२०८३ कार्तिक ८

कांग्रेस महाधिवेशनको चौथो दिन आज प्रतिवेदन र प्रस्ताव पारित गरिँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र सञ्चालन हुँदैछ। बन्द सत्रमा महाधिवेशन प्रतिनिधिबीच छलफल भएका विभिन्न राजनीतिक प्रस्ताव तथा प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ।

आज सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्तावमाथि निर्णय हुनेछ। त्यस्तै उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पनि पारित गर्ने कार्यक्रम छ।

गत सोमबारदेखि यी प्रस्ताव तथा प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले धारणा राख्दै आएका छन्। सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य सुरेशराज आचार्यका अनुसार छलफलमा सातै प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ।

साढे १० बजे बन्द सत्र: कार्यतालिकाअनुसार आज बिहान साढे १० बजेदेखि बन्द सत्र पुनः सुरु हुनेछ। सत्रको सुरुवातमा सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिएका छन्।

Read More

कांग्रेस महाधिवेशन: सहमहामन्त्रीका लागि कुन क्लस्टरमा को-को उम्मेदवार?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि विभिन्न समूहतर्फबाट उम्मेदवारी दर्ता गर्ने नेताहरूको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको सूचीअनुसार महिला, खुला, खस–आर्य, आदिवासी जनजाति, दलित, मधेशी, थारु, मुस्लिम तथा पिछडिएको क्षेत्र गरी विभिन्न क्लस्टरमा नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन्।

सहमहामन्त्रीका लागि सबैभन्दा धेरै उम्मेदवार खुला र मधेशी क्लस्टरमा देखिएका छन्। प्रारम्भिक सूचीअनुसार क्लस्टरगत उम्मेदवारहरू यसप्रकार छन् :

क्लस्टरउम्मेदवारहरू
महिलानानु मैया बास्तोला, प्रतिभा गौतम
खुलाअजय बाबू शिवाकोटी, अमृत कुमार अर्याल, देवेन्द्रराज कंडेल, डिल्लीराम सुवेदी, बिकास तिमल्सिना, विमलराज क्षेत्री, रमेश प्रसाद धमला, रामहरि खतिवडा, राजिव ढुँगाना
खस–आर्यजगदीश नरसिंह केसी, केशव मणिका आचार्य, शुभराम बस्नेत
आदिवासी जनजातिओमबहादुर घर्ती मगर, तारामान गुरुङ, दिलमान पाख्रिन, प्रशान्तमान सिंह मास्के, बहादुरसिंह लामा तामाङ
दलितनरेन्द्र पासवान, प्रकाश रसाइली स्नेही, मानबहादुर नेपाली, लक्ष्मी परियार
मधेशीअजयकुमार चौरसिया, अभिषेक प्रताप शाह, किरण यादव, नसिना यादव, मनिषकुमार मिश्र, महेन्द्र यादव, मुक्ता कुमारी यादव, रामपल्टन साह
थारुतेजुलाल चौधरी, योगेन्द्र चौधरी, सुरेन्द्रप्रसाद चौधरी
मुस्लिमअतहर कमाल मुसलमान, अब्दुल सत्तार, डा. मो. फिरदोष आलम
पिछडिएको क्षेत्रजीवनबहादुर शाही, कर्णबहादुर बुढा, जनकराज गिरी, रामबहादुर विष्ट, नारायणप्रसाद भट्टराई, मिनबहादुर भाम, राजन कुँवर

निर्वाचन समितिका अनुसार मंगलबार सहमहामन्त्रीसहित कांग्रेसका विभिन्न पदमा मनोनयन दर्ता भएको थियो। अहिले सार्वजनिक गरिएको विवरण प्रारम्भिक सूची भएकाले यसमा दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रियापछि परिवर्तन हुन सक्नेछ।

उक्त प्रक्रिया पूरा भएपछि निर्वाचन समितिले सहमहामन्त्री पदका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्नेछ। त्यसपछि मात्रै प्रतिस्पर्धामा कायम रहने उम्मेदवारहरूको औपचारिक तस्वीर स्पष्ट हुनेछ।

Read More

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थप

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि थप दुई घण्टा समय दिइएको छ। केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ ६ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने गरी समय बढाएको हो।

यसअघि उम्मेदवारी दर्ताका लागि मंगलबार अपराह्न ४ बजेसम्मको समय तोकिएको थियो। निर्धारित समयभित्र उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेपछि निर्वाचन समितिले समय थप गरेको हो।

समितिका सदस्यसचिव राजु कटुवालले उम्मेदवारी दर्ताको नयाँ समयसीमा साँझ ६ बजेसम्म कायम गरिएको जानकारी दिएका छन्।

महाधिवेशनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने प्रक्रिया अहिले चलिरहेको निर्वाचन समितिले जनाएको छ।

Read More

दसैँअघि नै प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ हुने

काठमाडौं । प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ दसैँअघि नै सम्पन्न गर्ने निर्णय भएको छ। संसदीय सुनुवाइ समितिले असोज २६, २७ र २८ गते सुनुवाइ गर्ने गरी कार्यतालिका तय गरेको हो।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। सरकारले असोज २ गतेको मन्त्रिपरिषद् बैठकबाट भारत, चीन, अमेरिका लगायतका देशका लागि राजदूत सिफारिस गरेको थियो।

बैठकमा सुनुवाइको मिति तय गर्ने विषयमा सांसदहरूबीच लामो छलफल भएको थियो। केही सदस्यले दसैँको समय र आफ्नो जिल्ला भ्रमणको पूर्वनिर्धारित कार्यक्रमलाई कारण देखाउँदै सुनुवाइ चाडपर्वपछि गर्नुपर्ने धारणा राखेका थिए।

तर विभिन्न मुलुकमा राजदूतको पद रिक्त रहँदा त्यसले पारेको प्रभाव र कूटनीतिक आवश्यकतालाई ध्यानमा राख्दै प्रक्रिया ढिला गर्न नहुने निष्कर्षमा समिति पुगेको हो।

समितिका सदस्यहरूले प्रस्तावित राजदूतहरूको सुनुवाइलाई औपचारिक प्रक्रिया मात्र नबनाउने बताएका छन्। सम्बन्धित व्यक्तिको योग्यता, क्षमता र प्रस्तावित जिम्मेवारीसँगको उपयुक्तताबारे आवश्यक परीक्षण गरेर प्रक्रिया अघि बढाउने प्रतिबद्धता उनीहरूले जनाएका छन्।

Read More

एमालेको अपानि–३ जारी : नेतृत्व, संगठन र प्रतिपक्षी भूमिकामा नयाँ रणनीति

काठमाडौं । नेकपा (एमाले) ले पार्टीभित्रको अनुशासन कडाइ गर्ने, युवालाई निर्णायक जिम्मेवारीमा ल्याउने र जनतासँग संगठनको सम्बन्ध बलियो बनाउने रणनीतिसहित ‘अन्तरपार्टी निर्देशन–३’ (अपानि–३) जारी गरेको छ।

ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय समेटेर जारी गरिएको निर्देशनमा नेतृत्व व्यवस्थापनदेखि निर्वाचनमा पार्टीले व्यहोरेको कमजोरीको समीक्षा र सरकारविरुद्धको प्रतिपक्षी रणनीतिसम्मका विषय समेटिएका छन्।

बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो। उक्त प्रतिवेदनमा पार्टीको संगठन विस्तार भए पनि आम नागरिकसँगको प्रत्यक्ष सम्बन्ध कमजोर बन्दै गएको र बदलिँदो राजनीतिक तथा सामाजिक परिवेशअनुसार पार्टीको कार्यशैलीमा सुधार आवश्यक रहेको निष्कर्ष प्रस्तुत गरिएको छ।

एमालेले पार्टीभित्र गुटगत गतिविधि, अनुशासनहीनता तथा नेतृत्वविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिने प्रवृत्तिलाई अब गम्भीर रूपमा लिने भएको छ। तेस्रो केन्द्रीय कमिटी बैठकलाई एउटा ‘कटअफ’ मानेर त्यसअघिका गतिविधि र अभिव्यक्तिलाई छुट दिने, तर त्यसपछि पार्टीको नीति, निर्णय वा नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति आए कारबाही गर्ने नीति लिइएको छ।

त्यसका लागि संगठन विभाग र अनुशासन आयोगलाई आवश्यक प्रक्रिया अघि बढाउने जिम्मेवारी दिइएको छ।

भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी

बैठकले पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टीको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताका रूपमा मनोनयन गर्ने निर्णय गरेको छ।

एमालेले पार्टी विधानमा देखिएको अवरोध हटाउँदै भण्डारीलाई उक्त जिम्मेवारी दिइएको जनाएको छ। यसबाहेक विभिन्न राजनीतिक दलबाट एमालेमा प्रवेश गरेका र पार्टीमा योगदान पुर्‍याएका केही नेताहरूलाई केन्द्रीय तथा स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ।

निर्वाचनमा अपेक्षित परिणाम नआएको विषयलाई एमालेले संगठनको आन्तरिक कमजोरीसँग जोडेर समीक्षा गरेको छ। ओलीको राजनीतिक प्रतिवेदनमा पार्टीको सांगठनिक पहुँच व्यापक भए पनि जनताको दैनिक जीवनसँग जोडिने विषयमा प्रभावकारी उपस्थिति देखाउन नसकिएको उल्लेख छ।

विशेषगरी युवापुस्तासँगको सम्बन्ध, सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा पार्टीको प्रभाव र स्थानीय जनसरोकारका विषयलाई प्राथमिकतामा राख्न नसक्नु कमजोरीका रूपमा औंल्याइएको छ। विपक्षीहरूले डिजिटल माध्यमबाट फैलाएका सूचनाको प्रभावकारी प्रतिवाद गर्न नसक्नु पनि निर्वाचनमा पार्टीलाई क्षति पुग्नुको एउटा कारण भएको एमालेको निष्कर्ष छ।

अब भने पार्टीको संरचना र नेतृत्वलाई पुस्तान्तरणसँग जोड्ने नीति एमालेले अघि सारेको छ। ‘रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण’को अवधारणाअनुसार युवालाई संगठनमा उपस्थित गराउने मात्र नभई नीति निर्माण र निर्णय गर्ने तहमा समेत भूमिका दिने योजना बनाइएको छ।

तर नेतृत्व हस्तान्तरण केवल राजनीतिक नाराका आधारमा नभई क्षमता, विधि र योगदानका आधारमा गरिने एमालेले स्पष्ट पारेको छ।

जनतासँगको सम्बन्ध विस्तार गर्न पार्टीले ‘मिसन पार्टी जागरण’ सञ्चालन गर्ने भएको छ। वडा तहसम्म पुगेर स्थानीय समस्या पहिचान गर्ने र समाधानका लागि पहल गर्ने योजनासँगै आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल अर्थतन्त्र र गिग इकोनोमीलगायत नयाँ विषयमा पार्टीको नीतिगत धारणा निर्माण गर्ने तयारी पनि गरिएको छ।

सरकारमाथि प्रश्न, संसद् र सडकमा सक्रिय हुने तयारी

तेस्रो केन्द्रीय कमिटी बैठकले २२ वटा समसामयिक प्रस्तावसमेत पारित गरेको छ। प्रस्तावमार्फत एमालेले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विभिन्न राजनीतिक तथा सामाजिक विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई एमालेले राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गरेको छ। भोटेकोशी बाढीलगायतका प्राकृतिक विपत्तिपछि उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी हुन नसकेको आरोप पनि उसले सरकारमाथि लगाएको छ।

सुकुम्बासी बस्तीमा सञ्चालन गरिएको डोजर अभियान, ट्रेड युनियन र स्वतन्त्र विद्यार्थी युनियनका अधिकार, सञ्चारमाध्यमको स्वतन्त्रता तथा नागरिक र अभियन्ताको गिरफ्तारीजस्ता विषय पनि एमालेका प्रस्तावमा समेटिएका छन्।

अब महँगी, बेरोजगारी, किसानका समस्या र जनजीविकासँग जोडिएका मुद्दालाई प्राथमिकतामा राखेर संसद् र सडक दुवैबाट सरकारमाथि दबाब बढाउने एमालेको तयारी छ।

राष्ट्रिय हित, संविधान र लोकतान्त्रिक व्यवस्थाको संरक्षणका विषयमा भने राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसँग संवाद तथा सहकार्य गर्न पार्टीले आह्वान गरेको छ। जनताका साझा सवालमा सहकार्य र राजनीतिक एकताका लागि समेत एमालेले अन्य पक्षलाई आग्रह गरेको छ।

Read More

१५औँ महाधिवेशनका लागि कांग्रेसले सार्वजनिक गर्‍यो मतदाता नामावली

काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमिति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन समितिले महाधिवेशनका लागि ७ हजार ११४ जना मतदाताको नामावली सार्वजनिक गरेको जनाएको छ।

नेपाली कांग्रेसको विधान तथा निर्वाचन निर्देशिका, २०८३ मा तोकिएको व्यवस्थाअनुसार निर्वाचन प्रयोजनका लागि उक्त नामावली सार्वजनिक गरिएको हो। महाधिवेशन १६ देखि २२ गतेसम्म सञ्चालन हुने कार्यतालिका रहेको छ।

केन्द्रीय कार्यसमिति चयनका लागि हुने निर्वाचन प्रक्रियालाई लक्षित गर्दै निर्वाचन समितिले मतदाताको विवरण सार्वजनिक गरेको हो।

Read More

गृहमन्त्री सुधन गुरुङ पहिलो विदेश भ्रमणमा भारत जाने

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ आगामी २६ असोजमा भारतको नयाँदिल्ली जाने भएका छन्। गृह मन्त्रालय तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीका अनुसार गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि गुरुङको यो पहिलो विदेश भ्रमण हुनेछ।

गुरुङले २७ असोजमा नयाँदिल्लीमा आयोजना हुने बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा नेपालको प्रतिनिधित्व गर्नेछन्। बैठकमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन्।

बैठकअघि बिमस्टेक सदस्य राष्ट्रका गृह सचिवहरूको बैठकसमेत आयोजना हुने नेपाली अधिकारीहरूले बताएका छन्। सन् १९९७ मा क्षेत्रीय संगठनका रूपमा स्थापना भएको बिमस्टेकको गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सदस्य राष्ट्रबीचका साझा सुरक्षा चासो र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

बैठकमा यसअघि गृह सचिव तथा राष्ट्रिय सुरक्षा सल्लाहकारस्तरका छलफलबाट सिफारिस गरिएका विषयलाई समेत गृहमन्त्रीहरूले अघि बढाउने तयारी छ।

भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले विभिन्न समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको नेपाली अधिकारीहरूले बताएका छन्। यस क्रममा भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता हुने अपेक्षा गरिएको छ।

Read More

झलनाथ खनालले घोषणा गरे ‘समाजवादी जागरण अभियान’

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट बाहिरिएका छन्। नेकपाका वरिष्ठ नेता समेत रहेका खनालले ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका हुन्।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत खनालले अभियानको औपचारिक घोषणा गरेका छन्। उनकै नेतृत्वमा सम्पन्न अभियानको प्रथम भेलाले विभिन्न प्रस्तावसमेत पारित गरेको छ।

Read More

राष्ट्रिय पुनर्जागरणलाई कांग्रेसको आगामी कार्यदिशासँग जोड्दै गगन थापाको राजनीतिक प्रतिवेदन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। ४६ पृष्ठ लामो प्रतिवेदन यसअघि नै पारित भइसकेको छ।

प्रतिवेदनमा थापाले आफ्नो चार वर्षे नेतृत्वको समीक्षा गर्दै आगामी कार्यदिशासहित नयाँ नेतृत्वले पूरा गर्नुपर्ने राजनीतिक, वैचारिक र संगठनात्मक जिम्मेवारी स्पष्ट गर्नुपर्नेमा जोड दिएका छन्।

उनले आगामी दशकका लागि तय गरिने राष्ट्रिय आकांक्षालाई आगामी चार वर्षको नेतृत्वको जिम्मेवारीसँग जोड्ने आधारका रूपमा राजनीतिक प्रतिवेदन तयार गरिएको बताएका छन्।

प्रतिवेदनमा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’लाई कांग्रेसको विगतको निरन्तरता, वर्तमानको सुधार र भविष्यको आकांक्षाबीचको सेतुका रूपमा प्रस्तुत गरिएको छ।

थापाले राष्ट्रिय पुनर्जागरण भन्नाले पार्टी, राज्य र नागरिकबीच कमजोर हुँदै गएको विश्वास पुनःस्थापित गर्नुका साथै लोकतान्त्रिक सामर्थ्यलाई थप सुदृढ बनाउनु रहेको उल्लेख गरेका छन्।

Read More

कांग्रेस महाधिवेशन : आज बन्दसत्रसँगै निर्वाचन प्रक्रिया अघि बढ्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र सञ्चालन हुँदैछ। साथै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचनसम्बन्धी प्रारम्भिक प्रक्रिया पनि सुरु हुने भएको छ।

आइतबार काठमाडौंमा उद्घाटन सत्र सम्पन्न भएको थियो। आज बिहान ९ बजेबाट सुरु हुने बन्दसत्रमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक विषय समेटिएका प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज साँझदेखि निर्वाचन प्रक्रिया अघि बढाइनेछ। सुरुमा साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ।

प्रकाशित नामावलीमाथि दाबी विरोध दर्ताका लागि साँझ ६ः३० बजेसम्मको समय तोकिएको छ। त्यसपछि प्राप्त दाबी विरोधमाथि निर्वाचन समितिले आवश्यक जाँचबुझ गर्नेछ।

जाँचबुझको प्रक्रिया साँझ ७ः३० बजेसम्म पूरा गर्ने र त्यसपछि आजै राति ८ः३० बजे मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन समितिको कार्यतालिका छ।

Read More