२०८३ कार्तिक ८

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान १० बजे बस्दैछ। बैठकपछि १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुने कार्यतालिका रहेको छ।बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमा पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक दिशाबारे विषय समेटिएको छ।महामन्त्रीले बन्दसत्रमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। त्यसपछि सभापतिको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि महाधिवेशन प्रतिनिधिहरूबीच छलफल हुने बताइएको छ।

असोज २२ गतेसम्म महाधिवेशन

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा जारी छ। महाधिवेशनको कार्यक्रम असोज २२ गतेसम्म सञ्चालन हुने बताइएको छ।

Read More

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन: चुनावदेखि ‘समुन्नत नेपाल’सम्मको योजना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आगामी राजनीतिक यात्राका लागि व्यापक पुनर्संरचनाको प्रस्ताव अघि सारेका छन्। १५औँ महाधिवेशनमा पेश गर्ने तयारी गरिएको राजनीतिक प्रतिवेदनमा निर्वाचनदेखि अर्थतन्त्र, युवा पुस्तादेखि संघीयता र पार्टीभित्रको अनुशासनदेखि राष्ट्रिय स्वाधीनतासम्मका विषय समेटिएका छन्।

प्रतिवेदनको केन्द्रमा कांग्रेसले विगतको कार्यशैली सच्याउँदै नयाँ राजनीतिक संस्कार विकास गर्नुपर्ने धारणा छ। आगामी निर्वाचनमा आफ्नै शक्ति र एजेन्डामा प्रतिस्पर्धा गर्ने, सरकारलाई प्रभावकारी रूपमा निगरानी गर्ने तथा पार्टीलाई नागरिकसँग निरन्तर जोड्ने संरचना निर्माण गर्ने प्रस्ताव थापाले गरेका छन्।

यससँगै ‘समुन्नत नेपाल, सम्मानित नेपाली’लाई पार्टीको भावी राजनीतिक तथा आर्थिक दृष्टिकोणको मुख्य अवधारणाका रूपमा अघि सारिएको छ।

आगामी चुनावमा आफ्नै शक्तिमा जाने प्रस्ताव

थापाको प्रतिवेदनमा आगामी निर्वाचनअघि कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने नीति प्रस्ताव गरिएको छ। कांग्रेसले आफ्नै चुनाव चिह्न, आफ्नै उम्मेदवार र आफ्नै एजेन्डाका आधारमा जनतामाझ जानुपर्ने धारणा राखिएको छ।

उम्मेदवार छनोटमा गुटगत पहुँच वा नेतासँगको निकटतालाई भन्दा योग्यता, राजनीतिक योगदान र कार्यसम्पादनलाई प्राथमिकता दिने प्रस्ताव छ। त्यसका लागि प्राइमरी निर्वाचन, सार्वजनिक मतसर्वेक्षण र पार्टी सदस्यको प्रत्यक्ष मतजस्ता विधि प्रयोग गर्ने भनिएको छ।

अधिवेशन वा उम्मेदवारीको प्रक्रिया प्रभावित गर्ने गरी अन्तिम समयमा सदस्यतासम्बन्धी नियम परिवर्तन नगर्ने प्रतिबद्धता पनि प्रस्ताव गरिएको छ।

प्रतिपक्षमा कांग्रेसको भूमिका बदल्ने योजना

निर्वाचनमा प्राप्त ३८ सिटलाई आधार बनाउँदै संसद्मा कांग्रेसले प्रभावकारी प्रतिपक्षको भूमिका खेल्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

सरकारका निर्णय र कामकारबाहीलाई तथ्य तथा प्रमाणका आधारमा परीक्षण गर्ने, भ्रष्टाचार, अधिकार हनन र कुशासनका विषयमा आवाज उठाउने तथा त्यससँगै वैकल्पिक नीति प्रस्तुत गर्ने प्रस्ताव गरिएको छ।

संघ र प्रदेश तहमा सरकारका मन्त्रालय तथा कामको अनुगमन गर्न ‘छायाँ सरकार’को अभ्यास गर्ने अवधारणा पनि प्रतिवेदनमा छ। दैनिक राजनीतिक विवादभन्दा दीर्घकालीन राष्ट्रिय मुद्दालाई प्राथमिकता दिने भनिएको छ।

राजनीतिक पराजयको कारण बाहिर होइन, पार्टीभित्र खोज्ने समीक्षा

थापाले पछिल्लो निर्वाचनमा कांग्रेसले व्यहोरेको पराजयलाई तत्कालीन परिस्थितिको मात्र परिणाम मानेका छैनन्। लामो समयदेखि नागरिकसँग बढ्दै गएको दूरी, पार्टीको राजनीतिक कमजोरी र बदलिँदो पुस्ताको अपेक्षा बुझ्न नसक्नु त्यसका प्रमुख कारण भएको समीक्षा गरिएको छ।

भदौ २३ र २४ को जनउभारलाई पनि यही सन्दर्भमा हेर्नुपर्ने प्रतिवेदनको निष्कर्ष छ। सुशासन, अवसर र निष्पक्षताको मागलाई नागरिक असन्तोषको वैध अभिव्यक्ति मान्दै त्यसलाई केवल षड्यन्त्र भनेर पन्छाउन नहुने उल्लेख छ।

आन्दोलनका क्रममा भएको राज्यको बल प्रयोग, हिंसा तथा जनधनको क्षतिबारे निष्पक्ष छानबिन गर्नुपर्ने र दोषीलाई कानुनी कारबाही तथा पीडितलाई सत्य, न्याय र परिपूरण सुनिश्चित गर्नुपर्ने प्रस्ताव छ।

‘समुन्नति’लाई आर्थिक वृद्धिभन्दा फराकिलो बनाउने दृष्टिकोण

थापाको प्रतिवेदनले देशको प्रगतिलाई केवल आर्थिक वृद्धिदरबाट मापन नगर्ने धारणा अघि सारेको छ। शिक्षा, स्वास्थ्य, पोषण, सीप, क्षमता र नागरिकको वास्तविक स्वतन्त्रतालाई समुन्नतिको आधार मानिएको छ।

‘समुन्नत नेपाल, सम्मानित नेपाली’ अवधारणाअन्तर्गत नागरिकको क्षमता विकास, अवसरमा समान पहुँच र विकास प्रक्रियामा सहभागितालाई प्राथमिकता दिने प्रस्ताव छ।

सरकारले मात्र विकासको नेतृत्व गर्नेभन्दा नागरिक, समुदाय, निजी क्षेत्र, सहकारी, विश्वविद्यालय र विज्ञबीच साझेदारी स्थापित गर्नुपर्ने भनिएको छ।

अर्थतन्त्रको केन्द्रमा उत्पादन र निजी क्षेत्र

प्रतिवेदनमा निजी क्षेत्रलाई राज्यका लागि कर उठाउने माध्यमका रूपमा मात्र नहेरी उत्पादन, रोजगारी, नवप्रवर्तन र सम्पत्ति सिर्जनाको मुख्य साझेदार बनाउनुपर्ने प्रस्ताव गरिएको छ।

लगानीको सुरक्षा र नीतिगत स्थिरता कायम गर्दै व्यवसाय गर्न सहज वातावरण बनाउने तथा सरकार–निजी क्षेत्र सम्बन्धलाई नियमन र कर असुलीबाट सहकार्य तथा साझेदारीतर्फ लैजाने भनिएको छ।

कृषि, उद्योग, पर्यटन र प्रविधिमा विप्रेषणलाई उत्पादनशील लगानीमा रूपान्तरण गर्ने तथा जलस्रोत र स्वच्छ ऊर्जालाई औद्योगीकरण र हरित ऊर्जा निर्यातसँग जोड्ने प्रस्ताव पनि छ।

असमानता घटाउन सुरुदेखि नै अवसरमा समानता

असमानता सिर्जना भएपछि मात्र कर तथा अनुदानमार्फत सुधार गर्नेभन्दा नागरिकको सुरुआती अवस्था नै न्यायपूर्ण बनाउनुपर्ने प्रतिवेदनको आर्थिक अवधारणा छ।

शिक्षा, स्वास्थ्य, सीप, वित्तीय पहुँच र रोजगारीमा समान अवसरलाई ‘पूर्ववितरणात्मक न्याय’को आधारका रूपमा अघि सारिएको छ।

यसले राज्यको आर्थिक नीतिलाई केवल आय वितरणमा केन्द्रित नगरी अवसर वितरणसँग जोड्ने प्रस्ताव गरेको छ।

युवालाई देशमै भविष्य देखाउने र विदेश जानेका अधिकार सुरक्षित गर्ने

युवालाई स्वदेशमै रोजगारी तथा उद्यमको अवसर सिर्जना गर्नु आर्थिक नीतिको प्रमुख लक्ष्य हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

वैदेशिक रोजगारीलाई बाध्यताको अन्तिम विकल्पका रूपमा मात्र नहेरी सुरक्षित, व्यवस्थित र अधिकारमुखी बनाउने प्रस्ताव छ। प्रवासी नेपालीको सामाजिक सुरक्षा सुनिश्चित गर्दै विदेशबाट आएको विप्रेषणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने वातावरण बनाउने भनिएको छ।

जेन–जी पुस्ताको असन्तोष र माग बुझ्न स्वतन्त्र युवा विज्ञ सम्मिलित विशेष कार्यदल गठन गर्ने प्रस्ताव पनि यसैसँग जोडिएको छ।

बसाइँसराइअनुसार राज्यको योजना बदल्नुपर्ने

देशभित्रको जनसांख्यिक परिवर्तनलाई पनि प्रतिवेदनले महत्वपूर्ण नीतिगत विषयका रूपमा लिएको छ।

पहाडी क्षेत्रमा घटिरहेको जनसंख्या, मधेस तथा राजमार्ग आसपास बढिरहेको बसाइँसराइ र शहरमा बढ्दो जनचापलाई एउटै नीतिले सम्बोधन गर्न नसकिने उल्लेख छ।

वास्तविक बसोबास, आवागमन र सेवाको मागलाई आधार बनाएर शिक्षा, स्वास्थ्य, आवास, यातायात तथा सामाजिक सुरक्षाको योजना बनाउनुपर्ने प्रस्ताव छ।

परिवार संरचनामा आएको परिवर्तनसँगै बालबालिका, ज्येष्ठ नागरिक र हेरचाहसम्बन्धी विषयलाई पनि राज्यको नीतिमा प्राथमिकता दिनुपर्ने भनिएको छ।

कृषिबाट प्रविधिसम्म उत्पादनको नयाँ आधार

आयात र विप्रेषणमा निर्भर अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन कृषि, जलस्रोत, ऊर्जा, पर्यटन, उद्योग तथा डिजिटल प्रविधिलाई आर्थिक विकासका प्रमुख क्षेत्र बनाउने प्रस्ताव गरिएको छ।

कृषिलाई आधुनिक प्रविधि र बजारसँग जोड्ने, उद्यम विस्तार गर्ने तथा रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई नीतिगत सहजीकरण गर्ने भनिएको छ।

प्रविधिको क्षेत्रमा भने कृत्रिम बुद्धिमत्ताबाट सिर्जना हुने अवसरलाई उपयोग गर्न शिक्षा तथा सीप प्रणालीलाई नयाँ प्रविधिअनुकूल बनाउने प्रस्ताव छ। डिजिटल युगमा गलत सूचना र घृणात्मक सामग्रीको प्रभाव घटाउन मिडिया साक्षरता बढाउने पनि भनिएको छ।

जलवायु संकटलाई विकास र सुरक्षासँग जोड्ने

जलवायु परिवर्तनलाई वातावरण संरक्षणको विषयमा मात्र सीमित नराखी आर्थिक विकास र राष्ट्रिय सुरक्षासँग जोड्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

विपद् जोखिमलाई पूर्वाधार तथा बस्ती विकासको योजनामै समावेश गर्ने, प्राकृतिक स्रोतको दिगो उपयोग गर्ने र भावी पुस्ताको अधिकार सुरक्षित गर्ने ‘अन्तरपुस्तीय न्याय’को अवधारणा अघि सारिएको छ।

हरित ऊर्जा र वातावरण संरक्षणलाई आर्थिक अवसरका रूपमा विकास गर्ने प्रस्ताव गरिएको छ।

सार्वजनिक सेवामा राज्यको भूमिका पुनर्विचार

शिक्षा र स्वास्थ्यलाई नागरिकबीच समान अवसर सिर्जना गर्ने प्रमुख आधारका रूपमा विकास गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

जातीय विभेद, बालविवाह, लैंगिक हिंसा, कुपोषण तथा सामाजिक विभेदविरुद्ध निरन्तर अभियान चलाउने प्रस्ताव गरिएको छ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा कमजोर समुदायको सामाजिक सुरक्षा बलियो बनाउनेसँगै मानसिक स्वास्थ्य, एक्लोपन र बदलिँदो पारिवारिक संरचनालाई समेत राज्यको नीतिमा समेट्ने प्रस्ताव छ।

सरकारको काम नागरिकले प्रत्यक्ष हेर्न सक्ने व्यवस्था

सार्वजनिक खर्च र विकास आयोजनामाथि नागरिकको प्रत्यक्ष निगरानी बढाउन ‘ओपन–सोर्स नागरिक ड्यासबोर्ड’ निर्माण गर्ने प्रस्ताव गरिएको छ।

कुन आयोजना कहाँ पुगेको छ, कति रकम खर्च भयो र त्यसको जिम्मेवारी कसको हो भन्ने जानकारी सार्वजनिक रूपमा उपलब्ध गराउने प्रणाली विकास गर्ने भनिएको छ।

सार्वजनिक निर्णयलाई पनि पाँच प्रश्नको आधारमा परीक्षण गर्ने प्रस्ताव छ—के निर्णय भयो, किन भयो, जिम्मेवार को हो, परिणाम के आयो र अपेक्षित परिणाम नआए के सुधार गरियो।

संघीयता बलियो बनाउने र संविधानमा सहमतिमूलक सुधार

संघीय संरचना निर्माण भए पनि यसको कार्यक्षमता अपेक्षाअनुसार विकास हुन नसकेको प्रतिवेदनले स्वीकार गरेको छ।

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाउने, प्रशासनिक क्षमता सुधार गर्ने तथा वित्तीय संघीयतालाई प्रभावकारी बनाउने प्रस्ताव छ।

संविधान संशोधनको बहसलाई तत्कालीन सत्ता समीकरणभन्दा माथि उठाएर राष्ट्रिय सहमतिका आधारमा अघि बढाउनुपर्ने भनिएको छ।

राष्ट्रिय स्वाधीनता अब आर्थिक क्षमतासँग जोडिने

राष्ट्रिय स्वाधीनतालाई सीमाना र राजनीतिक सार्वभौमिकतामा मात्र सीमित नगरी ऊर्जा, खाद्य, वित्त, प्रविधि र ज्ञानमा देशको क्षमता बढाउनुपर्ने प्रस्ताव गरिएको छ।

बदलिँदो विश्व भूराजनीतिक परिस्थितिमा नेपालको स्वतन्त्र निर्णय क्षमता कायम राख्दै राष्ट्रिय हितमा आधारित विदेश नीति सञ्चालन गर्ने प्रस्ताव छ।

बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको अवधारणालाई पनि वर्तमान सन्दर्भमा सामाजिक तथा सांस्कृतिक एकताको आधार बनाउने भनिएको छ। हिमाल, पहाड, मधेस, प्रवास तथा विभिन्न समुदायबीच साझा नेपाली पहिचान बलियो बनाउनुपर्ने प्रस्ताव गरिएको छ।

पार्टीभित्रैबाट सुधार सुरु गर्ने प्रस्ताव

कांग्रेसको आन्तरिक संरचनालाई पनि प्रतिवेदनले सुधारको मुख्य क्षेत्र मानेको छ। पार्टीलाई निर्वाचनका बेला मात्र सक्रिय हुने संगठनबाट नागरिकसँग निरन्तर जोडिने संस्थामा रूपान्तरण गर्ने प्रस्ताव गरिएको छ।

सदस्यता र आन्तरिक लोकतन्त्रलाई पारदर्शी बनाउने, पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोड्ने तथा पाँच पुस्ताबीच नेतृत्व हस्तान्तरणको संस्थागत बाटो खोल्ने भनिएको छ।

नेतृत्व विकासका लागि ‘लिडरसिप ट्रेनिङ इन्स्टिच्युट’, नीति निर्माण र अनुसन्धानका लागि ‘नीति प्रतिष्ठान’, निर्वाचन तयारीका लागि ‘निर्वाचन ब्युरो’ तथा जनप्रतिनिधिलाई सुशासन र नीति निर्माणमा सहयोग गर्न ‘गभर्नन्स इन्स्टिच्युट’ स्थापना गर्ने प्रस्ताव पनि छ।

पार्टीभित्र भ्रष्टाचार भए संरक्षण नगर्ने

पार्टी पदाधिकारी तथा जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड लागू गर्ने र वित्तीय पारदर्शिता तथा सार्वजनिक लेखापरीक्षणलाई अनिवार्य बनाउने प्रस्ताव गरिएको छ।

आफ्नो समूह वा पक्षसँग सम्बन्धित व्यक्ति भए पनि भ्रष्टाचारमा संरक्षण नगर्ने तथा आचरण र भ्रष्टाचारसम्बन्धी विषयमा छानबिन गर्न स्वतन्त्र आन्तरिक ‘ओम्बुड्सम्यान’ राख्ने प्रस्ताव छ।

न्यायपालिका र संवैधानिक निकायमा भागबन्डा नगर्ने प्रतिबद्धता

कांग्रेसले भविष्यमा न्यायपालिका, संवैधानिक निकाय, विश्वविद्यालय तथा प्रशासनमा दलीय भागबन्डा नगर्ने सार्वजनिक प्रतिबद्धता गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

सार्वजनिक सम्पत्ति र अधिकारलाई दल वा गुटको हितमा प्रयोग नगर्ने तथा पैसा, पहुँच वा नेतासँगको निकटताका आधारमा अवसर वितरण नगर्ने प्रस्ताव छ।

भ्रष्टाचारमा आफ्ना मान्छेलाई छुट नदिने र अधिवेशन वा उम्मेदवारी प्रभावित गर्न अन्तिम समयमा नियम परिवर्तन नगर्ने प्रतिबद्धता पनि समेटिएको छ।

प्रधानमन्त्रीमा दुई कार्यकालको प्रस्ताव

एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था गर्न पहल गर्ने प्रस्ताव थापाले गरेका छन्।

यसले सत्ता र कार्यकारी नेतृत्वमा लामो समयसम्म एउटै व्यक्तिको प्रभाव कायम हुने अवस्था रोक्ने उद्देश्य राखेको छ।

निर्वाचन प्रक्रियामै सुधारको प्रस्ताव

उम्मेदवार छनोटमा प्राइमरी प्रणाली प्रयोग गर्ने, ‘कुनै पनि उम्मेदवार स्वीकार छैन’ भन्ने विकल्पबारे अध्ययन गर्ने र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन कानुनी तथा संवैधानिक पहल गर्ने प्रस्ताव गरिएको छ।

निर्वाचन प्रणालीलाई थप पारदर्शी, सहभागी र प्रतिनिधिमूलक बनाउन आवश्यक सुधारबारे बहस अघि बढाउने भनिएको छ।

शहीद परिवार र घाइतेका लागि छुट्टै कोष

राजनीतिक आन्दोलनमा योगदान दिएका शहीद परिवार, घाइते तथा विस्थापित कार्यकर्ताको शिक्षा र स्वास्थ्य सहयोगका लागि १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने प्रस्ताव प्रतिवेदनमा छ।

पार्टीका राजनीतिक आन्दोलनमा योगदान गर्ने परिवारको दीर्घकालीन संरक्षणका लागि यस्तो व्यवस्था आवश्यक रहेको उल्लेख गरिएको छ।

संक्रमणकालीन न्याय टुंग्याउने प्रतिबद्धता

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै द्वन्द्वपीडितलाई सत्य, न्याय र परिपूरण सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरिएको छ।

संक्रमणकालीन न्यायलाई राजनीतिक भागबन्डा वा सत्ता समीकरणको विषय नबनाई पीडितको विश्वास र संस्थागत विश्वसनीयतालाई प्राथमिकता दिनुपर्ने भनिएको छ।

चार वर्षको कामलाई समयसीमामा बाँध्ने

थापाको प्रतिवेदनमा राजनीतिक र संगठनात्मक सुधारका लागि निश्चित समयसीमासहितको कार्ययोजना पनि प्रस्ताव गरिएको छ।

पहिलो १०० दिनमा २०६२/६३ देखि २०८२ सम्मको राजनीतिक तथा संगठनात्मक समीक्षा गर्ने, सातै प्रदेशमा समीक्षा सुरु गर्ने, पहिलो ‘समुन्नति नीति–पत्र’ सार्वजनिक गर्ने र सामुदायिक योगदानको अभिलेख तयार गर्ने भनिएको छ।

पहिलो वर्ष शिक्षा, पोषण, रोजगारी, सुशासन तथा हरित विकासमा प्रदेशस्तरीय कार्यदल बनाउने, नागरिक संवाद र सार्वजनिक सेवा अनुगमन अघि बढाउने प्रस्ताव छ।

निर्वाचनअघि उम्मेदवार छनोटका मापदण्ड सार्वजनिक गर्ने, सामुदायिक योगदान र कार्यसम्पादनलाई उम्मेदवारीको आधार बनाउने तथा प्राइमरी निर्वाचनको प्रक्रिया अघि बढाउने भनिएको छ।

प्रत्येक तीन महिनामा आन्तरिक समीक्षा, वर्षमा एकपटक सार्वजनिक ‘समुन्नति प्रतिवेदन’ र चार वर्षपछि नेतृत्वको कार्यसम्पादन मूल्यांकन गर्ने प्रणाली विकास गर्ने प्रस्ताव पनि छ।

प्रतिवेदनको मूल राजनीतिक सन्देश

समग्रमा थापाको प्रतिवेदनले कांग्रेसलाई परम्परागत सत्ता र निर्वाचनकेन्द्रित पार्टीको शैलीबाट बाहिर निकालेर नीति, परिणाम र नागरिक सहभागितामा आधारित संगठन बनाउने प्रयास गरेको देखिन्छ।

प्रतिवेदनमा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’लाई दीर्घकालीन राजनीतिक लक्ष्यका रूपमा अघि सार्दै विगतका कमजोरी स्वीकार गर्ने, नयाँ पुस्तासँगको दूरी घटाउने, निजी क्षेत्रसँग सहकार्य बढाउने, सार्वजनिक संस्थाको विश्वसनीयता पुनर्स्थापित गर्ने र पार्टीभित्रै जवाफदेहिताको संस्कृति विकास गर्ने प्रस्ताव गरिएको छ।

चार वर्षको नेतृत्व अवधिलाई नियमित समीक्षा र मापनयोग्य परिणामसँग जोड्ने प्रस्तावसहित थापाले कांग्रेसको राजनीतिक पुनर्निर्माणलाई नेतृत्व परिवर्तनभन्दा व्यापक एजेन्डाका रूपमा प्रस्तुत गरेका छन्।

Read More

जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, ९५८ मतसहित विजयी

काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगन्जमा सम्पन्न पार्टीको महाधिवेशनबाट राउत ९५८ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन्।

अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेको थियो। यद्यपि, पार्टीको विधानले अध्यक्ष पदका उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था गरेकाले निर्वाचनमार्फत उनको समर्थन परीक्षण गरिएको थियो।

महाधिवेशनमा २६ पदाधिकारीसहित ९९ पदका लागि निर्वाचन भएको थियो। निर्वाचनबाट उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदमा समेत नयाँ नेतृत्व चयन भएको छ।

निर्वाचित पदाधिकारी

पदनाम
अध्यक्षडा. सीके राउत — ९५८ मत
महासचिवसञ्जयकुमार यादव (सिरहा) — ६१८ मत
उपमहासचिवनिर्मलकुमार मण्डल (सिरहा) — ५०१ मत
उपाध्यक्षअनिताकुमारी मण्डल (सिरहा)
उपाध्यक्षअनितादेवी साह (धनुषा)
उपाध्यक्षनरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु)
उपाध्यक्षबसन्तकुमार कुशवाहा (रौतहट)
उपाध्यक्षडा. जयकान्त राउत (सप्तरी)
उपाध्यक्षराजयकुमार यादव (सिरहा)
उपाध्यक्षमाधवप्रसाद सिंह (पर्सा)
सचिवसुरेन्द्र शर्मा
सचिवपारसप्रसाद साह
सचिवसन्तोष राज सहनी
सचिवअन्जनी देवी
सचिवराधाकुमारी यादव
सचिवहरेन्द्र चौधरी
सचिवबालगोविन्द चौधरी

उपमहासचिवमा निर्वाचित निर्मलकुमार मण्डलले ५०१ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत ल्याएका थिए। महासचिवमा निर्वाचित सञ्जयकुमार यादवले ६१८ मत प्राप्त गरेका छन्।

Read More

कांग्रेस महाधिवेशनमा शीर्ष नेताको सहभागिता, ओली नजाने प्रचण्ड र रवि जाने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आज काठमाडौंको खुलामञ्चमा हुँदैछ। महाधिवेशन उद्घाटनमा सहभागी हुन विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई कांग्रेसले निमन्त्रणा गरे पनि केही शीर्ष नेताहरू भने कार्यक्रममा सहभागी नहुने भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उद्घाटन समारोहमा स्वयं सहभागी हुने भएका छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि कार्यक्रममा उपस्थित हुनेछन्। पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार प्रचण्डले समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले पनि प्रचण्डको आजको कार्यतालिकामा कांग्रेस महाधिवेशनमा सहभागी हुने कार्यक्रम रहेको जानकारी दिएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने उद्घाटन समारोहमा सहभागी नहुने भएका छन्। बुवाको निधनपछि बरखीमा रहेका कारण ओली उपस्थित हुन नसक्ने उनको सचिवालयले जनाएको छ। ओलीको प्रतिनिधिका रूपमा एमाले महासचिव शंकर पोखरेल कार्यक्रममा सहभागी हुनेछन् र कांग्रेस महाधिवेशनलाई शुभकामना मन्तव्य दिनेछन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि उद्घाटन समारोहमा सहभागी हुने भएका छन्।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भने कार्यक्रममा नजाने भएका छन्। यादवको सचिवालयका अनुसार उनको स्थानमा सहअध्यक्ष शरतसिंह भण्डारीलाई कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने जिम्मेवारी दिइएको छ।

Read More

कांग्रेसको १५औँ महाधिवेशनमा देखिने १७ नयाँ अभ्यास

काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही महत्वपूर्ण पक्षमा फरक हुने भएको छ। विशेष महाधिवेशनबाट विधानमा गरिएका संशोधन कार्यान्वयन गर्दै यसपटक युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्वदेखि महाधिवेशन सञ्चालन र प्रचारशैलीसम्म नयाँ अभ्यास गरिँदैछ।

नयाँ पक्षयसपटकको व्यवस्था
२३२ सदस्यीय केन्द्रीय कार्यसमितिनयाँ व्यवस्थाअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुनेछ। १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुनेछन्।
३५ वर्षमुनिका युवाको प्रतिनिधित्ववडा तहदेखि केन्द्रसम्म युवाको सहभागिता बढाउने गरी विधानमै व्यवस्था गरिएको छ।
केन्द्रमा २१ युवा सदस्य३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय कार्यसमितिमा निर्वाचित हुनेछन्। प्रदेशगत र खुला समूहबाट युवालाई नेतृत्वमा ल्याइनेछ।
महिलाको कम्तीमा एकतिहाइ सहभागितापार्टीका विभिन्न तहका कार्यसमितिमा महिलाको कम्तीमा एकतिहाइ प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।
सहमहामन्त्रीको संख्या बढ्योसहमहामन्त्रीको संख्या आठबाट बढाएर ११ पुर्‍याइएको छ। समावेशी समूहबाट निर्वाचित तथा सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको छ।
‘ल्याटरल इन्ट्री’को व्यवस्थाराजनीति बाहेक विभिन्न पेसा, व्यवसाय तथा क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई पार्टीको मूल नेतृत्वमा ल्याउने बाटो खोलिएको छ। यस व्यवस्थाअन्तर्गत सात जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
विदेशस्थित कांग्रेसजनलाई प्रतिनिधित्वनेपाली जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिमध्येबाट छ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।
समावेशी प्रतिनिधित्व विस्तारअपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, पिछडिएको क्षेत्र, श्रमिक, लोकतन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडितको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।
प्यानल नबनाउने अभ्यासयसपटक नेतृत्व चयनमा विगतमा जस्तो औपचारिक प्यानल बनाएर निर्वाचनमा जाने अभ्यास नगर्ने बताइएको छ। प्रतिनिधिले उम्मेदवार छनोटमा आफ्नो स्वविवेक प्रयोग गर्नेछन्।
प्रदेशगत समूहमा बन्दसत्रकरिब सात हजार प्रतिनिधिलाई एउटै हलमा राख्नुको सट्टा छुट्टाछुट्टै समूह बनाएर राजनीतिक, सांगठनिक तथा नीतिगत दस्तावेजमाथि छलफल गराइनेछ।
हिमाल, पहाड र तराई–मधेस नामका हलबन्दसत्रका लागि तीनवटा ठूला संरचना तयार गरिएको छ। ती हललाई हिमाल, पहाड र तराई–मधेस नाम दिइएको छ।
प्रतिवेदन डिजिटल रूपमा उपलब्धमहाधिवेशनका राजनीतिक तथा सांगठनिक दस्तावेज डिजिटल माध्यमबाट समेत प्रतिनिधिलाई उपलब्ध गराउने तयारी गरिएको छ।
छलफलको अभिलेख राखिनेप्रतिनिधिले राखेका धारणा, सुझाव तथा बहसलाई अभिलेखका रूपमा सुरक्षित गरी अन्तिम दस्तावेज तयार गर्न प्रयोग गरिनेछ।
विद्युतीय मतदानको प्रयासकांग्रेसले विद्युतीय मतदानको तयारी गरे पनि प्राविधिक तथा व्यवस्थापकीय कारणले अन्तिममा परम्परागत मतदान प्रणालीबाटै निर्वाचन गर्ने भएको छ।
प्रचारशैलीमा परिवर्तनठूला गेट, होर्डिङ बोर्ड, तोरण तथा अत्यधिक झण्डाको प्रयोगलाई निरुत्साहित गरिएको छ। उम्मेदवारलाई डिजिटल माध्यमबाट प्रचार गर्न जोड दिइएको छ। मतदानस्थलमा पर्चा छापेर वितरण गर्न पनि रोक लगाइएको छ।
उद्घाटन र बन्दसत्र एउटै स्थानमामहाधिवेशनको उद्घाटनसँगै बन्दसत्र पनि काठमाडौंको खुलामञ्चमै गर्ने तयारी गरिएको छ।
भड्किलो शैलीमा नियन्त्रणप्राकृतिक विपद्को अवस्थालाई ध्यानमा राख्दै महाधिवेशनलाई अत्यधिक खर्चिलो र भड्किलो नबनाउने नीति लिइएको छ। सहरभरि प्रचार सामग्री तथा सजावट गर्ने परम्परालाई सीमित गरिएको छ।

यसपटकको महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुधार र नयाँ पुस्ताको भूमिकाबारे बहसलाई पनि प्राथमिकता दिइएको छ। ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ र ‘कांग्रेस २.०’ जस्ता नारामार्फत पार्टीलाई नयाँ शैलीमा अघि बढाउने सन्देश दिइएको छ।

समग्रमा, कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै संगठनको संरचना, प्रतिनिधित्व, छलफलको शैली र प्रचार प्रणालीमा समेत परिवर्तन ल्याउने प्रयास गरिएको छ। युवा, महिला, पेसाकर्मी तथा श्रमिकको सहभागिता बढाउनेदेखि विज्ञ र विदेशस्थित कांग्रेसजनलाई पार्टीको केन्द्रीय संरचनामा समेट्नेसम्मका व्यवस्था यसपटकका प्रमुख नयाँ पक्ष हुन्।

Read More

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, खुलामञ्चमा उद्घाटन; प्रतिनिधिका लागि पार्किङ व्यवस्था

काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा सुरु हुँदैछ। दिउँसो २ बजे हुने उद्घाटन सभापति गगनकुमार थापाले गर्ने कार्यक्रम छ। उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेतासहित प्रमुख राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने बताइएको छ।

ऐतिहासिक टुँडिखेलमै कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेका थिए। यही स्थानमा कांग्रेसका अर्का संस्थापक नेता गणेशमान सिंहले २०४६ सालको जनआन्दोलनको सफलताको घोषणा गरेका थिए।

‘ऊर्जाशील कांग्रेस, नयाँ सङ्कल्प’ नारासहित हुन लागेको महाधिवेशनमा देश तथा विदेशबाट करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ। महाधिवेशनबाट ३५ वर्षमुनिका युवा, लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत समूह र विदेशमा रहेका नेपालीलाई समेत केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वको अवसर दिने बताइएको छ।

महाधिवेशनको तयारीबारे प्रवक्ता देवराज चालिसेले नवपुस्ताका ४४ हजारभन्दा बढी युवा पार्टीको विभिन्न जिम्मेवारीमा आएको र उनीहरूसहित चयन भएका प्रतिनिधिको सहभागिताले महाधिवेशनलाई विशेष बनाएको बताए।

उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले प्रतिवेदन प्रस्तुत गर्नेछन्। असोज १९ गते दिउँसो २ देखि ६ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयनको समय तोकिएको निर्वाचन समितिले जनाएको छ।

प्रतिनिधिका सवारीसाधनका लागि पार्किङ व्यवस्था

महाधिवेशनमा सहभागी प्रतिनिधिका निजी कार तथा मोटरसाइकलका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ। ठूला बसका लागि भने माइतीघरदेखि भद्रकालीसम्मको सडकको एक लेन प्रयोग गरिनेछ।

महाधिवेशन यातायात व्यवस्थापन समितिका अनुसार ट्राफिक प्रहरीसँगको समन्वयमा पार्किङ व्यवस्थापन गरिएको हो। यसअघि धरहराको अन्डरग्राउन्ड र दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरलाई समेत पार्किङका लागि प्रयोग गर्ने व्यवस्था मिलाइएको जनाइएको छ।

महाधिवेशनको सूचना तथा गतिविधि सार्वजनिक गर्न खुलामञ्चमा मिडिया सेन्टरसमेत स्थापना गरिएको कांग्रेसले जनाएको छ।

Read More

रास्वपाले तोक्यो १३ विभागका प्रमुख, दुई उपप्रमुख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका विभिन्न विभागमा नयाँ जिम्मेवारी तोक्दै १३ विभागका प्रमुख र दुई उपप्रमुख मनोनयन गरेको छ।

वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समिति बैठकले विभागीय नेतृत्वसम्बन्धी निर्णय गरेको हो। प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले पार्टीका विभिन्न सांगठनिक तथा विषयगत विभागमा प्रमुख र उपप्रमुखको जिम्मेवारी बाँडफाँट गरेको हो।

नयाँ जिम्मेवारीअनुसार प्रवास सम्पर्क विभागको नेतृत्व मनिष झालाई दिइएको छ। आर्थिक व्यवस्थापन विभागको प्रमुखमा डा. मनोहर प्रधान, कानुन मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य तथा सामाजिक न्याय, लैंगिक समानता तथा समावेशिकता विभागमा रुविना आचार्यलाई जिम्मेवारी दिइएको छ।

सुशासन तथा राज्य व्यवस्था विभागको प्रमुखमा सुदिप ढकाल र विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागको नेतृत्व सुलभ खरेलले पाएका छन्। कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभागमा दीपककुमार साह (महोत्तरी) प्रमुख बनेका छन्।

त्यस्तै, आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागको जिम्मेवारी शर्मिला खनाललाई दिइएको छ। विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा आनन्दबहादुर चन्द र संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मी चयन भएका छन्।

वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागको नेतृत्व धर्म केसीले गर्नेछन् भने सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागको प्रमुखमा रिमा विश्वकर्मालाई मनोनयन गरिएको छ।

केन्द्रीय समितिको निर्णयअनुसार अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र तथा अर्थ विभागको उपप्रमुखमा डिल्लीश्वर कार्कीलाई जिम्मेवारी दिइएको प्रवक्ता खरेलले जानकारी दिए।

Read More

प्रधानमन्त्री बालेनको सचिवालयमा २५ पदाधिकारी तथा कर्मचारीको विवरण सार्वजनिक

काठमाडौं। प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सल्लाहकार समूह, स्वकीय सचिवालय तथा विभिन्न तहमा कार्यरत पदाधिकारी र कर्मचारीको विवरण सार्वजनिक गरेको छ। कार्यालयले लामो समयपछि आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रधानमन्त्रीको टोलीमा रहेका २५ जना पदाधिकारी तथा कर्मचारीको जिम्मेवारी सार्वजनिक गरेको हो।

सार्वजनिक विवरणमा प्रधानमन्त्रीका राजनीतिक, स्वास्थ्य, नीति, प्रशासन तथा सूचना प्रविधिसम्बन्धी सल्लाहकारदेखि विभिन्न प्रशासनिक, अनुसन्धान र प्राविधिक जिम्मेवारीमा रहेका कर्मचारीसम्मलाई समेटिएको छ। केही पदाधिकारीलाई मन्त्री तथा राज्यमन्त्रीसरहको हैसियत र सुविधा प्रदान गरिएको विवरणमा उल्लेख छ।

प्रधानमन्त्रीका सल्लाहकार तथा उच्च तहका पदाधिकारी

नामजिम्मेवारी तथा हैसियत
कुमार ब्यञ्जनकारअवैतनिक मुख्य राजनीतिक सल्लाहकार, मन्त्रीसरह
असिम शाहराजनीतिक सल्लाहकार, मन्त्रीसरह
प्राडा जगदिश प्रसाद अग्रवालअवैतनिक स्वास्थ्य सल्लाहकार, मन्त्रीसरह
सुदिप ढकालनीति, प्रशासन तथा सुशासन सल्लाहकार, राज्यमन्त्रीसरह
विवेक मिश्रसूचना तथा सञ्चार प्रविधि सल्लाहकार, राज्यमन्त्रीसरह

प्रधानमन्त्रीको सचिवालयतर्फ सुवाष शर्मा प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत छन्। उनको पद रा.प. विशिष्टसरह रहेको छ। त्यस्तै नविन भण्डारी स्वकीय सचिवका रूपमा रहेका छन्, जसको पद रा.प. प्रथमसरह रहेको छ।

सहसचिव तथा सोसरहका जिम्मेवारी

नामजिम्मेवारी तथा हैसियत
सञ्जिव पाण्डेविकास परियोजना, सहसचिव (रा.प. प्रथम) सरह
दिपा दाहालप्रेस तथा अनुसन्धान विज्ञ, सहसचिव (रा.प. प्रथम) सरह
सन्तोष गिरीकार्यक्रम तथा भ्रमण संयोजक, सहसचिव (रा.प. प्रथम) सरह
विश्व राईविज्ञ–सामाजिक विकास, सहसचिव (रा.प. प्रथम) सरह

यसैगरी उपसचिव तथा सहायक विज्ञका रूपमा पनि विभिन्न व्यक्तिलाई जिम्मेवारी तोकिएको छ।

नामजिम्मेवारी तथा हैसियत
प्रकृति ढकालउपसचिव (रा.प. द्वितीय) सरह
विशाल अधिकारीउपसचिव (रा.प. द्वितीय) सरह
विनय शाक्यउपसचिव (रा.प. द्वितीय) सरह
सुमन गौतमसहायक विज्ञ, नागरिक उड्डयन
रवि किरण अधिकारीसहायक विज्ञ, भाषा तथा मस्यौदा

शाखा अधिकृत तथा प्राविधिक–प्रशासनिक तहका कर्मचारी

प्रधानमन्त्रीको सचिवालयमा शाखा अधिकृत तथा अन्य प्राविधिक र प्रशासनिक तहमा समेत विभिन्न कर्मचारी कार्यरत रहेको विवरणमा उल्लेख छ।

नामजिम्मेवारी
सुरेन्द्र बजगाईप्रेस सहजकर्ता
रोशन तामाङ्गग्राफिक्स डिजाइन
बेदानन्द जोशीकर्मचारी
हेम नारायणदास चौधरीअनुसन्धान अधिकृत
अनुप थापा मगरकर्मचारी
ऋषी थापाकर्मचारी
अमृत पाण्डेभिडियोग्राफर
राज कुमार गौतमकर्मचारी
बेनिस कार्कीकर्मचारी

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सचिवालयमा राजनीतिक तथा स्वास्थ्य सल्लाहकार, नीति तथा प्रशासन विज्ञ, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका सल्लाहकारसँगै विकास परियोजना, अनुसन्धान, सामाजिक विकास, नागरिक उड्डयन, भाषा तथा मस्यौदा, ग्राफिक्स र भिडियो उत्पादनलगायत विभिन्न क्षेत्रमा जिम्मेवारी तोकिएका छन्।

Read More

कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा चालिसेले महाधिवेशनमा सहभागी हुन विभिन्न देशबाट अतिथि आउने क्रम सुरु भएको जानकारी दिए।

उनका अनुसार पार्टीले सकेसम्म सबैलाई समेटेर महाधिवेशन अघि बढाउने प्रयास गरिरहेको छ। अधिकांश नेता महाधिवेशनमा सहभागी हुने र व्यक्तिगत आकांक्षा भएका केही नेता भने बाहिर रहन सक्ने उनले बताए।

नयाँ ऊर्जाका साथ महाधिवेशन आयोजना गर्न लागिएको बताउँदै चालिसेले पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटनका लागि निमन्त्रणा गरिसकिएको जानकारी दिए।

उनले आगामी महाधिवेशनबाट गगन थापा सर्वसम्मत रूपमा पार्टी सभापति बन्न सक्ने सम्भावना रहेको पनि बताए।

Read More

संघीय संसद्का दुवै सदन बैठक बस्दै, विभिन्न विधेयक अघि बढाइँदै

काठमाडौं । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।

प्रतिनिधिसभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस हुने कार्यसूची छ। यस क्रममा ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ अघि बढाउने प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गर्नेछिन्।

त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ लाई समितिमा पठाउने प्रस्ताव राख्नेछन्। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सम्बन्धित ऐन संशोधनसम्बन्धी विधेयक अघि बढाउने कार्यसूची छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित चार विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। यसअन्तर्गत आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण नियन्त्रण, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक छन्।

बैठकमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गर्ने कार्यसूचीसमेत छ।

प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पनि सभामा पेस गर्नेछिन्। यसैगरी, अघिल्ला बैठकमा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल गर्नेछन्।

सभामुख डोलप्रसाद अर्यालले १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदबाट प्राप्त अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गर्नेछन्। राष्ट्रपतिबाट प्राप्त पत्रसमेत सभामुखले बैठकमा पढेर सुनाउने कार्यक्रम छ।

राष्ट्रियसभाको बैठकमा पनि प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्नेछन्।

प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ मा गरिएको संशोधनलाई सहमति दिने प्रस्ताव पेस हुनेछ।

यस्तै, ‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पारित गर्ने कार्यसूची राष्ट्रियसभाको बैठकमा राखिएको छ।

Read More