२०८३ कार्तिक ९

एमडीएच फार्मास्युटिकल्सलाई युरोपमा ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ । नेपाली औषधि उत्पादन कम्पनी एमडीएच फार्मास्युटिकल्स प्रालिले अन्तर्राष्ट्रिय स्तरको ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ प्राप्त गरेको छ। कम्पनीले यो अवार्ड पहिलो पटक हासिल गरेको हो।

युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चले बेल्जियमको ब्रसेल्समा हालै आयोजना गरेको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक दाहाललाई उक्त सम्मान प्रदान गरिएको हो। दाहाल नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष पनि हुन्।

एमडीएच फार्मास्युटिकल्सले नेपालमै पहिलो पटक ‘ड्राइ पाउडर इनहेलर’ उत्पादन गर्दै आएको छ, जुन दम, निमोनिया तथा अन्य श्वासप्रश्वाससम्बन्धी रोगको उपचारमा प्रयोग हुन्छ।

अवार्ड प्राप्तपछि प्रतिक्रिया दिँदै सीईओ दाहालले नेपाली औषधि उद्योगले अन्तर्राष्ट्रिय मान्यता पाउनु गर्वको विषय भएको बताए।

कम्पनीले मानव तथा पशु स्वास्थ्यका लागि आवश्यक विभिन्न औषधि उत्पादन गर्दै आएको छ।

Read More

निःशुल्क स्वास्थ्य पोर्टलबाट १,२०० भन्दा बढी विपन्न नागरिक लाभान्वित

काठमाडौँ । विपन्न तथा असहाय नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले सरकारले सञ्चालनमा ल्याएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’ मार्फत सेवा लिनेको संख्या १,२०० नाघेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार पोर्टल सुरु भएपछि लक्षित वर्गका नागरिकले निःशुल्क उपचार सेवाबारे जानकारी प्राप्त गर्न र त्यसको उपयोग गर्न थालेका छन्।

मन्त्रालयले गत वैशाख ३ गतेदेखि देशभरका अस्पतालमा उपलब्ध निःशुल्क शैय्या तथा सेवासम्बन्धी विवरण सार्वजनिक गर्ने अनलाइन प्रणाली सञ्चालनमा ल्याएको थियो। संविधानले सुनिश्चित गरेको आधारभूत स्वास्थ्य सेवाको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यले यो प्रणाली सुरु गरिएको मन्त्रालयको भनाइ छ।

पोर्टलमा उपलब्ध पछिल्लो विवरणअनुसार देशभरका अस्पतालमा हाल २३ हजार ४५६ शैय्या उपलब्ध छन्। कानुनी व्यवस्थाअनुसार तीमध्ये १० प्रतिशत अर्थात् २ हजार ३५६ शैय्या विपन्न, असहाय तथा लक्षित वर्गका बिरामीका लागि निःशुल्क छुट्याइएको छ।

हाल निःशुल्क शैय्यामध्ये ३५४ शैय्यामा बिरामी उपचाररत छन् भने बाँकी २ हजार २ शैय्या तत्काल प्रयोगका लागि उपलब्ध रहेको मन्त्रालयले जनाएको छ। पोर्टलमार्फत देशभरका अस्पतालमा उपलब्ध शैय्या, निःशुल्क कोटा, प्रयोगमा रहेका शैय्या तथा खाली रहेका शैय्याको अद्यावधिक विवरण हेर्न सकिने व्यवस्था गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधान र कानूनले व्यवस्था गरेका स्वास्थ्य सुविधाबाट विपन्न नागरिकलाई वास्तविक रूपमा लाभान्वित गराउने लक्ष्यका साथ पोर्टल सञ्चालनमा ल्याइएको बताइन्। उनका अनुसार विगतमा निःशुल्क उपचारसम्बन्धी सूचना सहज रूपमा उपलब्ध नहुँदा लक्षित वर्गले पाउनुपर्ने सुविधा प्राप्त गर्न कठिनाइ हुने गरेको थियो।

मन्त्रालयले आगामी दिनमा अस्पतालहरूले उपलब्ध गराउने अन्य स्वास्थ्य सेवासम्बन्धी विवरण पनि पोर्टलमा समावेश गर्ने तयारी गरेको जनाएको छ। यसले सेवा प्रवाहलाई थप पारदर्शी र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।

नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको छ। साथै, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार अस्पतालहरूले कुल शैय्याको १० प्रतिशत विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि निःशुल्क उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार निःशुल्क उपचार व्यवस्थालाई प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक कार्यविधि तथा डिजिटल प्रणाली विकास गरिएको हो। यसले सेवा प्राप्त गर्ने नागरिक र सेवा उपलब्ध गराउने अस्पताल दुवैलाई स्पष्ट मापदण्डअनुसार काम गर्न सहज बनाएको उनले बताए।

Read More

स्वास्थ्य बीमा दाबी भुक्तानीका लागि ९१ करोड रुपैयाँ निकासा प्रक्रिया अघि बढाइयो

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा दाबी भुक्तानी अन्तर्गत विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ।

नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यसअघि गत जेठ १३ गते स्वास्थ्य बीमा दाबीबापत १ अर्ब ३ करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको थियो। त्यसैगरी, जेठ २१ गते विपन्न नागरिकका लागि औषधि उपचार खर्चबापत ३२ करोड १३ लाख ६ हजार रुपैयाँ निकासा गरिएको थियो भने जेठ २७ गते थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको थियो।

सरकारले विगत आर्थिक वर्षदेखि संचित रहेका स्वास्थ्य बीमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी बक्यौता भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन तथा भुक्तानी प्रक्रिया तीव्र बनाएको जनाएको छ।

स्वास्थ्य बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थाहरूको बक्यौता नियमित रूपमा फर्छ्यौट गर्दै स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको विश्वास सुदृढ गर्ने तथा स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।

Read More

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् तथा प्रमुख स्वास्थ्य निकायका रिक्त पदमा आवेदन आह्वान

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्यसम्बन्धी परिषद् तथा महत्वपूर्ण राष्ट्रिय स्वास्थ्य निकायहरूमा रिक्त रहेका पदाधिकारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै विभिन्न परिषद् तथा स्वास्थ्य संस्थाहरूमा नेतृत्व तहका रिक्त पदमा योग्य उम्मेदवारहरूबाट दरखास्त माग गरेको हो।

मन्त्रालयका अनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य तथा सदस्य–सचिव, र नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार पदका लागि आवेदन खुलाइएको छ।

त्यसैगरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा पनि अध्यक्ष तथा रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको मन्त्रालयले जनाएको छ।

यसैगरी स्वास्थ्य क्षेत्रका दुई प्रमुख संस्थाहरू शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशक तथा स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक पदका लागि पनि मन्त्रालयले इच्छुक तथा योग्य उम्मेदवारहरूलाई दरखास्त पेस गर्न आग्रह गरेको छ।

Read More

वीर अस्पतालद्वारा २४ घण्टा ड्युटी गरेका आवासीय चिकित्सकलाई अनिवार्य छुट्टी दिने परिपत्र

काठमाडौँ ।  वीर अस्पतालले २४ घण्टा लगातार ड्युटी गरेका आवासीय चिकित्सकलाई बिहानको वार्ड राउन्ड सकिएपछि अनिवार्य रूपमा छुट्टी दिनुपर्ने व्यवस्था गर्दै परिपत्र जारी गरेको छ।

अस्पताल प्रशासनले आज जारी गरेको परिपत्रमार्फत रेजिडेन्ट चिकित्सकहरूको कार्य समयलाई व्यवस्थित गर्दै बिहानको वार्ड राउन्डपछि उनीहरूलाई अनिवार्य विश्राम दिन निर्देशन दिएको हो।

यसअघि प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक)हरूले नेपालको श्रम ऐन, २०७४ अनुसार दैनिक अधिकतम १२ घण्टा र हप्तामा ७२ घण्टाभन्दा बढी काम गराउन नपाइने तथा हप्तामा एक दिन अनिवार्य बिदा दिनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका थिए।

उनीहरूले हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइएमा श्रम ऐनअनुसार अतिरिक्त समय (ओभरटाइम) भत्ता उपलब्ध गराइनुपर्ने मागसमेत राख्दै आएका छन्।

Read More

स्वास्थ्य बिमा पुनर्संरचनाका लागि रास्वपाले  मन्त्री मेहतालाई मार्गचित्र

काठमाडौँ ।  स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वास्थ्य बिमा पुनर्संरचनासम्बन्धी मार्गचित्र हस्तान्तरण गरेको छ।

शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा रास्वपा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा. तोसिमा कार्कीले मन्त्री मेहतालाई उक्त मार्गचित्र बुझाएकी हुन्। मार्गचित्र बुझ्दै मन्त्री मेहताले रास्वपाको बाचापत्रमा उल्लेख गरिएअनुसार स्वास्थ्य बिमा कार्यक्रमलाई पुनर्संरचना गरिने जानकारी दिइन्।

डा. कार्कीका अनुसार रास्वपाको गत फागुनमा सम्पन्न महाधिवेशनबाट पारित बाचापत्रमा समेटिएका प्रतिबद्धताअनुसार स्वास्थ्य बिमा कार्यक्रमको सुधार र पुनर्संरचनाका लागि मार्गचित्र तयार गरिएको हो।

उनले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य बिमा कार्यक्रमलाई व्यापक रूपमा पुनर्संरचना गर्ने प्रतिबद्धता समेटिएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मार्गचित्र मन्त्रीलाई बुझाइएको बताइन्।

डा. कार्कीले स्वास्थ्य बिमा ऐनका केही महत्त्वपूर्ण प्रावधान संशोधन गरी कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइन्। स्वास्थ्य बिमा कार्यक्रमलाई सफल, सबल, सुदृढ र नागरिकमैत्री बनाउन रास्वपा प्रतिबद्ध रहेको उनको भनाइ थियो।

रास्वपाले स्वास्थ्य बिमाको वर्तमान अवस्था, देखिएका समस्या, आवश्यक सुधार, स्रोत व्यवस्थापन तथा विभिन्न सरोकारवालासँगको परामर्श र अध्ययनपछि स्वास्थ्य बिमा पुनर्संरचनाका लागि उक्त मार्गचित्र तयार गरेको जनाएको छ।

Read More

उमेर घटाउने प्रविधिको पहिलो मानव परीक्षण शुरु

काठमाडौँ । चिकित्सा विज्ञानको सबैभन्दा महत्वाकांक्षी लक्ष्यमध्ये एक मानिएको बुढ्यौलीको प्रभाव उल्ट्याउने उपचार प्रविधिको पहिलो मानव परीक्षण सुरु भएको छ । पहिलो पटक उमेर बढ्दै जाँदा शरीरमा पर्ने असरलाई कम गर्ने उद्देश्यले विकसित गरिएको विशेष सुई एक व्यक्तिमा प्रयोग गरिएको छ ।

अमेरिकाको बोस्टनस्थित जैविक प्रविधि कम्पनी ‘लाइफ बायोसाइन्सेज’ले आफ्नो पहिलो बिरामीलाई कोशिका पुनःकार्यक्रमीकरण प्रविधिमा आधारित सुई दिइएको जनाएको छ । परीक्षणअन्तर्गत कालो मोतियाबाट पीडित एक बिरामीको एउटा आँखामा उक्त सुई प्रयोग गरिएको हो ।

यस परीक्षणको मुख्य उद्देश्य उमेर बढ्दै जाँदा कमजोर भएका कोशिकाहरूलाई पुनः सक्रिय र युवा अवस्थाजस्तै बनाउनु रहेको छ । वैज्ञानिकहरूले आगामी ६ महिनासम्म यसको प्रभाव तथा सम्भावित दुष्प्रभावबारे निगरानी गर्नेछन् ।

चिकित्सक र अनुसन्धानकर्ताहरूले अब बिरामीको स्वास्थ्य अवस्थामाथि निरन्तर सूक्ष्म अध्ययन गर्नेछन्, जसबाट यो प्रविधि मानव शरीरका लागि सुरक्षित छ वा छैन भन्ने पुष्टि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उपचार प्रक्रियाअन्तर्गत सबैभन्दा पहिले बिरामीको आँखामा एकपटक मात्र दिइने जीन उपचारसम्बन्धी सुई लगाइएको छ। त्यसपछि केही सातासम्म विशेष प्रकारका जीवाणुनाशक औषधिको सेवन गराइनेछ ।

यी औषधिले शरीरभित्र पुगेर उपचारमा प्रयोग गरिएका तीनवटा जीनलाई सक्रिय बनाउने काम गर्नेछन् । ती जीन सक्रिय भएपछि कोशिकाहरूलाई पुनः युवा अवस्थातर्फ फर्काउने प्रक्रिया सुरु हुने बताइएको छ । यसअघि मुसा र बाँदरमा गरिएको परीक्षणमा यो प्रविधिले दृष्टि क्षमतामा उल्लेखनीय सुधार ल्याएको थियो ।

मानव परीक्षणका लागि आँखालाई छनोट गर्नुको कारण शरीरका अन्य अङ्गको तुलनामा आँखालाई अलग र सुरक्षित रूपमा अध्ययन गर्न सकिने भएकाले हो। यसले सम्भावित दुष्प्रभावको निगरानी गर्न पनि सहज बनाउँछ ।

लाइफ बायोसाइन्सेजका प्रमुख कार्यकारी अधिकृत जेरी म्याकलफलिनले यो उपलब्धि केवल आफ्नो कम्पनी वा बुढ्यौलीसम्बन्धी जीवविज्ञानका लागि मात्र नभई सम्पूर्ण चिकित्सा विज्ञानका लागि सम्भावित रूपमा ऐतिहासिक र परिवर्तनकारी क्षण भएको बताएका छन् ।

यदि यो क्लिनिकल परीक्षण सफल भयो भने बुढ्यौलीसम्बन्धी उपचार क्षेत्रमा नयाँ युगको सुरुआत हुन सक्ने विश्वास गरिएको छ । यसको दीर्घकालीन लक्ष्य शरीरका सबै कोशिकालाई पुनः सक्रिय र युवा बनाउनुका साथै उमेर बढ्दै जाँदा वंशाणु सामग्रीको कार्यप्रणालीमा हुने परिवर्तनलाई सुधार गर्नु रहेको छ ।

यस प्रविधिमा विश्वका ठूला लगानीकर्ताहरूले समेत चासो देखाएका छन्। अमेजनका संस्थापक जेफ बेजोस तथा ओपनएआईका प्रमुख स्याम अल्टम्यानसहित विभिन्न लगानीकर्ताले यस क्षेत्रमा लगानी गरेका छन् । साथै विश्वका प्रमुख औषधि उत्पादक कम्पनीहरूले पनि यस प्रविधिमा लगानी विस्तार गरिरहेका छन् ।

यसअघि मुसा र बाँदरसम्म सीमित रहेको अनुसन्धान अब मानव परीक्षणको चरणमा प्रवेश गरेको छ।

Read More

विश्व रक्तदाता दिवस मनाइदै

काठमाडौं । आज विश्व रक्तदाता दिवस । आज विश्वभर ‘मानवताको एक थोपा, रक्तदान गर्नुहोस्, जीवन बचाउनुहोस्’ भन्ने नाराका साथ यो दिवस मनाइदैछ । 

सुरक्षित रगत र रक्ततत्वको आवश्यकता प्रति सचेतना जगाउन र जीवन रक्षक रगत उपहार दिएकोमा रक्तदाताहरुलाई धन्यवाद दिन हरेक वर्ष जुन १४ तारिखमा यो दिवस मनाउने गरिएको छ । 

नेपालमा दैनिक ५ सय युनिट होल ब्लड र १ सय युनिट रक्ततत्व आवश्यक पर्ने भएपनि नियमीत रक्तदान कार्यक्रम नहुँदा माग र आपूर्तिमा सन्तुलन आउन सकेको छैन ।

नेपालमा १ हजार जनामा ४ जनाले मात्रै रक्तदान गर्ने गरेको आँकडा छ । नेपालमा पुरुष रक्तदाता ८६. १ र महिला १३. ९ प्रतिशत रहेका एक तथ्यांकले देखाएको छ । पछिल्लो समय रक्तदान गर्नेको संख्या बढेपनि केन्द्रिय रक्तसन्चार केन्द्रले सहयोग र समन्वय नगरेको स्वयंसेवी रक्तदाताले गुनासो गरेका छन् । 

रक्तदान गर्नुपर्छ भन्ने सचेतना बढ्दै गएपनि रगतको सहज आपूर्ति हुन नसकेको, रगत किनबेच हुने गरेको र भनसुनको भरमा रगत पाउनुपर्ने अवस्थाको अन्त्य हुन नसकेको गुनासो छ ।

Read More

कावासोतीको हेगौलीमा बंगुरको मासु खादा १६ जना अस्वस्थ

काठमाडौँ । नवलपरासी पूर्वको कावासोती नगरपालिका–१४ हेगौलीमा बंगुरको मासु खादा १६ जनामा ज्वरो आउने, बान्ता हुने र पखाला लाग्ने समस्या देखिएको छ ।

अस्वस्थ भएका सबैलाई स्थानीय प्रहरीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा भर्ना गरिएको प्रहरीले जनाएको छ । अस्पतालमा उनीहरूको उपचार भइरहेको र स्वास्थ्य अवस्था निगरानीमा राखिएको जनाइएको छ ।

हेगौलीका १०५ घरधुरीका स्थानीयले जेठ २३ गते बंगुर काटेर सामूहिक भोज खाएको प्रहरीले जानकारी दिएको छ ।

Read More

पूर्वी कङ्गोमा इबोला प्रकोप तीव्र, मृतक संख्या १०० नाघ्यो

काठमाडौँ । पूर्वी कङ्गोमा इबोला भाइरसको प्रकोप घोषणा भएको एक महिनाभन्दा कम अवधिमै मृतक संख्या १०० नाघेको छ। स्वास्थ्य अधिकारीहरूले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सङ्क्रमण तीव्र रूपमा फैलिरहेको देखिएको छ भने वास्तविक प्रभावितको संख्या अझै बढी हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।

स्थानीय स्वास्थ्य निकायका अनुसार आइतबारसम्म ५५० जनामा इबोला सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये १०१ जनाको मृत्यु भएको छ भने १९ जना उपचारपछि निको भएका छन्। यो तथ्याङ्क सोमबार सार्वजनिक गरिएको पछिल्लो अवस्था प्रतिवेदनमा उल्लेख गरिएको हो।

अधिकारीहरूका अनुसार रोग फैलिन थालेको केही सातापछि मात्रै प्रकोपको औपचारिक पुष्टि भएकाले नियन्त्रण तथा रोकथामका प्रयासमा थप जटिलता उत्पन्न भएको छ। प्रारम्भिक चरणमै प्रभावकारी निगरानी र हस्तक्षेप हुन नसक्दा सङ्क्रमण विस्तार हुन पुगेको बताइएको छ।

प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरूले स्थानीय बासिन्दाबाट विरोध र आक्रोशपूर्ण प्रतिक्रिया सामना गर्नुपरेको छ। साथै स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना र विभिन्न सशस्त्र समूहको सक्रियताले नियन्त्रण अभियानलाई गम्भीर चुनौती दिएको अधिकारीहरूको भनाइ छ। जनविश्वासको कमीका कारण परीक्षण, उपचार तथा सम्पर्क पहिचान (कन्ट्याक्ट ट्रेसिङ) सम्बन्धी कार्यसमेत प्रभावित बनेको छ।

स्वास्थ्य विज्ञहरूले आधिकारिक तथ्याङ्कले वास्तविक अवस्थाको पूर्ण चित्रण नगर्न सक्ने चेतावनी दिएका छन्। दुर्गम क्षेत्र, कमजोर स्वास्थ्य पहुँच र असुरक्षित सुरक्षा अवस्थाका कारण धेरै सङ्क्रमित व्यक्ति पहिचानबाहिर रहेको आशङ्का गरिएको छ। यसले महामारी थप फैलिने जोखिम बढाएको विज्ञहरूको भनाइ छ।

यसपटकको प्रकोप दुर्लभ ‘बुन्डिबुग्यो’ प्रकारको इबोला भाइरसका कारण फैलिएको हो। यो प्रकार कङ्गोमा विगतमा बढी देखिने ‘जाइर’ प्रकारभन्दा फरक रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। जाइर प्रकारका लागि खोप तथा उपचार उपलब्ध भए पनि बुन्डिबुग्यो प्रकारविरुद्ध हालसम्म कुनै स्वीकृत खोप वा विशेष उपचार विकसित भइसकेको छैन।

विश्लेषकहरूका अनुसार लामो समयदेखि जारी सशस्त्र द्वन्द्व, कमजोर स्वास्थ्य पूर्वाधार र सरकारी निकायप्रतिको सीमित जनविश्वासका कारण कङ्गोमा इबोला नियन्त्रण अभियान बारम्बार चुनौतीपूर्ण बन्दै आएको छ। वर्तमान प्रकोपमा पनि यिनै कारणहरूले नियन्त्रण प्रयासलाई गम्भीर रूपमा प्रभावित गरिरहेको देखिएको छ।

Read More