२०८३ असार १२

तमानखोलामा बाँझो जमिन उपयोग गर्दै स्याउखेतीको सुरुवात

काठमाडौँ । बागलुङको तमानखोला गाउँपालिकाले वर्षौंदेखि प्रयोगविहीन रहेको करिब २० रोपनी जमिनमा स्याउखेती सुरु गरेको छ। यसलाई स्थानीय आयआर्जन वृद्धि गर्ने नयाँ प्रयासका रूपमा लिइएको छ।

गाउँपालिका–४ अन्तर्गत गोर्दी र बहेली क्षेत्रमा करिब सात लाख रुपैयाँको लगानीमा १,५०० स्याउका बिरुवा रोपिएको हो। बिरुवाको संरक्षण, स्याहारसुसार र व्यवस्थापन सम्बन्धित वडामार्फत गरिने व्यवस्था मिलाइएको छ।

समुद्री सतहदेखि करिब २,५०० देखि ३,५०० मिटर उचाइमा रहेको उक्त क्षेत्रमा स्याउ उत्पादनको सम्भावना राम्रो हुने अपेक्षासहित परीक्षणका रूपमा खेती सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

उत्पादन राम्रो देखिएमा आगामी दिनमा खेती विस्तार गर्ने योजना रहेको जनाइएको छ। यसबाट स्थानीयको आयस्रोत बढ्नुका साथै क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ।

गाउँपालिकाले बाँझो जमिनको सदुपयोग गर्दै कृषि उत्पादन बढाउने उद्देश्यसहित यो कार्यक्रम अघि बढाएको हो।