काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ६४१ चालक ट्राफिक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु २२ लाख ९६ हजार ५०८ राजस्व संकलन भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७९ जना चालकलाई कारबाही गरिएको छ। त्यसैगरी, नियमविपरीत ‘राइड सेयरिङ’ सञ्चालन गर्ने १४७, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १५४ तथा तीव्र गतिमा सवारीसाधन चलाउने १२२ चालक पनि कारबाहीमा परेका छन्।
कार्यालयका अनुसार लेन अनुशासन उल्लङ्घन गर्ने ११९, निषेधित क्षेत्रमा हर्न बजाउने ११३, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ११९ तथा एकतर्फी सडकमा सवारी चलाउने १०० जनालाई समेत कारबाही गरिएको छ।
यसबाहेक विभिन्न प्रकारका अन्य सवारी नियम उल्लङ्घन गर्ने एक हजार ६८८ चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षालाई प्रभावकारी बनाउन नियमित अनुगमन, चेकजाँच तथा नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध कडाइका साथ कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ।




