काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूविरुद्ध नेपाल प्रहरीले गरेको दमन र कुटपिटको घटनालाई लिएर कानुनी लडाइँ लड्ने बताएका छन्।
अस्पतालबाट डिस्चार्ज भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अन्सारीले आफूलाई गैरकानुनी रूपमा बन्दी बनाइएको र शारीरिक तथा मानसिक यातना दिइएको आरोप लगाएका छन्। कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको व्यवस्थापनमा सहयोग गर्न पुगेका बेला प्रहरीले आफू र आफ्ना साथीहरूमाथि कुटपिट गरेको उनको भनाइ छ।
अन्सारीका अनुसार कीर्तिपुरमा बाढीपीडितको सेवामा खटिएका बेला एक ‘गैर–निर्वाचित व्यक्तिको आदेश’ मा प्रहरीले उनीहरूलाई घेरा हालेर कुटपिट गरेको थियो। उनले क्यामेराको पहुँचभन्दा बाहिर लगेर १०–१२ जना प्रहरीले अन्धाधुन्ध प्रहार गर्दा आफू गम्भीर घाइते भएको दाबी गरेका छन्।
उपचारका लागि सुरुमा कीर्तिपुर अस्पताल र त्यसपछि त्रिवि शिक्षण अस्पताल पुगेका अन्सारीले त्यहाँ पनि गृह मन्त्रालय र प्रहरीको निगरानीमा आफू अन्यायमा परेको बताएका छन्।
उनले करिब ३–४ दिनसम्म प्रहरी निगरानीमा राखेर मानसिक दबाब दिइएको र स्वतन्त्र रूपमा उपचार पाउने अधिकारबाट समेत वञ्चित गर्न खोजिएको आरोप लगाएका छन्।
“म स्वास्थ्य अवस्था सामान्य भएपछि सार्वजनिक रूपमा प्रस्तुत हुने नै छु। ममाथि भएको प्रहरीको नियोजित घेराबन्दी र चरम यातनाविरुद्ध कानुनी लडाइँ लड्ने नै छु,” अन्सारीले भनेका छन्।
