२०८३ भाद्र ३१

सुनचाँदीको मूल्य लगातार घट्दै, आज पनि तोलामा गिरावट

काठमाडौं। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। लगातार दोस्रो दिन गिरावट आउँदा सुन तथा चाँदी दुवैको दरमा उल्लेखनीय कमी देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घटेर २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि १०५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो मंगलबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ र चाँदी ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो। सोमबार भने सुन २ लाख ८८ हजार ७०० रुपैयाँ र चाँदी ४ हजार ७३० रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ६४ अमेरिकी डलर र चाँदी ६१ अमेरिकी डलरमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

११ महिनामा १० हजारभन्दा बढी विद्युतीय सवारी आयात, कारोबार २५ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण निरन्तर बढ्दै गएको देखिएको छ। चालु आर्थिक वर्षको पहिलो ११ महिनामा मात्रै २५ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी मूल्यका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्।

भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि जेठ मसान्तसम्मको अवधिमा विभिन्न क्षमताका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका हुन्। आयात भएका सवारीसाधनहरू ५० किलोवाट क्षमतादेखि २०१ किलोवाटसम्मका रहेका छन्।

उक्त अवधिमा ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय सवारीसाधन आयात भएका छन्। यी सवारीसाधनको कुल मूल्य पाँच अर्ब ६५ करोड रुपैयाँ रहेको विभागले जनाएको छ।

त्यस्तै, सबैभन्दा बढी आयात ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका विद्युतीय सवारीसाधनको भएको छ। यस श्रेणीका छ हजार ३५७ वटा सवारीसाधन नेपाल भित्रिएका छन्, जसको कुल मूल्य १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबर रहेको छ।

विद्युतीय सवारीसाधनमा बढ्दो आकर्षण, पेट्रोलियम इन्धनको विकल्प खोज्ने प्रवृत्ति तथा सरकारी प्रोत्साहनात्मक नीतिका कारण पछिल्ला वर्षहरूमा नेपालमा ईभी बजार तीव्र रूपमा विस्तार हुँदै गएको छ। यसले वातावरणमैत्री यातायात प्रणालीको विकाससँगै ऊर्जा खपतको ढाँचामा समेत सकारात्मक परिवर्तन ल्याइरहेको सरोकारवालाहरूको भनाइ छ।

Read More

२४ घण्टामा २ हजार ५५० सवारीचालक कारबाहीमा, १७ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं। काठमाडौं उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ५५० जना सवारीचालकलाई पछिल्लो २४ घण्टाभित्र ट्राफिक प्रहरीले कारबाही गरेको छ। उक्त कारबाहीबाट राज्यकोषमा १७ लाख २४ हजार ५०३ रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी कारबाही विभिन्न सवारी नियम उल्लङ्घन गर्ने चालकहरूमाथि गरिएको हो। मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०२ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १४२ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १४० जना तथा तीव्र गतिमा सवारी चलाउने २०७ जनालाई कारबाही गरिएको छ।

त्यस्तै, लेन अनुशासन पालना नगर्ने ५६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०८ जना, तोकिएको मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १४ वटा सवारीसाधन तथा प्राविधिक अवस्था परीक्षण नगरी सडकमा सञ्चालन गरिएका ३५ वटा सवारीसाधनमाथि पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

यस बाहेक अन्य विभिन्न प्रकारका सवारी नियम उल्लङ्घन गर्ने एक हजार ७४६ जना चालकलाई समेत कानुनी दायरामा ल्याइएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि नियमित अनुगमन र कारबाही अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ। साथै सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र सुरक्षित यात्रामा सहयोग पुर्‍याउन आग्रह गरेको छ।

Read More

स्पेनी बजारमा नेपाली उत्पादन प्रवर्द्धन गर्न व्यवसायीको जोड

काठमाडौं । नेपाल र स्पेनबीच व्यापार तथा लगानी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित म्याड्रिडमा आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ मा नेपाली उत्पादनका सम्भावना र व्यावसायिक सहकार्यका अवसरबारे व्यापक छलफल गरिएको छ।

कार्यक्रममा सहभागी नेपाल र स्पेनका उद्योगी तथा व्यवसायीहरूले दुई देशका निजी क्षेत्रबीच प्रत्यक्ष सहकार्य बढाउन सके व्यापार विस्तारका नयाँ अवसर सिर्जना हुने धारणा व्यक्त गरेका छन्। विशेषगरी नेपाली वस्त्र, हस्तकला तथा प्राकृतिक रेसामा आधारित उत्पादनलाई स्पेनी बजारमा प्रवर्द्धन गर्न सकिने विषयमा जोड दिइएको थियो।

स्पेन उद्योग तथा वाणिज्य मण्डलका अन्तरराष्ट्रिय सम्बन्ध उपनिर्देशक लुइस रोड्रिग्वेजले स्पेनका उपभोक्ताहरू मौलिक र विशिष्ट अन्तर्राष्ट्रिय उत्पादनप्रति आकर्षित भइरहेको उल्लेख गर्दै नेपाली उत्पादनका लागि पनि पर्याप्त सम्भावना रहेको बताए। उनले व्यवसाय–व्यवसायबीच प्रत्यक्ष साझेदारी विस्तार गर्न सके द्विपक्षीय व्यापार अझ मजबुत बन्ने विश्वास व्यक्त गरे।

नेपाल निर्यात व्यवसायी महासङ्घका अध्यक्ष गोविन्द घिमिरे तथा उपाध्यक्ष देवनन्द सरावगीले च्याङ्ग्रा र हिमाली भेडाको ऊन, भाङ तथा सिस्नोजस्ता प्राकृतिक स्रोतबाट निर्मित नेपाली वस्त्र र गहनाको अन्तर्राष्ट्रिय बजारमा बढ्दो मागबारे जानकारी गराए। उनीहरूले हस्तनिर्मित चाँदीका गरगहना तथा परम्परागत आभूषणले विशेष बजारमा राम्रो पहिचान बनाइरहेको बताए।

त्यसैगरी, नेपाल व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवीनराज शर्माले स्पेनसँगको वस्त्र व्यापारसम्बन्धी तथ्याङ्क प्रस्तुत गर्दै नेपाली तयारी पोसाक र वस्त्रजन्य उत्पादनको निर्यात विस्तारका सम्भावनाबारे प्रकाश पारे। उनले नेपाली उत्पादनको गुणस्तर र मौलिकताले स्पेनी उपभोक्तालाई आकर्षित गर्न सक्ने बताए।

नेपाल गार्मेन्ट सङ्घका अध्यक्ष पशुपति देव पाण्डेले उद्योग क्षेत्रमा भएका नीतिगत सुधारका कारण नेपाली तयारी पोसाक उद्योग थप प्रतिस्पर्धी बन्दै गएको उल्लेख गरे। उनले अन्तर्राष्ट्रिय बजार विस्तारका लागि विदेशी साझेदारसँगको सहकार्य अपरिहार्य रहेको बताए।

फोरमको उद्घाटन गर्दै कार्यवाहक राजदूत पुरक अधिकारीले नेपालमा उपलब्ध लगानीका अवसर, स्वदेशी सीप र प्रविधिमा आधारित उद्योग तथा नैतिक रूपमा प्राप्त कच्चा पदार्थ प्रयोग गर्ने उत्पादनबारे जानकारी गराएका थिए। उनले नेपाल–स्पेन आर्थिक सम्बन्धलाई थप गतिशील बनाउन यस्ता कार्यक्रम उपयोगी हुने धारणा व्यक्त गरे।

म्याड्रिडस्थित नेपाली दूतावासद्वारा आयोजित फोरममा दुवै देशका सरकारी अधिकारी, लगानीकर्ता, उद्योगी, व्यवसायी तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रम प्रश्नोत्तर तथा नेटवर्किङ सत्रसँगै सम्पन्न भएको दूतावासले जनाएको छ।

Read More

काँकरभिट्टामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन, सीमा सुरक्षा र भन्सार निगरानीमा सुधारको अपेक्षा

काठमाडौं । पूर्वी सीमा नाका काँकरभिट्टामा यात्रु तथा मालवस्तुको चेकजाँचलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालनमा आएको छ ।

सोमबारदेखि सञ्चालनमा आएको उक्त एकाइमा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्मका सुरक्षाकर्मीले एउटै स्थानबाट संयुक्त रूपमा यात्रुका सामानको परीक्षण गर्ने व्यवस्था पुनः सुरु गरेका हुन् ।

योसँगै सीमा सुरक्षा, भन्सार निगरानी तथा यात्रु सेवामा समन्वयात्मक सुधार हुने अपेक्षा गरिएको छ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेपछि बन्द भएको यो एकाइ झण्डै १० महिनापछि पुनः सञ्चालनमा आएको हो ।

मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टा नाका भारतको पश्चिम बङ्गाल राज्यअन्तर्गत दार्जिलिङ जिल्लाको पानीट्याङ्कीसँग जोडिएको नेपालको व्यस्त अन्तरराष्ट्रिय प्रवेशद्वार हो । यस नाकाबाट दैनिक हजारौँ यात्रु आवतजावत हुने तथा ठूलो परिमाणमा मालवस्तु ओसारपसार हुने भएकाले प्रभावकारी जाँच प्रणालीको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको थियो ।

यसअघि मेची भन्सार कार्यालय परिसरमा अत्याधुनिक ‘एक्स–रे’ मेसिनसहित एकद्वार भन्सार जाँच प्रणाली सञ्चालनमा थियो । भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीले एउटै स्थानबाट संयुक्त रूपमा निगरानी गर्दा चोरी–तस्करी नियन्त्रणमा सहयोग पुग्नुका साथै यात्रुहरूले सहज सेवा पाउँदै आएका थिए ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा संरचनामा आगजनी भएपछि जाँच प्रणाली प्रभावित भएको थियो । भवन तथा उपकरणमा क्षति पुगेपछि सम्बन्धित निकायले छुट्टाछुट्टै स्थानबाट चेकजाँच गर्दै आएका थिए, जसले यात्रुलाई पटक–पटक सामान देखाउनुपर्ने अवस्था सिर्जना गर्नुका साथै समन्वयमा चुनौती उत्पन्न गरेको थियो ।

उक्त एकाइ सञ्चालनमा आएको अवसरमा मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपाने, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक निशेष चापागाईं तथा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकरभिट्टाका गणपति सशस्त्र प्रहरी उपरीक्षक विकास थापाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

हाल जाँचस्थलमा ‘एक्स–रे’ मेसिन भने जडान गरिएको छैन । सम्बन्धित निकायले आवश्यक प्रक्रिया पूरा गरी छिट्टै पुनः मेसिन सञ्चालनमा ल्याउने जानकारी दिएका छन् ।

सीमानाकामा एकीकृत जाँच प्रणाली पुनः सुरु भएपछि भन्सार छली, मूल्याङ्कन तथा अवैध ओसारपसार नियन्त्रणमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ । एउटै स्थानमा प्रक्रिया पूरा गर्न सकिने भएपछि समयको बचत हुनुका साथै प्रशासनिक झन्झटसमेत घट्ने मेची भन्सार प्रमुख न्यौपानेको भनाइ छ ।

Read More

हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ५८ करोडको बजेट प्रस्तुत, पूर्वाधार र सामाजिक क्षेत्रमा उच्च प्राथमिकता

काठमाडौँ । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २ अर्ब ५८ करोड ५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

उपमहानगरको १९औं नगरसभामा उपप्रमुख राजेश बानियाँले प्रस्तुत गरेको बजेटमा आन्तरिक स्रोत, राजस्व बाँडफाँट तथा संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदानलाई प्रमुख आधार बनाइएको छ।

बजेट संरचना अनुसार आन्तरिक स्रोतबाट ५७ करोड ३६ लाख ८० हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ९१ करोड २० लाख ४८ हजार रुपैयाँ, प्रदेश सरकारबाट १० करोड १ लाख ७२ हजार रुपैयाँ तथा संघीय सरकारबाट १ अर्ब १८ करोड ४६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

क्षेत्रगत विनियोजन

उपमहानगरपालिकाले आगामी वर्षका लागि विभिन्न क्षेत्रहरूमा बजेट विनियोजन गरेको छ। पूर्वाधार विकासतर्फ ६७ करोड १९ लाख रुपैयाँ छुट्याइएको छ भने वडास्तरीय योजना तथा कार्यक्रमका लागि ४८ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै आर्थिक विकास क्षेत्रमा १० करोड ३६ लाख रुपैयाँ, सामाजिक विकासमा ८४ करोड १५ लाख रुपैयाँ, जनस्वास्थ्य क्षेत्रमा १ करोड ४० लाख रुपैयाँ र युवा तथा खेलकुद क्षेत्रमा पनि १ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।

नगरसभामा प्रस्तुत बजेटले आगामी वर्षका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक वित्तीय आधार तयार गर्ने लक्ष्य राखिएको उपमहानगरपालिकाले जनाएको छ।

Read More

सुनचाँदीको मूल्यमा गिरावट, तोलामा सुन १,६०० र चाँदी १४० रुपैयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले घट्दै २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन तोलामा २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी तोलामा १४० रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलामा ४ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो।

Read More

स्पेसएक्सको सेयर गिरावटले एलन मस्कको सम्पत्तिमा ठूलो धक्का, एकै दिन १५२ अर्ब डलर क्षति

काठमाडौं । स्पेसएक्ससँग जोडिएको सेयर मूल्यमा आएको तीव्र गिरावटले विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्तिमा ठूलो प्रभाव पारेको छ। यसअघि कम्पनीको आईपीओ र सेयर वृद्धिले उनलाई खरबपतिबाट नयाँ उचाइमा पुर्‍याएको भए पनि पछिल्लो गिरावटले उनको सम्पत्तिमा उल्लेखनीय कमी आएको हो।

सोमबार मात्र स्पेसएक्सको सेयर मूल्य १६.४३ प्रतिशतले घट्दै १५४.६० डलरमा बन्द भयो। मस्कसँग करिब ४.७६ अर्ब स्पेसएक्स सेयर रहेको अनुमान गरिन्छ। यही गिरावटका कारण उनको व्यक्तिगत सम्पत्तिमा करिब १५२ अर्ब डलर बराबरको कमी आएको बताइएको छ, जुन वारेन बफेटले आफ्नो जीवनभर आर्जन गरेको अनुमानित सम्पत्तिभन्दा पनि बढी हो।

स्पेसएक्ससँगै सोमबार विश्वका अन्य प्रमुख अर्बपतिहरूको सम्पत्तिमा पनि गिरावट देखिएको छ। ल्यारी पेज, सर्गेइ ब्रिन, जेफ बेजोस, ल्यारी एलिसन, मार्क जुकरबर्ग र बर्नार्ड आर्नोल्ट लगायतका अर्बपतिहरूको सम्पत्तिमा उनीहरूको कम्पनीहरूको सेयर मूल्य घटेसँगै असर परेको हो।

हालको गिरावटपछि पनि एलन मस्कको कुल सम्पत्ति करिब १.०८ ट्रिलियन डलर रहेको अनुमान छ, जसका कारण उनी अझै पनि विश्वकै शीर्ष धनी व्यक्तिमा कायम छन्। ब्लूमबर्ग अर्बपति सूचकांक अनुसार, दोस्रो स्थानमा रहेका ल्यारी पेजको सम्पत्ति मस्कको तुलनामा निकै कम छ।

यद्यपि विश्लेषकहरूका अनुसार स्पेसएक्सको सेयर मूल्यमा थप गिरावट जारी रहेमा मस्कको सम्पत्ति ट्रिलियन डलर स्तरबाट तल झर्न सक्ने सम्भावना पनि नकार्न सकिँदैन।

मस्कको हालको सम्पत्ति केही देशहरूको कुल अर्थतन्त्रभन्दा पनि ठूलो रहेको विभिन्न वित्तीय विश्लेषणहरूले देखाएका छन्। उनकाे सम्पत्ति ताइवान, आयरल्याण्ड, बेल्जियम, स्वीडेन, इजरायल र अर्जेन्टिना जस्ता मुलुकहरूको जीडीपीभन्दा बढी रहेको बताइन्छ।

भारतको करिब ४.१५ ट्रिलियन डलर जीडीपीसँग तुलना गर्दा मस्कको सम्पत्ति त्यसको झण्डै एक–चौथाइ बराबर पर्छ।

विश्वमा १ ट्रिलियन डलरभन्दा बढी जीडीपी भएका देशहरूको संख्या सीमित मात्र छ, जसले मस्कको व्यक्तिगत सम्पत्तिको आकारलाई अझै उल्लेखनीय बनाउँछ।

पाकिस्तानको करिब ४०० अर्ब डलर अर्थतन्त्रसँग तुलना गर्दा मस्कको सम्पत्ति त्यसको झण्डै दुई गुणाभन्दा बढी रहेको अनुमान गरिन्छ।

Read More

टीकापुर नगरपालिकाले लक्ष्यभन्दा अघि नै राजस्व सङ्कलन पूरा, पर्यटन शुल्क प्रमुख स्रोत

काठमाडौँ । कैलालीको टीकापुर नगरपालिकाले चालु आर्थिक वर्षको आन्तरिक राजस्व सङ्कलन लक्ष्य एक महिना अगावै पूरा गरेको छ।

नगरपालिकाले चालु आर्थिक वर्षका लागि ८ करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा जेठ महिनामै उक्त लक्ष्य पूरा गरेको हो। राजस्व शाखा प्रमुख नन्द केसीका अनुसार चालु आवको ११ महिनासम्ममा कुल ८ करोड ६९ लाख २७ हजार ६९० रुपैयाँ राजस्व सङ्कलन भइसकेको छ। उनका अनुसार आर्थिक वर्षको अन्त्यसम्म यो रकम ९ करोड रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ।

प्रमुख राजस्व स्रोतहरू

नगरपालिकाको राजस्व संरचनामा सम्पत्ति कर र पर्यटन शुल्क प्रमुख रहेका छन्।

राजस्व शीर्षकसङ्कलित रकम
सम्पत्ति कररु ४,१२,३९,५२०
पर्यटन शुल्क (टीकापुर पार्क)रु १,३२,०२,८४०
अन्य स्रोतहरू (समग्र)बाँकी रकम

नगरपालिकाका अनुसार पर्यटन शुल्कबाट अहिलेसम्मकै उच्च राजस्व सङ्कलन भएको हो। टीकापुर पार्कमा प्रवेश शुल्क वृद्धि र पर्यटक आगमन बढेकाले यस शीर्षकबाट उल्लेख्य आम्दानी भएको बताइएको छ। जेठ महिनासम्म मात्रै दुई लाखभन्दा बढी पर्यटकले पार्कको अवलोकन गरेका छन्।

भाडा बक्यौता र विवाद

नगरपालिकाको सरकारी सम्पत्तिबाट हुने आम्दानी भने अपेक्षाअनुसार उठ्न सकेको छैन। विशेषगरी सपिङ कम्प्लेक्सका सटर भाडाबाट मासिक लाखौँ रुपैयाँ उठ्नुपर्ने भए पनि जेठसम्म केवल २३ लाख २६ हजार ६६१ रुपैयाँ मात्र सङ्कलन भएको छ। करिब तीन करोड रुपैयाँ बक्यौता रहेको जनाइएको छ।

व्यापारी र नगरपालिकाबीच भाडा सम्बन्धी विवादका कारण धेरैले भाडा तिर्न छोडेको तथा सम्झौता नवीकरण हुन नसकेको अवस्था रहेको छ। हाल अधिकांश व्यापारी सम्झौता बिना नै सटरमा व्यवसाय सञ्चालन गरिरहेका छन्।

स्थानीय सरोकार र सुझाव

स्थानीयवासीका अनुसार करको दायरा विस्तार नगरी दर मात्र बढाएर लक्ष्य पूरा गर्नु दीर्घकालीन समाधान होइन। कर प्रणाली सुधार गरी नयाँ व्यवसाय दर्ता र नवीकरण प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने उनीहरूको सुझाव छ।

Read More

नवलपुरमा आर्थिक प्रतिष्ठानको विस्तार, कावासोतीमा सबैभन्दा बढी गणना

काठमाडौँ । आर्थिक गणनाको प्रारम्भिक तथ्याङ्कले नवलपुर जिल्लामा व्यवसायिक प्रतिष्ठानहरूको संख्या निरन्तर वृद्धि भइरहेको देखाएको छ।

प्राप्त तथ्याङ्कअनुसार स्थानीय तहगत रूपमा प्रतिष्ठानहरूको विवरण यसप्रकार छ:

स्थानीय तहप्रतिष्ठान संख्या
कावासोती नगरपालिका६,६२८
गैँडाकोट नगरपालिका४,८२२
देवचुली नगरपालिका३,६२१
मध्यविन्दु नगरपालिका३,००१
विनयी त्रिवेणी गाउँपालिका१,७७९
हुप्सेकोट गाउँपालिका१,१६६
बौदीकाली गाउँपालिका७८९
बुलिङटार गाउँपालिका५१५

२०७५ सालको आर्थिक गणनामा जिल्लाभर १२ हजार ७४५ प्रतिष्ठान रहेको तथ्याङ्कसँग तुलना गर्दा पछिल्लो अवधिमा उद्योग, व्यापार तथा सेवा क्षेत्र विस्तार भएको देखिन्छ। विशेषगरी पूर्व–पश्चिम राजमार्ग आसपासका सहरी तथा अर्धसहरी क्षेत्रमा होटल, व्यापार, निर्माण सामग्री, वित्तीय सेवा तथा अन्य व्यवसायिक गतिविधि वृद्धि भएकाले प्रतिष्ठानको संख्या बढेको सम्बन्धित अधिकारीहरूले बताएका छन्।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको आर्थिक गणनाको उद्देश्य देशभरका आर्थिक प्रतिष्ठानहरूको अवस्था, रोजगारी, लगानी, व्यवसायको प्रकृति तथा आर्थिक योगदान सम्बन्धी तथ्याङ्क संकलन गर्नु हो। प्राप्त विवरण नीति निर्माण, योजना तर्जुमा तथा विकास कार्यक्रमका लागि आधार बन्ने सहायक गणना अधिकारी रुद्र अधिकारीले बताए।

उनका अनुसार गणकहरूले फिल्ड कार्य सम्पन्न गरिसकेका छन् भने हाल तथ्याङ्कको रुजु गर्ने काम भइरहेको छ। असारको अन्त्यसम्म सम्पूर्ण प्रक्रिया पूरा गरी अन्तिम विवरण सार्वजनिक गरिने र प्रारम्भिक तथ्याङ्कमा ठूलो परिवर्तन नहुने अपेक्षा गरिएको उनले जानकारी दिए।

Read More