२०८३ श्रावण ११

संविधान संशोधनका नाममा उपलब्धि खारेज गर्न नहुने आरेन राईको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संविधान संशोधनका नाममा प्राप्त उपलब्धिहरू उल्ट्याउने प्रयास स्वीकार्य नहुने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि कुनै प्रकारको खेलबाड गरिए वा प्रदेश संरचना खारेज गर्ने प्रयास भए कडा प्रतिरोध हुने चेतावनी दिए।

राईले संविधान संशोधन आवश्यक भए पनि त्यसले पछाडि परेका तथा उत्पीडित समुदायको अधिकार थप सुदृढ गर्नुपर्ने बताए। उनले महिलाको वर्तमान एक–तिहाइ (३३ प्रतिशत) प्रतिनिधित्वलाई बढाएर ५० प्रतिशत पुर्‍याउनुपर्ने धारणा समेत राखे।

उनका अनुसार संविधान संशोधनको प्रक्रिया समावेशी अधिकार विस्तारतर्फ केन्द्रित हुनुपर्छ, सीमित उपलब्धि उल्ट्याउनेतर्फ होइन।

उनले लोकतन्त्रमाथि प्रहार भए सिंहदरबारविरुद्ध पुनः जनविद्रोह हुन सक्ने चेतावनी पनि दिए। साथै, २००७ सालदेखि हालसम्म राज्यप्रति असन्तोष र विद्रोह निरन्तर रहँदै आएको भन्दै जनताले सिंहदरबारबाट न्याय र समान अवसरको अनुभूति गर्न नसकेको टिप्पणी गरे।

Read More

रास्वपामा नयाँ व्यवस्था : एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा नबस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको कुनै पनि कार्यकारी पदमा एउटै व्यक्ति लगातार दुई पटकभन्दा बढी निर्वाचित वा मनोनीत हुन नपाउने व्यवस्था गरेको छ।

पार्टीको प्रथम महाधिवेशनबाट पारित संशोधित विधान अनुसार नेतृत्वमा एकाधिकार अन्त्य गर्दै पुस्तान्तरणलाई सहज बनाउन यो व्यवस्था लागू गरिएको हो।

नयाँ प्रावधानअनुसार कुनै पनि व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा निर्वाचित वा मनोनीत हुन पाउने छैन। विधानमा उल्लेख गरिएको छ कि यस्तो कार्यकालको गणना पहिलो ऐतिहासिक महाधिवेशन सम्पन्न भएपछि मात्र सुरु हुनेछ।

रास्वपाले यो निर्णयलाई पार्टीभित्र नेतृत्व परिवर्तनलाई संस्थागत गर्ने र नयाँ पुस्ताको सहभागिता बढाउने महत्वपूर्ण कदमका रूपमा लिएको छ।

Read More

कांग्रेसमा विवादित दुई प्रस्ताव स्वीकार गर्न नसकिने गगन थापाको स्पष्टोक्ति

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र संस्थापनइतर समूहले उठाएका दुई प्रमुख प्रस्ताव आफूले स्वीकार गर्न नसक्ने स्पष्ट पारेका छन्।

कांग्रेसको जनसम्पर्क समिति जापानको अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै थापाले १४औँ महाधिवेशनबाट आएका १११ केन्द्रीय समिति सदस्यलाई वर्तमान समितिमा समायोजन गर्ने तथा क्रियाशील सदस्यताको अद्यावधिक नगरी पार्टी सञ्चालन गर्ने दुवै प्रस्ताव विधानविपरीत रहेको बताए।

उनले पार्टी विधानले व्यवस्था नगरेका विषय कार्यान्वयन गर्न आफूले चाहेर पनि नसक्ने उल्लेख गर्दै क्रियाशील सदस्यताको अद्यावधिक नगरी अघि बढ्नु अव्यावहारिक र अराजनीतिक हुने धारणा राखे।

“विधानले जुन कुरा दिँदैन, त्यो मैले चाहेर पनि गर्न सक्दिन। क्रियाशील सदस्यताको अद्यावधिक नगरी पार्टी सञ्चालन गर्ने कुरा कांग्रेसको विधानविपरीत मात्रै होइन, अव्यावहारिक र अराजनीतिक पनि हुन्छ,” थापाले भने।

निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहले १४औँ महाधिवेशनबाट आएका १११ केन्द्रीय सदस्यलाई वर्तमान समितिमा समायोजन गर्नुपर्ने तथा क्रियाशील सदस्यताको अद्यावधिकलाई अनिवार्य बनाउन नहुने माग गर्दै आएका छन्।

Read More

सभामुख अर्यालको सरकारलाई रुलिङ : सांसदले उठाएका विषयमा जवाफ दिन निर्देशन

काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका समसामयिक तथा जनसरोकारका विषयमा स्पष्ट जवाफ दिन नेपाल सरकारलाई रुलिङ गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले विभिन्न महत्त्वपूर्ण विषयमा सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्दै ती विषयमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्।

विशेषगरी कर्णाली प्रदेशमा हालै भएको सवारी दुर्घटनाबारे सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए।

Read More

प्रतिनिधि सभामा विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफल आज

काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३१औँ बैठक आज सोमबार बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।

महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्। त्यसअघि सो विधेयक पेश गर्न अनुमति माग्ने प्रस्ताव सभामा प्रस्तुत गरिनेछ।

त्यसैगरी अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ लाई पनि समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची छ।

यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँग सम्बन्धित दुई महासन्धिमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नेछन्। तीमध्ये बाध्यकारी श्रमसम्बन्धी महासन्धि (१९३०) को २०१४ को प्रोटोकल नम्बर–२९ र श्रम निरीक्षणसम्बन्धी महासन्धि (१९४७) नम्बर–८१ समावेश छन्।

सचिवालयका अनुसार आजको बैठकमा विधेयक तथा महासन्धिमाथि प्रारम्भिक छलफल गरी सम्बन्धित समितिमा पठाउने र आवश्यक संसदीय प्रक्रिया अघि बढाउने कार्यसूची रहेको छ।

Read More

राष्ट्रिय सभामा आज विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल जारी

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज सोमबार बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक अपराह्न १२:१५ बजे सुरु हुनेछ।

महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ।

आजको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय तथा सञ्चार र सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिइनेछ। त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित विषयमा पनि छलफल हुनेछ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, विज्ञान तथा प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका बजेट शीर्षकमाथि उठेका प्रश्नको पनि मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

Read More

सरकारको सय दिनको काम जनताले महसुस गर्न सकेनन् : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकारले सय दिन पूरा गरे पनि जनताले प्रत्यक्ष रूपमा महसुस गर्ने गरी काम गर्न नसकेको बताएका छन्।

दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी शुक्रबार काठमाडौं फर्किएका साम्पाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले केही गर्ने प्रयास गरे पनि त्यसको परिणाम जनताले अनुभूति गर्न नसकेको बताए।

सरकारको कामको मूल्यांकन नतिजाबाट हुनुपर्ने उल्लेख गर्दै उनले महँगी नियन्त्रणलगायत जनजीवनसँग प्रत्यक्ष सम्बन्धित विषयमा सुधार आवश्यक रहेको बताए।

“कोसिस उहाँहरूले गर्नुभएको हो। तर रिजल्ट चाहिँ जनतालाई त्यति महसुस भएको छैन। रिजल्ट भएको महसुस हुनुपर्दछ। महँगी धेरै भयो। अब महँगी नियन्त्रण गर्नुपर्दछ भन्ने हाम्रो सल्लाह–सुझाव थियो। म दार्चुला हुँदा देखेको थिएँ, त्यता आमसञ्चार छैन। अब हेर्न पनि पाइँदैन। पेट्रोलको भाउ अलि घट्यो रे भन्ने छ,” उनले भने।

Read More

सहयोग रकमको एक रुपैयाँ पनि दुरुपयोग भएको छैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफूहरूले संकलन गरेको सहयोग रकमको एक रुपैयाँ पनि दुरुपयोग नभएको दाबी गरेका छन् ।

दार्चुलामा झोलुङ्गे पुल उद्घाटन गरेर काठमाडौं फर्किएका साम्पाङले आफ्नो पार्टीलाई ‘क्यूआर पार्टी’ भनेर आलोचना गर्नेहरूलाई जवाफ दिएका हुन् ।

उनले सहयोग रकमको सम्पूर्ण हिसाब–किताब पारदर्शी रहेको दाबी गर्दै आरोप लगाउनेहरूले प्रमाणसहित बोल्नुपर्ने बताए ।

“त्यो भन्ने मान्छेले पनि सहयोग गरेको देखाओस् न। हावामा एक रुपैयाँ सहयोग गरेको छैन, त्यसै भनेर हुन्छ ? अब भने सहयोग गरेको स्क्रिनसट राखेर देखाओस् न,” साम्पाङले भने ।

Read More

रास्वपाद्वारा ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्म सुरु, सांसद गतिविधि अनलाइन ट्र्याक हुने

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूको गतिविधि, भेटघाट तथा निर्वाचन क्षेत्रका नागरिकका गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘पल्स आरएसपी’ नामक डिजिटल प्लेटफर्म विकास गरेको छ। पार्टीलाई पूर्ण रूपमा डिजिटल प्रणालीतर्फ उन्मुख बनाउने लक्ष्यसहित उक्त प्रणाली निर्माण गरिएको रास्वपाले जनाएको छ।

पार्टीका अनुसार सांसदहरूको कामकाज पारदर्शी र व्यवस्थित बनाउन यो प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ। साथै, साइबर सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबार बिहान सिंहदरबारस्थित पार्टी कार्यालयमा प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण कार्यक्रमसमेत आयोजना गरिएको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

नयाँ प्रणाली लागू भएपछि सांसदहरूले संसद् बैठकपछि आफ्ना सबै गतिविधि अनिवार्य रूपमा डिजिटल प्रणालीमा अद्यावधिक गर्नुपर्नेछ। सांसदबीच भेटघाटका लागि समय माग गर्ने, संसद्मा उठाउने विषयवस्तु प्रविष्ट गर्ने तथा निर्वाचन क्षेत्रमा हुने भ्रमण, भेटघाट र कार्यक्रमहरूको विवरण समेत सोही प्रणालीमा राख्नुपर्ने व्यवस्था गरिएको छ।

रास्वपाले यो प्रणालीले सांसदहरूको कामकाजलाई व्यवस्थित बनाउने, पारदर्शिता बढाउने तथा नागरिक र जनप्रतिनिधिबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

Read More

रास्वपाको सदस्यता तथ्यांकबारे बालबालिका समावेश भएको दाबीपछि मानव अधिकार आयोगद्वारा स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमा १८ वर्षमुनिका व्यक्तिहरूको सदस्यता विवरण समावेश भएको विषय सार्वजनिक भएपछि विवाद उत्पन्न भएको छ। सोही विषयमा राष्ट्रिय मानव अधिकार आयोगले पार्टीसँग औपचारिक रूपमा स्पष्टिकरण माग गरेको छ।

आयोगका अनुसार रास्वपाले बालबालिकालाई पार्टी सदस्य बनाएको भन्ने सूचना प्राप्त भएपछि विषयलाई गम्भीरतापूर्वक लिँदै पत्राचार गरिएको हो। आयोगले बालबालिकालाई राजनीतिक दलको सदस्यका रूपमा संगठित गर्नु प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार प्रतिबद्धताविपरीत हुन सक्ने भन्दै विस्तृत जानकारी माग गरेको छ।

महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा १८ वर्षमुनिका व्यक्तिहरूको संख्या उल्लेख भएपछि प्रश्न उठेको हो। तत्कालीन महासचिव कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको उक्त प्रतिवेदनमा ठूलो संख्यामा कम उमेरका विवरण समावेश भएको देखिएको थियो।

तर रास्वपाले भने १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई सदस्यता नदिएको दाबी गरेको छ। पार्टीका अनुसार प्रतिवेदनमा उल्लेख भएको विवरण अन्तिम सदस्यता सूची नभई डिजिटल प्रणालीमा दर्ता भएका प्रारम्भिक आवेदनहरूको कच्चा तथ्यांक मात्र हो।

पार्टीले जन्ममिति प्रविष्ट गर्दा भएको प्राविधिक तथा मानवीय त्रुटिका कारण केही आवेदकको उमेर गलत देखिएको जनाएको छ। कतिपयले विक्रम संवत् र इस्वी संवत् चयनमा गल्ती गरेको तथा टाइपिङ त्रुटिका कारण पनि यस्तो अवस्था आएको स्पष्टीकरणमा उल्लेख छ।

महामन्त्री विपिनकुमार आचार्यका अनुसार हालसम्म ५ लाख २३ हजार ४ सय ६५ सदस्यता आवेदन दर्ता भएका छन्। तीमध्ये करिब ३ लाख ९० हजारको कागजातका आधारमा प्रमाणीकरण पूरा भइसकेको छ भने बाँकी १ लाख ३३ हजारभन्दा बढी आवेदन प्रमाणीकरण प्रक्रियामा छन्।

रास्वपाले सदस्यता प्रणालीमा देखिएका त्रुटिहरूको प्राविधिक समीक्षा सुरु गरिएको र भविष्यमा यस्ता समस्या नदोहरिने गरी सुधार गरिने जनाएको छ। साथै, १८ वर्षमुनिका व्यक्तिलाई स्वतः पहिचान गरी आवेदन रोक्ने प्रणाली लागू गरिने, प्रमाणित विवरण पुनः परीक्षण गरिने र आवश्यक परे गलत रूपमा स्वीकृत सदस्यता खारेज गरिने पनि पार्टीले स्पष्ट पारेको छ।

पार्टीले महाधिवेशन प्रतिवेदनमा प्रारम्भिक र अप्रमाणित तथ्यांक समावेश हुँदा भ्रम सिर्जना भएको स्वीकार गर्दै त्यसप्रति खेद प्रकट गरेको छ।

Read More