्रा विनिमय दर तथा स्थानीय बजारको अवस्थाका आधारमा हुँदै आएको छ।

Read More

नेप्से ८ महिनायताकै न्यून विन्दुमा, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाली सेयर बजार परिसूचक नेप्से ८ महिनायताकै न्यून विन्दुमा झरेको छ। यस दिन नेप्से ३० दशमलव ६० अंकले घटेर २ हजार ५७० दशमलव ६० अंकमा कायम भएको हो।

यो स्तर नेप्सेको गत मंसिर ४ गतेयताकै न्यून विन्दु हो। त्यस दिन नेप्से २ हजार ५६० अंकमा थियो।

बजारमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ। सोमबार ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन कारोबार रकम ६ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो।

सोमबार २२ कम्पनीको सेयर मूल्य बढ्दा २४९ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रह्यो। सबै समूहगत सूचक ओरालो लागेका छन्।

व्यापार समूह सबैभन्दा धेरै २ दशमलव ३० प्रतिशतले घटेको छ। यस्तै होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, फाइनान्सलगायत अधिकांश समूहमा गिरावट आएको छ।

यस दिन सामुदायिक लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य बढेको छ भने उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै घटेको छ। कारोबार रकमका आधारमा ऋणपत्र अगाडि रहेको बजारले देखाएको छ।

Read More

नेपाली बजारमा सुनको मूल्य २८ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार प्रतितोला सुनको मूल्य २ हजार ८ सय रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर ४ हजार ३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

Read More

बैंककको बारमा भीषण आगलागी: २७ जनाको मृत्यु, ६३ घाइते

काठमाडौं । थाइल्यान्डको राजधानी बैंककस्थित एक मनोरञ्जनस्थलमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। बैंककको चातुचक जिल्लामा रहेको रोङ बियर ना लाट फ्राओ नामक बारमा सोमबार मध्यरातपछि आगलागी भएको हो।

आगलागीपछि बारको मुख्य प्रवेशद्वार आगोले अवरुद्ध हुँदा भित्र रहेका ग्राहकहरूलाई बाहिर निस्कन कठिन भएको थियो। उद्धारकर्मीहरूले करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए। धेरैजसो पीडितहरू धुवाँबाट जोगिन भवनको पछाडिको भाग र शौचालयतर्फ पुगे पनि बाहिर निस्कन नसकेको अधिकारीहरूले बताएका छन्।

थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नविराकुलले घटनामा २७ जनाको मृत्यु भएको पुष्टि गर्दै घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन्। उनले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए। स्थानीय विवरणअनुसार मृतकमध्ये नौ जना पुरुष र १८ जना महिला रहेका छन् भने केही व्यक्ति अझै सम्पर्कविहीन रहेको जनाइएको छ।

प्रत्यक्षदर्शीका अनुसार आगलागी सुरु हुँदा कार्यक्रममा प्रस्तुति दिइरहेका एक संगीतकर्मीले विद्युत् सर्किट ब्रेकर नजिक समस्या देखिएको बताएका थिए। त्यसपछि केही क्षणमै विस्फोटजस्तो आवाज आएको र धुवाँ तथा आगो तीव्र रूपमा फैलिएको बताइएको छ।

बैंककका गभर्नर चात्चार्ट सित्तिपुन्तले प्रारम्भिक अनुसन्धानका आधारमा बारभित्र प्रयोग गरिएका ज्वलनशील सजावट सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको हुन सक्ने बताएका छन्। यद्यपि घटनाको वास्तविक कारण भने विस्तृत अनुसन्धानपछि मात्र खुल्ने अधिकारीहरूले जनाएका छन्।

Read More

अतिरिक्त समयमा अर्जेन्टिनाको दमदार प्रदर्शन, स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम चारमा

काठमाडौं। फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। अन्तिम क्वाटरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयको उत्कृष्ट प्रदर्शन गर्दै स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गरेपछि उपाधि यात्रालाई निरन्तरता दिएको हो। कान्सास सिटी स्टेडियममा सम्पन्न खेलमा निर्धारित ९० मिनेट १–१ को बराबरीमा टुंगिएपछि विजेता तय गर्न अतिरिक्त समयको सहारा लिनुपरेको थियो।

खेलको सुरुआतमा स्विट्जरल्यान्डले आक्रामक शैली अपनाउँदै अर्जेन्टिनामाथि दबाब बनाएको थियो। तर त्यो दबाब धेरैबेर टिक्न सकेन। अर्जेन्टिनाले बलमा नियन्त्रण बढाउँदै खेलको १०औँ मिनेटमै अग्रता लिन सफल भयो। कप्तान लियोनल मेसीको कर्नर प्रहारलाई एलेक्सिस म्याक एलिस्टरले आकर्षक हेडमार्फत जाली चुमाउँदै टोलीलाई १–० को अग्रता दिलाए।

पहिलो हाफमा अर्जेन्टिनाले केही अवसर सिर्जना गरे पनि अग्रता दोब्बर बनाउन सकेन। दोस्रो हाफमा भने स्विट्जरल्यान्डले खेलमा फर्किने संकेत देखायो। ६७औँ मिनेटमा डान एन्डोएले बराबरी गोल गरेपछि खेल थप रोमाञ्चक बनेको थियो।

तर खेलको मोड ७२औँ मिनेटमा फेरियो। स्विट्जरल्यान्डका फरवार्ड ब्रेल एम्बोलोले भिडियो सहायक रेफ्री (VAR) को समीक्षा पछि दोस्रो पहेंलो कार्ड पाउँदै मैदान छाड्नुपर्‍यो। सुरुमा अर्जेन्टिनाका लिएन्द्रो पारेडेसलाई फाउल गरेको भन्दै चेतावनी दिइएको थियो। तर पुनरावलोकनपछि एम्बोलोले रेफ्रीलाई झुक्याउने प्रयास गरेको ठहर गर्दै उनलाई रातो कार्ड देखाइयो। त्यसपछि स्विट्जरल्यान्डले बाँकी समय १० खेलाडीमै बितायो।

निर्धारित समयमा दुवै टोलीबाट थप गोल ननिस्किएपछि खेल अतिरिक्त समयमा प्रवेश गर्‍यो। संख्यात्मक रूपमा कमजोर बनेको स्विट्जरल्यान्डमाथि अर्जेन्टिनाले दबाब बढाउँदै लग्यो। त्यसको फलस्वरूप ११२औँ मिनेटमा जुलियन अल्भारेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिनाको जित सुनिश्चित भयो।

यससँगै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाउँदै इङ्ल्यान्डसँगको भेट पक्का गरेको छ। उपाधि दाबेदार दुई टोलीबीचको यो प्रतिस्पर्धाले विश्वभरका फुटबल समर्थकको ध्यान तानेको छ।

एन्टोनियो रेटिनप्रति श्रद्धाञ्जली

स्विट्जरल्यान्डविरुद्धको खेलमा अर्जेन्टिनाका खेलाडीहरू कालो पट्टी बाँधेर मैदान उत्रिएका थिए। अर्जेन्टिनाका पूर्व कप्तान एन्टोनियो रेटिनको ८९ वर्षको उमेरमा निधन भएपछि उनको सम्मानमा टोलीले शोक व्यक्त गरेको हो।

अर्जेन्टिना फुटबल एसोसिएसनले फिफाको अनुमति लिएर खेलाडीहरूलाई कालो पट्टी बाँधेर खेल्न दिएको जनाएको छ। रेटिनले सन् १९६२ र १९६६ को विश्वकपमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका थिए र उनी देशका चर्चित पूर्व अन्तर्राष्ट्रिय फुटबलरमध्ये एक मानिन्छन्।

Read More

होर्मुज जलडमरूमध्यमा जहाजमाथि आक्रमणपछि अमेरिकाको इरानमा पुनः हवाई हमला

काठमाडौं। होर्मुज जलडमरूमध्य हुँदै गइरहेको साइप्रसको झण्डा बोकेको एक व्यावसायिक कन्टेनर जहाजमाथि इरानले आक्रमण गरेपछि अमेरिकाले इरानका विभिन्न सैन्य लक्ष्यमा पुनः हवाई आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (CENTCOM) का अनुसार यो आक्रमण यस साताभित्र इरानविरुद्ध गरिएको तेस्रो चरणको सैन्य कारबाही हो।

सेन्टकमका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले होर्मुज जलडमरूमध्यबाट गुज्रिरहेको साइप्रसको झण्डा बोकेको कन्टेनर जहाजलाई निशाना बनाएको थियो। आक्रमणका कारण जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको, जहाजमा आगलागी भएको तथा चालक दलका एक सदस्य अझै सम्पर्कविहीन रहेको अमेरिकी पक्षले जनाएको छ।

अमेरिकी रक्षा मन्त्रालयले व्यावसायिक जहाजमाथिको आक्रमणलाई अन्तर्राष्ट्रिय समुद्री सुरक्षामाथिको गम्भीर चुनौती भन्दै त्यसको जवाफस्वरूप इरानका सैन्य पूर्वाधार, मिसाइल तथा तटीय सुरक्षा प्रणालीलाई लक्षित गरी हवाई आक्रमण गरिएको जनाएको छ। अमेरिकी रक्षामन्त्री पीट हेगसेथले इरानले “गलत निर्णय गरेको” भन्दै त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

यता, इरानले अर्को सूचना नभएसम्मका लागि होर्मुज जलडमरूमध्य बन्द गरिएको घोषणा गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उक्त जहाजले स्वीकृत समुद्री मार्ग छाडेको र आफ्नो ट्र्याकिङ प्रणाली बन्द गरेपछि चेतावनीस्वरूप कारबाही गरिएको दाबी गरिएको छ। साथै, आईआरजीसीले जलडमरूमध्य बन्द गर्ने निर्णयमा हस्तक्षेप गर्न खोजिए त्यसको कडा जवाफ दिइने चेतावनी पनि दिएको छ।

विश्वको प्रमुख तेल आपूर्ति मार्गका रूपमा रहेको होर्मुज जलडमरूमध्यमा तनाव बढ्दै जाँदा अन्तर्राष्ट्रिय ऊर्जा बजार, समुद्री व्यापार तथा क्षेत्रीय सुरक्षामा थप दबाब पर्ने चिन्ता व्यक्त गरिएको छ। पछिल्ला घटनाक्रमसँगै अमेरिका–इरानबीचको तनाव पुनः चर्किएको छ भने कूटनीतिक प्रयास जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Read More

आत्मदाह प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालमा निधन

काठमाडौँ । आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको निधन भएको छ।

वीर अस्पतालमा उपचाररत नेपालीको केहीबेरअघि उपचारका क्रममा निधन भएको हो। गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका उनको स्वास्थ्य अवस्था पछिल्लो समय अत्यन्तै नाजुक बन्दै गएको चिकित्सकहरूले बताएका थिए।

यसअघि वीर अस्पतालले पत्रकार सम्मेलन गर्दै नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकारी दिएको थियो। चिकित्सकहरूले उनको अवस्था गम्भीर रहेको, उपचारका क्रममा पनि जोखिम कायम रहेको र स्वास्थ्य अवस्थाबारे निश्चित पूर्वानुमान गर्न कठिन रहेको बताएका थिए।

अन्ततः चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद नेपालीलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ।

Read More