काठमाडौं । प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ। बैठकमा चारवटा विधेयक तथा विभिन्न प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्योट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन्।
त्यस्तै, अर्थमन्त्री वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एशियाली विधायिकी संस्थाहरूको परिषद् (Council of Asian Legislative Institutions–CALI) को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव’ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
यसैगरी, राष्ट्रिय सभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव प्रस्तुत गरिनेछ। कार्यसूचीअनुसार सभामुखले उक्त शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।




