काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसदहरूले जनजीवनसँग प्रत्यक्ष जोडिएका विभिन्न विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। शून्य समयमा बोल्ने क्रममा सांसदहरूले वन्यजन्तु आक्रमणबाट भएको जनधनको क्षति, शान्ति सुरक्षा, चुरे दोहन, खानेपानी संकट, शिक्षा क्षेत्रको अवस्था, विद्युत् सेवा र सुशासनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
बैठकमा सांसद गीता देवकोटाले चितवनको भरतपुर महानगरपालिका–२३ मा असार २० गते जंगली हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताइन्। उनले पीडित परिवारलाई आवश्यक राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउन सरकारसँग आग्रह गरिन्।
सांसद धर्मेन्द्र पासवानले तराई–मधेस क्षेत्रमा पछिल्लो समय असुरक्षाको अवस्था बढ्दै गएको भन्दै नागरिकको सुरक्षाका लागि सरकारलाई थप प्रभावकारी कदम चाल्न आग्रह गरे। उनले आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याए।
त्यस्तै, सांसद महन्थ ठाकुरले चुरे क्षेत्रको विनाशका कारण मधेसमा भूमिगत पानीको स्रोत घट्दै गएको र खानेपानीको समस्या बढेको विषय उठाए। उनले चुरे संरक्षण र पानीका स्रोत पुनःस्थापनाका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद मीनासिंह रखालले कर्णाली नदीमा यात्रुवाहक बस खसेको घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै दुर्घटनामा परेका यात्रुहरूको खोजी तथा उद्धार कार्य प्रभावकारी बनाउन आग्रह गरिन्।
यसैगरी सांसद रामकुमारी झाँक्रीले सुशासन कायम गर्ने क्रममा कर्मचारीतन्त्रमा अन्योल देखिएको बताउँदै त्यसको समाधानका लागि स्पष्ट नीति आवश्यक रहेको धारणा राखिन्। उनले पछिल्लो समय कर्मचारीहरूमा देखिएको असन्तुष्टिप्रति सरकारको ध्यान जानुपर्ने बताइन्।
सांसद रेखाकुमारी झाले शिक्षा क्षेत्र सुधार गर्ने सरकारी प्रतिबद्धता व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै विद्यार्थी र अभिभावक समस्यामा परेको बताइन्। उनले शिक्षा प्रणालीलाई व्यवस्थित र गुणस्तरीय बनाउन सरकारलाई आग्रह गरिन्।
विद्युत् सेवाको विषय उठाउँदै सांसद रोशनी मेचेले देश लोडसेडिङमुक्त घोषणा भए पनि कतिपय उपभोक्ताले अझै सहज रूपमा विद्युत् सेवा पाउन नसकेको बताइन्। उनले विद्युत् आपूर्तिमा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने बताइन्।
सांसद वासुदेव घिमिरेले माइतीघर मण्डलामा अधिकारका लागि आन्दोलनरत दृष्टिविहीन समुदायका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरे। उनले उनीहरूका मागलाई गम्भीर रूपमा लिएर समाधानतर्फ अघि बढ्नुपर्ने बताए।
यसैगरी सांसद सम्झना देवकोटाले मन्त्रिपरिषद्ले गरेको शिक्षा ऐन संशोधनसम्बन्धी निर्णयप्रति प्रश्न उठाउँदै संशोधित व्यवस्थाले संवैधानिक अधिकार प्रभावित हुन सक्ने बताइन्। उनले ऐन संशोधनका विषयमा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद सोमनाथ पोर्तेलले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरूको समस्या समाधान गर्न सरकारसँग पहल गर्न माग गरे।
राष्ट्रियसभामा उठाइएका यी विषयहरूले नागरिकको दैनिक जीवन, सामाजिक सुरक्षा, वातावरण संरक्षण र सार्वजनिक सेवासँग जोडिएका चुनौतीहरूलाई पुनः बहसमा ल्याएको छ।
Read More