२०८३ भाद्र ३१

उपत्यकामा २४ घण्टामा २ हजार ६४१ चालक कारबाहीमा, २२ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ६४१ चालक ट्राफिक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु २२ लाख ९६ हजार ५०८ राजस्व संकलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७९ जना चालकलाई कारबाही गरिएको छ। त्यसैगरी, नियमविपरीत ‘राइड सेयरिङ’ सञ्चालन गर्ने १४७, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १५४ तथा तीव्र गतिमा सवारीसाधन चलाउने १२२ चालक पनि कारबाहीमा परेका छन्।

कार्यालयका अनुसार लेन अनुशासन उल्लङ्घन गर्ने ११९, निषेधित क्षेत्रमा हर्न बजाउने ११३, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ११९ तथा एकतर्फी सडकमा सवारी चलाउने १०० जनालाई समेत कारबाही गरिएको छ।

यसबाहेक विभिन्न प्रकारका अन्य सवारी नियम उल्लङ्घन गर्ने एक हजार ६८८ चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षालाई प्रभावकारी बनाउन नियमित अनुगमन, चेकजाँच तथा नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध कडाइका साथ कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ।

Read More

तमानखोलामा बाँझो जमिन उपयोग गर्दै स्याउखेतीको सुरुवात

काठमाडौँ । बागलुङको तमानखोला गाउँपालिकाले वर्षौंदेखि प्रयोगविहीन रहेको करिब २० रोपनी जमिनमा स्याउखेती सुरु गरेको छ। यसलाई स्थानीय आयआर्जन वृद्धि गर्ने नयाँ प्रयासका रूपमा लिइएको छ।

गाउँपालिका–४ अन्तर्गत गोर्दी र बहेली क्षेत्रमा करिब सात लाख रुपैयाँको लगानीमा १,५०० स्याउका बिरुवा रोपिएको हो। बिरुवाको संरक्षण, स्याहारसुसार र व्यवस्थापन सम्बन्धित वडामार्फत गरिने व्यवस्था मिलाइएको छ।

समुद्री सतहदेखि करिब २,५०० देखि ३,५०० मिटर उचाइमा रहेको उक्त क्षेत्रमा स्याउ उत्पादनको सम्भावना राम्रो हुने अपेक्षासहित परीक्षणका रूपमा खेती सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

उत्पादन राम्रो देखिएमा आगामी दिनमा खेती विस्तार गर्ने योजना रहेको जनाइएको छ। यसबाट स्थानीयको आयस्रोत बढ्नुका साथै क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ।

गाउँपालिकाले बाँझो जमिनको सदुपयोग गर्दै कृषि उत्पादन बढाउने उद्देश्यसहित यो कार्यक्रम अघि बढाएको हो।

Read More

सुन–चाँदीको मूल्यमा वृद्धि, बजारमा नयाँ दर सार्वजनिक

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको छ। यससँगै छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यही सुन २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

उपत्यकामा २४ घण्टामा २ हजारभन्दा बढी सवारी नियम उल्लङ्घन, १० लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ७६ सवारीचालक कारबाहीमा परेका छन्। ट्राफिक नियम उल्लङ्घनका विभिन्न घटनामा कारबाही गर्दै राज्यकोषमा १० लाख ५३ हजार ५१० रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरेका ८८ जना, नियम विपरीत राइड सेयरिङ सञ्चालन गर्ने ९३ जना, ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने ११७ जना र तीव्र गतिमा सवारी चलाउने २२८ जना रहेका छन्।

त्यसैगरी अनुशासन उल्लङ्घन गर्ने १२९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ५७ जना, सडक पेटीमा पार्किङ गर्ने ९० जना र एकतर्फी सडक नियम तोड्ने ८८ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १ हजार १८६ चालकसमेत कारबाहीको दायरामा आएका छन्।

Read More

आपूर्ति बढ्ने अपेक्षाबीच अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य घट्यो

काठमाडौं । मध्यपूर्वमा भू–राजनीतिक तनाव कायम रहे पनि अन्तर्राष्ट्रिय बजारमा सोमबार कच्चा तेलको मूल्यमा गिरावट आएको छ।

बजारमा आपूर्ति बढ्ने अपेक्षा र लगानीकर्ताको सतर्क व्यवहारका कारण ब्रेन्ट र डब्लूटीआई दुवै प्रकारका कच्चा तेलको मूल्य घटेको हो।

कारोबारका क्रममा ब्रेन्ट क्रुडको मूल्य १.६४ प्रतिशतले घटेर प्रतिब्यारेल ७९.२५ अमेरिकी डलरमा झरेको छ। सुरुआती कारोबारमा भने यसको मूल्य ८२.३० डलरसम्म पुगेको थियो।

त्यसैगरी, वेस्ट टेक्सास इन्टरमिडियट (डब्लूटीआई) क्रुडको मूल्य ०.४४ प्रतिशतले घट्दै प्रतिब्यारेल ७५.५२ डलरमा सीमित भएको छ।

यसैबीच, इरानले हर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेपछि विश्व ऊर्जा आपूर्तिमा चिन्ता बढेको छ। विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने उक्त मार्गमा अवरोध आउँदा आपूर्ति शृंखलामा दबाब पर्ने आशंका गरिएको छ।

अमेरिका–इरानबीचको अस्थायी शान्ति प्रयासअन्तर्गत भएको पछिल्लो वार्ता अपेक्षाअनुसार अघि नबढेको बताइएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी अधिकारीबीच छलफल भए पनि तनाव कायम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे सैन्य कारबाही पुनः गर्न सकिने चेतावनी दिएका छन्।

यद्यपि प्रमुख उत्पादक राष्ट्रहरूले उत्पादन वृद्धि गर्ने संकेत दिएपछि बजारमा आपूर्ति सहज हुने अपेक्षा बढेको छ। इराकसहित केही देशको उत्पादन विस्तार योजनाले समेत मूल्यमा दबाब पारेको विश्लेषण छ। पछिल्लो एक सातामा कच्चा तेलको मूल्य करिब ८ प्रतिशतले घटेको देखिएको छ।

Read More

नेपाल फेरि एफएटीएफको ग्रे लिस्टमा, सम्पत्ति शुद्धीकरण नियन्त्रणमा चिन्ता

काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय निगरानी निकाय फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई पुनः ग्रे लिस्टमा राखेको छ।

फ्रान्सको पेरिसमा आयोजित एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण र आतंकवादी लगानीको जोखिमयुक्त मुलुकको सूचीमा समावेश गर्ने निर्णय गरेको हो।

एफएटीएफ विश्वभर सम्पत्ति शुद्धीकरण र आतंकवादी गतिविधिमा हुने लगानी नियन्त्रणका लागि स्थापित अन्तरसरकारी निकाय हो। यसले जोखिमको अवस्थाअनुसार मुलुकहरूलाई ग्रे लिस्ट तथा ब्ल्याक लिस्टमा राख्दै आएको छ।

कुनै पनि मुलुकको अवस्था मूल्यांकन गर्दा एफएटीएफले प्रभावकारितासम्बन्धी ११ र प्राविधिकतर्फ ४० सूचकका आधारमा समीक्षा गर्ने गर्दछ।

यसअघि पनि नेपाल सन् २००८ मा एफएटीएफको ग्रे लिस्टमा परेको थियो। अहिले पुनः उक्त सूचीमा परेपछि नेपालको वित्तीय प्रणाली, अन्तर्राष्ट्रिय कारोबार तथा लगानी वातावरणमाथि थप निगरानी बढ्ने भएको छ।

Read More

बजारमा सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन तोलामा ६०० रुपैयाँ र चाँदी तोलामा ५० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ८७ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ भने सोही परिमाणको चाँदी ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार एक तोला सुन २ लाख ८६ हजार ७०० रुपैयाँमा र चाँदी ४ हजार ६४० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार १५५ अमेरिकी डलर र चाँदी ६४ अमेरिकी डलरमा कारोबार भइरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

Read More

खानेपानी तथा सरसफाइ विस्तारका लागि एडीबीको करिब १५ अर्ब रुपैयाँ सहुलियत ऋण स्वीकृत

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपालका नगरपालिकाहरूमा खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्न ठूलो मात्रामा सहुलियत ऋण स्वीकृत गरेको छ।

बैंकका अनुसार करिब ११ करोड ५० लाख अमेरिकी डलर (१५ अर्ब रुपैयाँभन्दा बढी) बराबरको उक्त ऋण एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि उपयोग गरिनेछ। परियोजना १३ जिल्लामा कार्यान्वयन हुने र करिब ८ लाख ५० हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

परियोजनाअन्तर्गत शहरी क्षेत्रमा सुरक्षित खानेपानी आपूर्ति विस्तार गर्नुका साथै ढल तथा फोहोरपानी व्यवस्थापन प्रणाली सुधार गर्ने योजना रहेको छ। नगरपालिकाहरूमा खानेपानी वितरण संरचना विस्तार, सरसफाइ सेवा सुदृढीकरण र ढल पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ।

एडीबीका नेपालस्थित कन्ट्री डाइरेक्टर आर्नो कोश्वाका अनुसार तीव्र शहरीकरणसँगै बढ्दो जनसंख्याले खानेपानी र सरसफाइ सेवामा दबाब सिर्जना गरेको अवस्थामा यो परियोजना महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

परियोजना कार्यान्वयनपछि सार्वजनिक स्वास्थ्य सुधार, वातावरणीय प्रदूषण न्यूनीकरण तथा दिगो शहरी विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास लिइएको छ।

Read More

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौं ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन १० हजार ५०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार घटेर प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३०५ रुपैयाँले घट्दै ४ हजार ६४० रुपैयाँमा झरेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।

Read More

उपत्यकामा २४ घण्टामा २,५५६ सवारीचालक कारबाहीमा

काठमाडौँ ।  उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको अभियोगमा २,५५६ जना सवारीचालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु २२ लाख ३९ हजार राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा परेकामध्ये १०६ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने, १५४ जना नियमविपरीत राइड सेयरिङ गर्ने, १०७ जना ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने तथा १८३ जना तीव्र गतिमा सवारी चलाउने रहेका छन्।

त्यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने ९७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०९ जना, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८ जना तथा यान्त्रिक अवस्था ठीक नभएका ३० जना सवारीचालक कारबाहीमा परेका छन्। अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १,६७२ जनालाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ।

Read More