२०८३ भाद्र ३१

पूर्वी नेपालका चिया उद्योग ठप्प, भारतको निर्यात रोकपछि व्यापक बन्द

काठमाडौं । पूर्वी नेपालका चिया उद्योगहरू क्रमशः बन्द हुन थालेका छन्। भारतले नेपाली चिया निर्यातमा रोक लगाएपछि उद्योगहरू ठूलो संकटमा परेका हुन्।

१ असारदेखि इलाम का ५६ चिया उद्योग बन्द भइसकेका छन्। त्यसपछि आज (४ असार) देखि झापा का ३० भन्दा बढी चिया उद्योग र करिब दुई दर्जन चिया बगानहरू पूर्ण रूपमा बन्द भएका छन्।

चियाको प्रमुख उत्पादन क्षेत्र मानिने इलाम र झापामा उत्पादित चिया गोदाममै थन्किएको र सरकारी तहबाट कूटनीतिक पहल प्रभावकारी नभएको भन्दै व्यवसायीहरू उद्योग बन्द गर्न बाध्य भएको नेपाल चिया उत्पादक संघ ले जनाएको छ।

संघका अध्यक्ष आदित्य पराजुली का अनुसार भारतले लगाएको अवरोध हटाउन बारम्बार सरकारी निकायहरूमा पहल गर्दा पनि कुनै सुनुवाइ नभएपछि उद्योग बन्द गर्नुपर्ने अवस्था आएको हो।

यसैबीच, निर्यात अवरोधका कारण उत्पादन गोदाममै थन्किँदै जाँदा चिया उद्योग क्षेत्र गम्भीर संकटतर्फ उन्मुख भएको व्यवसायीहरूले बताएका छन्।

Read More

भारतीय नीतिगत अवरोधपछि झापाका सबै चिया उद्योग बिहीबारदेखि बन्द

काठमाडौं । भारतीय पक्षले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यात प्रभावित भएपछि झापाका सबै चिया उद्योग बिहीबारदेखि बन्द हुने भएका छन्। उद्योग बन्द हुँदा करिब ६० हजार कर्मचारी तथा मजदुरको रोजगारी प्रभावित हुने भएको छ।

नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष आदित्य पराजुलीका अनुसार मे १२ मा भारतीय चिया बोर्ड र वाणिज्य विभागको संयुक्त बैठकबाट लागू गरिएको एसओपीले चिया निर्यात प्रक्रियामा जटिलता थपेको छ। यसअघि नै इलामका ५३ वटा अर्थोडक्स चिया उद्योग असार १ गतेदेखि बन्द भइसकेका छन्।

संघले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको वार्षिक कारोबार १२ देखि १४ अर्ब रुपैयाँ रहेको र त्यसमध्ये करिब ५ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुने जानकारी दिइयो।

उद्योगीहरूका अनुसार नयाँ व्यवस्थाअनुसार निर्यात गरिएको चिया भारतीय गोदाममा राखेर नमुना परीक्षण गर्नुपर्ने हुन्छ। परीक्षण प्रतिवेदन आउन २०–२५ दिन लाग्ने भएकाले चिया थन्किने, गुणस्तरमा असर पर्ने तथा अतिरिक्त खर्च बढ्ने समस्या देखिएको छ। प्रतिवेदन प्रतिकूल आए चिया नष्ट गर्नुपर्ने प्रावधानले उद्योगी थप चिन्तित बनेका छन्।

भारतीय खरिदकर्ताले नेपाली चिया लिन छाडेपछि उद्योगहरूको गोदाममा चिया थुप्रिएको संघको भनाइ छ। यसले किसानलाई हरियो पत्तीको मूल्य, विद्युत् महसुल र भ्याट भुक्तानीमा समेत समस्या सिर्जना गरेको छ।

संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले सरकारले तत्काल पहल नगरे उद्योग पुनः सञ्चालन नगर्ने चेतावनी दिएका छन्। समस्या समाधानका लागि संघले जिल्ला प्रशासन कार्यालय झापामार्फत सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्रसमेत बुझाएको छ।

Read More

बजारमा सुन–चाँदीको मूल्य घट्यो, तोलामा उल्लेख्य गिरावट

काठमाडौं नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १,२०० रुपैयाँले घटेको हो।

नयाँ मूल्य अनुसार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिनको तुलनामा यो गिरावटले बजारमा हल्का उतारचढाव देखिएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा १० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ९८० रुपैयाँमा पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य परिवर्तन र आन्तरिक माग–आपूर्तिको अवस्थाले दैनिक दरमा प्रभाव पारिरहेको जनाएको छ।

Read More

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा गिरावट

काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ भने चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ। यो मूल्य सोमबारको तुलनामा तीन सय रुपैयाँले बढी हो। सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढे पनि चाँदी भने सस्तो भएको छ। सोमबार प्रतितोला पाँच हजार पन्ध्र रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर चार हजार नौ सय नब्बे रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मूल्यमा प्रतितोला २५ रुपैयाँको गिरावट आएको हो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार दरका आधारमा नेपाली बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको जनाएको छ।

Read More

भारतको अवरोधपछि नेपाली चिया निर्यात संकट गहिरिँदा इलामका उद्योग बन्द, सरकारको कूटनीतिक भूमिकाप्रति प्रश्न

काठमाडौं । भारतीय पक्षले गुणस्तर परीक्षणलगायत विभिन्न प्राविधिक कारण देखाउँदै नेपाली चिया निर्यातमा निरन्तर अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगहरू सोमबारदेखि पूर्ण रूपमा बन्द भएका छन्।

करिब डेढ महिनादेखि भारततर्फ चिया निकासी अवरुद्ध रहँदा उत्पादन बजारसम्म पुग्न नसकेको र गोदाममै थन्किएको चिया बिग्रने जोखिम बढेपछि उद्योग बन्द गर्न बाध्य भएको व्यवसायीहरूले बताएका छन्।

उद्योगीका अनुसार पहाडी क्षेत्रमा सञ्चालित अर्थोडक्स चिया उद्योगहरू आजदेखि नै बन्द गरिएका छन् भने तराईका सीटीसी चिया उद्योगहरू आगामी असार ४ गतेदेखि बन्द हुने नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले जानकारी दिएका छन्।

संघका तथ्यांकअनुसार इलाम मा वार्षिक करिब ६५ लाख किलो र झापा मा वार्षिक करिब २ करोड किलो चिया उत्पादन हुँदै आएको छ। तर, यी उत्पादनमध्ये करिब ९० प्रतिशत बजार भारतमा निर्भर रहेकाले निर्यात अवरुद्ध हुँदा उद्योग गम्भीर संकटमा परेका छन्।

उद्योगीहरूले सरकारबाट निर्यात सहजीकरणका लागि प्रभावकारी कूटनीतिक पहल नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूको भनाइमा, दीर्घकालीन रूपमा भारत–केन्द्रित बजार निर्भरता र वैकल्पिक बजार विकासमा कमजोरीले उद्योगलाई निरन्तर जोखिममा राखेको छ।

हालको अवस्था केवल व्यापारिक अवरोध मात्र नभई नेपालको चिया उद्योग संरचना, बजार निर्भरता र नीतिगत समन्वयको कमजोरी उजागर गर्ने गम्भीर संकेतका रूपमा विश्लेषण गरिएको छ।

Read More

अलैँची प्रवर्द्धनका लागि आठराई त्रिवेणीमा प्रदेशस्तरीय महोत्सव हुने

काठमाडौँ । अलैँची खेतीको प्रवर्द्धन तथा मूल्य शृङ्खला सुदृढीकरण गर्ने उद्देश्यसहित आठराई त्रिवेणी गाउँपालिका, ताप्लेजुङ, नेपाल मा आगामी असार १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सव आयोजना गरिने भएको छ।

महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ्बुहाङका अनुसार ताप्लेजुङमा पहिलोपटक यस स्तरको अलैँची महोत्सव आयोजना हुन लागेको हो। यस कार्यक्रमले स्थानीय स्तरमा उत्पादन हुने अलैँचीको पहिचान, गुणस्तर सुधार तथा बजार विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कृषि ज्ञान केन्द्र, ताप्लेजुङ र गाउँपालिकाको आर्थिक सहयोगमा आयोजना हुने उक्त महोत्सवमा अलैँचीका बिरुवा तथा उत्पादनहरूको प्रदर्शनी, अलैँचीबाट निर्मित खाद्य सामग्रीहरूको प्रदर्शन तथा उत्कृष्ट र कमजोर बगानहरूको अवलोकन तथा तुलनात्मक अध्ययनका गतिविधिहरू समावेश गरिने आयोजकले जनाएको छ।

त्यसैगरी महोत्सवअन्तर्गत अलैँची किसानहरूका लागि कार्यशाला, व्यवसायी, खरिदकर्ता र बिक्रेताबीच अन्तरक्रिया तथा आधुनिक खेती प्रणाली र बजार विस्तारका विषयमा विज्ञ टोलीसँग छलफल कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

ताप्लेजुङलाई अलैँचीको प्रमुख नगदेबाली उत्पादन क्षेत्रका रूपमा चिनिन्छ। जिल्लामा करिब ३ हजार ७ सय हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको तथ्याङ्कले देखाउँछ।

Read More

नेपालमा नवीकरणीय ऊर्जाको तीव्र विस्तार, पेट्रोलियम इन्धन प्रयोगमा उल्लेखनीय गिरावट

काठमाडौँ । नेपालमा ऊर्जा क्षेत्र तीव्र रूपमा नवीकरणीय स्रोततर्फ रूपान्तरण हुँदै गएको छ। पछिल्ला सरकारी तथ्याङ्कहरूले विद्युत् प्रयोग बढेसँगै पेट्रोलियम इन्धनको खपतमा करिब १० प्रतिशत कमी आएको देखाएको छ, जसले देशको ऊर्जा संरचनामा भइरहेको परिवर्तनलाई स्पष्ट बनाएको छ।

सरकारी आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार देशभर विद्युत् पहुँच करिब ९९.१ प्रतिशत जनसंख्यामा पुगेको छ।

जलविद्युत् मुख्य स्रोत, वैकल्पिक ऊर्जा विस्तार

नेपालको ऊर्जा उत्पादनमा जलविद्युत् प्रमुख आधारका रूपमा रहेको छ। यससँगै सौर्य ऊर्जा तथा जैविक ऊर्जालाई वैकल्पिक स्रोतका रूपमा विस्तार गरिँदै आएको छ।

हाल करिब ४ हजार ३०० मेगावाट जडित विद्युत् क्षमतामध्ये करिब १५० मेगावाट सौर्य ऊर्जाबाट उत्पादन भइरहेको छ।

नवीकरणीय ऊर्जा क्षेत्रमा अर्बौँ रुपैयाँ विनियोजन

आर्थिक वर्ष २०८३/०८४ का लागि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता क्षेत्रमा २ अर्ब ६२ करोड ७४ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसमध्ये १ अर्ब १९ करोड ७४ लाख रुपैयाँ आन्तरिक स्रोतबाट र १ अर्ब ४३ करोड रुपैयाँ वैदेशिक सहायताबाट व्यवस्था गरिएको छ।

यो बजेट नवीकरणीय ऊर्जा विस्तार, विद्युत् पहुँच वृद्धि, स्वच्छ खाना पकाउने प्रविधि प्रवर्द्धन, उत्पादन वृद्धि, फोहोरबाट ऊर्जा उत्पादन तथा साना तथा मझौला उद्यम प्रवर्द्धनमा केन्द्रित रहनेछ।

दुर्गम क्षेत्रमा अफग्रिड ऊर्जा विस्तार

दुर्गम तथा राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा सौर्य, वायु तथा लघु जलविद्युत् प्रणाली विस्तार गरी थप २.५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

हरित प्रविधि तथा पूर्वाधार विकास

हरित हाइड्रोजन, हरित अमोनिया तथा रासायनिक मल उत्पादनलाई प्रवर्द्धन गर्न कर तथा भन्सार छुट, सहुलियतपूर्ण विद्युत् दर तथा लगानीमैत्री नीति लागू गरिनेछ। यातायात क्षेत्रमा यसको प्रयोग विस्तार गर्न आवश्यक पूर्वाधार निर्माण सुरु गरिने योजना छ।

स्वच्छ खाना पकाउने प्रविधिमा प्राथमिकता

वातावरण तथा स्वास्थ्य संरक्षणलाई ध्यानमा राख्दै आगामी वर्ष करिब २ लाख ५० हजार घरधुरीमा विद्युतीय चुलो, बायोग्यास तथा सुधारिएको चुलो विस्तार गरिनेछ।

त्यसैगरी १० वटा संस्थागत तथा व्यावसायिक बायोग्यास प्लान्ट र ९ वटा फोहोरबाट ऊर्जा उत्पादन गर्ने ठूला परियोजना सञ्चालन गरिनेछ।

कृषि तथा उत्पादन क्षेत्रमा ऊर्जा प्रयोग विस्तार

ऊर्जा र उत्पादनशील क्षेत्रलाई जोड्दै २७ मेगावाट क्षमताको सौर्य छाना प्रणाली र १२० वटा सौर्य खानेपानी तथा सिँचाइ आयोजना निर्माण गरिनेछ।

व्यावसायिक क्षेत्रमा पेट्रोलियम ग्यासको प्रयोग घटाउन १ हजार संस्थागत तथा व्यापारिक क्षेत्रमा जैविक पेलेट चुलो प्रतिस्थापन गरिनेछ। साथै १० वटा सौर्य तापीय प्रणाली र ५०० किलोवाट क्षमताको कृषि आधारित सौर्य नमुना आयोजना सञ्चालन गरिनेछ।

ऊर्जा दक्षता र दीर्घकालीन योजना

ऊर्जा परीक्षण, दक्षता मापदण्ड निर्माण, नमुना विद्यालय स्थापना तथा जलवायु परिवर्तन न्यूनीकरण र कार्बन व्यापारसम्बन्धी कार्यक्रम अघि बढाइनेछ।

दीर्घकालीन योजनाअन्तर्गत दिगो ऊर्जा कोषमार्फत वित्तीय अन्तर पूर्ति, विपद्बाट क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण, पुराना अफग्रिड प्रणालीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तथा वातावरणीय दिगोपनासम्बन्धी कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ।

Read More

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको १२ सयले बढेर तोलाको २ लाख ९३ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९२ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर तोलाको ४८९५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४८४० मा कारोबार भएको थियो ।

Read More

भारत निर्यात अवरोध भएपछि इलामका चिया उद्योग असार १ गतेदेखि बन्द गर्ने घोषणा

काठमाडौँ । भारतले नेपाली तयारी चियाको आयातमा नयाँ मापदण्ड लागू गरेपाची इलामका उद्योगीहरूले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् ।

५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका अनुसार भारतीय चिया बोर्डले नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ जारी गरेपछि नेपाली चिया निर्यातमा विभिन्न प्रकारका गुणस्तर जाँच, जोमिखपूर्ण र अपारदर्शी नतिजा, तथा भण्डारणको अभाव जस्ता जटिल समस्याहरूका कारण नेपालबाट भारततर्फ चिया निर्यात हुन अवरोध भएको छ ।

एसोसियसनले हाल भारतीय बजारमा पुगेको करिब २ लाख किलोभन्दा बढी तयारी चिया भारतीय गोदाम मै रोकिएको अवस्था छ भने यता नेपालका उद्योगहरूमा १० लाख किलोभन्दा बढी तयारी चिया थन्किएर बसेको बताएको छ । उनीहरुले भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको चियाको नमुना रिपोर्ट महिनौं दिनसम्म पनि नदिदा समस्या उत्पन्न भएको उल्लेख गर्दै उद्योगीहरू बाध्य भएर आगामी दिनमा उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको र असार १ गतेदेखि उद्योग बन्द गर्ने जनाएका छन् ।

एसोसियसनले भनेको छ- ‘ भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको चियाको नमुना रिपोर्ट महिनौं दिनसम्म पनि दिँदैन । यदि रिपोर्ट आउँदा गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता अव्यावहारिक नियमहरू थपिएका छन् । यी अनेकौं समस्याहरूका कारण उद्योगहरूले किसानहरूलाई हरियो चियापत्तीको भुक्तानी समेत दिन नसक्ने भयानक अवस्था सिर्जना भएको छ । यस्तो विषम परिस्थितिमा हामी सम्पूर्ण उद्योगीहरू बाध्य भएर आगामी दिनमा उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छौं। अतः सम्पूर्ण उद्योगहरू आगामी २०८३ असार १ गते देखि बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जानकारी गराउँदछौं ।’

Read More

इप्पानमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । साधारणसभाले बाट डाँगीलाई संस्थाको विधानअनुसार स्वतः अध्यक्ष बनाएको हो ।

वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्षहरूमा क्रमशः उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित भए ।

महासचिवमा टेकनाथ आचार्य (टीएन आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएको समितिले जनाएको छ भने सचिवहरू कृष्ण प्रसाद घिमिरे, कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी र विजयमोहन भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा शंकर बस्यालले २६७ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत प्राप्त गरेका छन् ।

खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का तथा वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन् । 

Read More