२०८३ आश्विन १

बजेटका लक्ष्य पुरा हुन प्रभावकारी कार्यान्वयन अपरिहार्य- उद्योग परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सकारात्मक भन्दै यसको प्रभावकारी कार्यान्वयनले अर्थतन्त्रलाई नयाँ दिशा दिन सक्ने विश्वास व्यक्त गरेको छ ।

परिसंघले उत्पादनमूलक उद्योगका लागि तयारी वस्तु र कच्चा पदार्थबीच भन्सारमा एक तहको अन्तर कायम गर्न २७३ वस्तुको भन्सार दर घटाउने तथा ३६० वस्तुमा अन्तःशुल्क खारेज गर्ने निर्णयले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन र औद्योगिकीकरणलाई गति दिन सहयोग पुग्ने जनाएको छ ।

वन तथा प्राकृतिक स्रोतको उपयोग, हरित औद्योगिकीकरण, रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा मोतीपुर र मयूरधाप औद्योगिक क्षेत्र निजी क्षेत्रबाट निर्माण र सञ्चालन गर्ने व्यवस्था सकारात्मक रहेको परिसंघको भनाइ छ। यसले निजी क्षेत्रको सहभागिता बढाउने विश्वास व्यक्त गरिएको छ ।

उत्पादनमूलक उद्योगका लागि विद्युत् माग शुल्क पुनरावलोकन, महसुलमा छुट, औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्रमा बनेका संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्न पाउने व्यवस्थाले उद्योग विस्तारमा सहयोग पुग्ने परिसंघको धारणा छ । स्वचालित रूपमा मूल्य अभिवृद्धि कर फिर्ता हुने, विवादित करमा थप १ प्रतिशत बुझाएपछि मुद्दा फिर्ता हुने तथा ब्याज र जरिवाना नलाग्ने व्यवस्थालाई परिसंघले व्यवहारिक र उद्योगी व्यवसायीलाई राहत दिने कदमका रूपमा स्वागत गरेको छ ।

अस्वैच्छिक हक हस्तान्तरणमा आयकर ऐनको दफा ५७ नलाग्ने व्यवस्था, उत्तराधिकार व्यवस्थापन, संस्थागत पुनर्संरचना र व्यवसाय विस्तारका क्रममा देखिएका जटिलता हटाउन उपयोगी हुने जनाइएको छ । विदेशी लगानीकर्तालाई मुनाफा तथा रोयल्टी सहज रूपमा फिर्ता लैजान दिने व्यवस्थाले लगानीमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने परिसंघको विश्वास छ । व्यक्तिगत आयकरको सीमा १० लाख रुपैयाँ पुर्‍याउनु र अधिकतम करदर १० प्रतिशतले घटाउनु उपभोक्ताको क्रयशक्ति बढाउने तथा उद्योग, व्यापार र सेवा क्षेत्रको माग विस्तारमा सहयोगी हुने उल्लेख गरिएको छ ।

बजेटमा कृषि प्रशोधन, पर्यटन सेवा र श्रमप्रधान उद्योगको विकासका लागि रोजगार आबद्ध उत्पादन क्षेत्र सञ्चालन गर्ने, लगानी प्रवर्द्धनका लागि कानुनी तथा नीतिगत सुधार गर्ने, उधारो असुलीसम्बन्धी कानुन ल्याउने तथा विभिन्न ऐन, नियम र कार्यविधिमा संशोधन गर्ने विषयलाई पनि परिसंघले सकारात्मक मानेको छ ।

सरकारी निकायको खारेजी तथा गाभ्ने निर्णयले सरकारी कार्यक्षमता बढ्ने र अनावश्यक खर्च कटौती हुने बताइएको छ। लगानी बोर्डबाट स्वीकृत आयोजनाले पुनः अन्य निकायबाट अनुमति लिनु नपर्ने व्यवस्था, निजी लगानी आकर्षित गर्न विभिन्न कोष र ऋणपत्रको प्रयोग तथा ऊर्जा क्षेत्रमा नयाँ व्यवस्था ल्याउने योजनाले पनि लगानी बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

साना तथा मझौला उद्योगका लागि कर्जा सुरक्षण, व्यावसायिक पुनरुत्थान कर्जा, हरित मल उत्पादनमा प्रोत्साहन, सामाजिक उत्तरदायित्वसम्बन्धी कानुनी व्यवस्था तथा नवप्रवर्तनशील उद्यमलाई राष्ट्रिय उद्यम प्रणालीसँग जोड्न नेपाल उद्यम सहजीकरण केन्द्र स्थापना गर्ने प्रस्तावलाई परिसंघले स्वागत गरेको छ।

उच्च मूल्यका पर्यटक लक्षित होटल तथा विश्रामस्थललाई प्रोत्साहन, आरोग्य पर्यटनको प्रवर्द्धन, ढुंगा, गिट्टी र बालुवा उत्खनन तथा प्रशोधनको व्यवस्थित व्यवस्थाले पनि अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने बताइएको छ।

यद्यपि गुणस्तर प्रवर्द्धन तथा गुणस्तरीय वस्तु आयातसम्बन्धी विषय बजेटमा समावेश नभएको भन्दै परिसंघले त्यसतर्फ ध्यानाकर्षण गराएको छ। उत्पादनमूलक उद्योगलाई आवश्यक जग्गामा हदबन्दी नलाग्ने व्यवस्था र उद्योग तथा सरकारबीचको भुक्तानी तथा फिर्ता रकम समायोजन गर्न पाउने व्यवस्था पनि बजेटमा छुटेको परिसंघको भनाइ छ।

परिसंघले बजेटले लक्ष्य लिएको ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न, लगानी प्रवर्द्धन गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको निष्कर्ष निकालेको छ ।

Read More

आज कति पुग्यो सुनचाँदीको मुल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य स्थिर रहदै तोलाको ३ लाख ११ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि सुनक मुल्य सोहि मुल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर तोलाको ५३७० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५४०५ मा कारोबार भएको थियो ।

Read More

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ४ सयले बढेर तोलाको ३ लाख ११ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख १० हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर ५४०५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५३५५ मा कारोबार भएको थियो ।

Read More

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको २ सयले घटेर तोलाको ३ लाख १० हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ११ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर ५३५५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५३४५ मा कारोबार भएको थियो ।

Read More

वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४३.६ प्रतिशतले वृद्धि, १० महिनामै रु ४ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढ्दै जाँदा वीरगञ्ज नाका हुँदै हुने ईभी आयातमा उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा मात्र रु चार अर्ब दुई करोडभन्दा बढी मूल्यका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४३.६० प्रतिशतले बढी हो।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको १० महिनामा १५ हजार २७१ वटा विभिन्न प्रकारका विद्युतीय सवारीसाधन आयात भएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नौ हजार ४२ वटा ईभी आयात भएका थिए। यसले विद्युतीय सवारी बजारमा तीव्र विस्तार भइरहेको संकेत गर्छ।

विद्युतीय सवारीसाधन आयातको तुलनात्मक अवस्था (१० महिना)

सूचकगत आवचालु आवपरिवर्तन
कुल आयात मूल्यरु १.६५ अर्बरु ४.०२ अर्ब+१४३.६०%
कुल आयात संख्या९,०४२१५,२७१+६८.९%
राजस्व सङ्कलनरु ८१.४७ करोडउल्लेखनीय वृद्धि
५१–१०० किलोवाट ईभी कार/जीप/भ्यान संख्या६५७+१०,८५०%
५१–१०० किलोवाट ईभी कार/जीप/भ्यान मूल्यरु २.०६ करोडरु १.८७ अर्बअत्यधिक वृद्धि
 सवारीबाट राजस्वरु १.१९ अर्ब
विद्युतीय मोटरसाइकल/स्कुटर संख्या४,८३४८,८६७+८३.४%
विद्युतीय मोटरसाइकल/स्कुटर मूल्यरु ६०.९६ करोडरु १.१७ अर्ब+९२%
विद्युतीय मोटरसाइकल/स्कुटरबाट राजस्वरु २०.१५ करोडरु ३८.५५ करोड+९१.३%

तथ्याङ्कले मध्यम क्षमताका विद्युतीय कार, जीप र भ्यानको माग उल्लेखनीय रूपमा बढेको देखाएको छ। ५१ देखि १०० किलोवाट क्षमताका सवारीको आयात संख्या एक वर्षमै छ वटाबाट ६५७ वटामा पुगेको छ। यस्ता सवारीको आयात मूल्य रु दुई करोडको हाराहारीबाट बढेर रु एक अर्ब ८७ करोड पुगेको छ।

दुईपाङ्ग्रे विद्युतीय सवारीको बजार विस्तार

विद्युतीय मोटरसाइकल तथा स्कुटरको आयात पनि निरन्तर उकालो लागेको छ। चालु आवको १० महिनामा आठ हजार ८६७ वटा यस्ता सवारी नेपाल भित्रिएका छन्। अघिल्लो वर्षको तुलनामा संख्या र मूल्य दुवैमा करिब दोब्बर वृद्धि देखिएको छ।

समग्र सवारीसाधन तथा पार्टपुर्जा आयातमा पनि उच्च वृद्धि

विद्युतीय सवारीसाधनको वृद्धिसँगै समग्र सवारीसाधन तथा तिनका पार्टपुर्जाको आयात कारोबार पनि विस्तार भएको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै रु ३१ अर्ब ३१ करोड बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन्।

यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु ९ अर्ब ६५ करोड बढी हो, जसले ४४.५८ प्रतिशत वृद्धिदर देखाउँछ। यद्यपि विद्युतीय सवारीको आयात बढिरहेका बेला परम्परागत इन्धनबाट चल्ने निजी सवारीको आयातमा भने केही कमी आएको देखिन्छ।

समग्र सवारीसाधन तथा पार्टपुर्जा आयातको तुलनात्मक अवस्था (१० महिना)

सूचकगत आवचालु आवपरिवर्तन
कुल सवारीसाधन तथा पार्टपुर्जा आयात मूल्यरु २१.६६ अर्बरु ३१.३१ अर्ब+४४.५८%
पेट्रोल/डिजेल जीप, कार र भ्यान संख्या८५५६२८-२६.५%
पेट्रोल/डिजेल जीप, कार र भ्यान मूल्यरु १.८१ अर्बरु १.२५ अर्ब-३०.९%
पेट्रोल/डिजेल जीप, कार र भ्यानबाट राजस्वरु ३.१७ अर्ब
अन-एसेम्बल्ड मोटरसाइकल संख्या५१,४२३
अन-एसेम्बल्ड मोटरसाइकल मूल्यरु ५.२१ अर्बरु ७.३२ अर्ब+४०.५%
अन-एसेम्बल्ड मोटरसाइकलबाट राजस्वरु ७.०९ अर्ब

बजारको बदलिँदो प्रवृत्ति

वीरगञ्ज भन्सारको तथ्याङ्कले नेपाली सवारी बजार क्रमशः विद्युतीकरणतर्फ उन्मुख भइरहेको देखाउँछ। एकातिर विद्युतीय कार, स्कुटर र मोटरसाइकलको आयात तीव्र गतिमा बढिरहेको छ भने अर्कोतर्फ पेट्रोल तथा डिजेलबाट चल्ने केही श्रेणीका सवारीको आयात घट्दो अवस्थामा छ।

सञ्चालन खर्चमा बचत, सरकारी नीतिगत सहुलियत तथा बढ्दो चार्जिङ पूर्वाधारका कारण विद्युतीय सवारीप्रति उपभोक्ताको रुचि बढेको अनुमान गर्न सकिन्छ। साथै, मोटरसाइकल तथा तिनका पार्टपुर्जाको उच्च आयातले दुईपाङ्ग्रे सवारीको बजार अझै सशक्त रहेको संकेत दिएको छ।

समग्र तथ्याङ्कले वीरगञ्ज नाकाले नेपालको सवारीसाधन आयात व्यापारमा अझै प्रमुख भूमिका निर्वाह गरिरहेको र विद्युतीय सवारी क्षेत्र आगामी वर्षहरूमा अझ तीव्र गतिले विस्तार हुने सम्भावना रहेको देखाएको छ।

Read More

अर्थमन्त्री डा. वाग्लेले बजेट बारे आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट बारे आज पत्रकार सम्मेलन गर्दैछन् । 

अर्थमन्त्री डा. वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा थप जानकारी दिन आज अपराहन्न ३ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् । 

पत्रकार सम्मेलन अर्थ मन्त्रालयको सुवर्ण हलमा हुने उनको सचिवालयले जानकारी दिएको छ ।

Read More

वीरगञ्जमा निर्यात विस्तार कि निर्भरता विस्तार? तथ्यले उठाएको प्रश्न

काठमाडौँ ।  वीरगञ्ज भन्सारमार्फत चालु आर्थिक वर्षको पहिलो १० महिनामा कुल रु ८८ अर्ब २२ करोड बराबरका वस्तु तथा सामान निर्यात भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको रु ८३ अर्ब २५ करोडको तुलनामा करिब ५.९७ प्रतिशत वृद्धि हो। अंकगणितीय दृष्टिले यो वृद्धि सकारात्मक देखिए पनि निर्यात संरचनाको गहिरो विश्लेषणले अर्थतन्त्रको आधार अझै सीमित र असन्तुलित रहेको स्पष्ट संकेत गर्छ।

निर्यात वृद्धिको मूल आधार फेरि पनि एउटै वस्तु ‘प्रशोधित भटमास तेल’ रहेको छ। पहिलो १० महिनामा मात्रै रु ४८ अर्ब ११ करोड बराबरको भटमास तेल निर्यात भएको छ, जुन कुल निर्यातको झण्डै ५४ प्रतिशतभन्दा बढी हिस्सा हो। यस्तो उच्च निर्भरता कुनै पनि निर्यातमुखी अर्थतन्त्रका लागि दीर्घकालीन रूपमा जोखिमपूर्ण मानिन्छ।

यससँगै प्रशोधित सूर्यमुखी तेल (रु ५ अर्ब ३५ करोड), फलफूलको रस (रु ६ अर्ब ४२ करोड), कपडा (रु ३ अर्ब ३ करोड) र सिन्थेटिक यार्न (रु २ अर्ब २५ करोड) जस्ता वस्तुहरूको योगदान अपेक्षाकृत सानो देखिन्छ। यी तथ्यहरूले निर्यात संरचना अझै पनि सीमित उत्पादन समूहमा केन्द्रित रहेको स्पष्ट पार्छ।

एकीकृत निर्यात संरचना र जोखिमको संकेत

यद्यपि कुल निर्यातमा केही वृद्धि देखिएको छ, तर त्यो वृद्धि गुणात्मकभन्दा पनि परिमाणात्मक (quantitative) प्रकृतिको हो। निर्यात सूचीमा विविधता विस्तार हुन नसक्दा समग्र अर्थतन्त्र बाह्य मूल्य उतारचढावप्रति संवेदनशील बनेको देखिन्छ।

विशेषगरी, वनस्पति तेलमा अत्यधिक निर्भरता हुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ वा मागमा आएको परिवर्तनले नेपालको निर्यात आम्दानीमा प्रत्यक्ष प्रभाव पार्ने जोखिम उच्च रहन्छ। यसले दीर्घकालीन निर्यात रणनीतिमा पुनर्विचार आवश्यक रहेको संकेत गर्छ।

नीतिगत सन्देश

भन्सार तथ्याङ्कले निर्यात वृद्धि सकारात्मक भए पनि त्यसको संरचना सन्तुलित नभएको स्पष्ट देखाउँछ। निर्यात विस्तारलाई दिगो बनाउन अब नीतिगत प्राथमिकता उत्पादन विविधीकरण, उच्च मूल्य अभिवृद्धि (value addition), र औद्योगिक आधार विस्तारतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता छ।

अन्यथा, वर्तमान वृद्धि निर्यात क्षमताको विस्तारभन्दा पनि सीमित वस्तुमा आधारित अस्थायी लाभ मात्र बन्ने जोखिम रहन्छ।

Read More

सुन तोलाको ५६ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ५६ सयले बढेर तोलाको २ लाख ९० हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८५ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७५ रुपैयाँले बढेर ५०४० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८६५ मा कारोबार भएको थियो ।

Read More

दीपक भट्ट प्रकरणमा सीआईबीको ठूलो कदम: ५६ जनाको बैंक खाता र सेयर कारोबार रोक्का

काठमाडौँ । सहकारी ठगी र वित्तीय अनियमिततासम्बन्धी अनुसन्धान तीव्र बनाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ५६ जना व्यक्तिको बैंक खाता र सेयर लगानी विवरण रोक्का गर्न निर्देशन दिएको छ।

सीआईबीले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गर्दै विभिन्न बीमा तथा पुनर्बीमा कम्पनीसँग जोडिएका सञ्चालक, लगानी समिति सदस्य र पदाधिकारीहरूको सम्पत्ति तथा सेयर कारोबार रोक्का गरी विवरण उपलब्ध गराउन आग्रह गरेको हो।

जेठ ११ गते पठाइएको पत्रमा दीपक भट्टसमेत प्रतिवादी रहेको ठगी मुद्दाको अनुसन्धानका लागि वित्तीय कारोबार, लगानी संरचना र सम्पत्ति प्रवाहबारे विस्तृत जानकारी आवश्यक परेको उल्लेख छ।

रोक्का सूचीमा नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्ससँग आबद्ध विभिन्न सञ्चालक तथा लगानीकर्ताहरू परेका छन्। सीआईबीले उनीहरूको धितोपत्र बजारमा भएका लगानी तथा कारोबारसम्बन्धी विवरण सुरक्षित राख्न पनि निर्देशन दिएको छ।

यसैबीच, हिमालयन लाइफ इन्स्योरेन्ससँग सम्बन्धित थप सञ्चालक तथा लगानी समिति सदस्यहरूमाथि पक्राउ पुर्जी जारी भएको पनि खुलेको छ। अनुसन्धानका लागि उनीहरूलाई प्रहरीसमक्ष उपस्थित हुन आग्रह गरिएको छ।

सीआईबीले सम्बन्धित सबै व्यक्तिहरूलाई कानुनी प्रक्रिया सहयोग गर्न र छानबिनमा सहभागी हुन आग्रह गरेको छ। अनुसन्धान जारी रहेकाले घटनासम्बन्धी थप विवरण क्रमशः सार्वजनिक हुने अपेक्षा गरिएको छ।

Read More

निर्माण क्षेत्रका समस्या समाधान गर्न चेम्बरको सरकारलाई ध्यानाकर्षण

काठमाडौं । निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी र प्रशासनिक जटिलताका कारण निर्माण व्यवसायीहरू गम्भीर संकटमा परेको भन्दै नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ ।

चेम्बरले मध्यपूर्वमा जारी युद्धको प्रभावका कारण निर्माण सामग्री, डिजेल तथा ढुवानी खर्चमा निरन्तर मूल्यवृद्धि भएको उल्लेख गर्दै त्यसले निर्माण व्यवसायीहरू आर्थिक दबाबमा परेको जनाएको छ ।

चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले सार्वजनिक खरिद ऐन तथा नियमावलीमा रहेको मूल्य समायोजनसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा समस्या थप जटिल बनेको उल्लेख गरिएको छ ।

चेम्बरका अनुसार निर्माण लागत बढ्नु, समयमै भुक्तानी नहुनु तथा प्रशासनिक झन्झटका कारण विकास निर्माणका काम प्रभावित भइरहेका छन् । यसको असर सिमेन्ट, स्टिल, डण्डी, पाइप, तार उद्योगलगायत निर्माणसँग सम्बन्धित अन्य व्यवसायमा समेत परेको जनाइएको छ । नेपाल चेम्बर अफ कमर्सले निर्माण क्षेत्रलाई थप संकटमा जानबाट रोक्न आवश्यक नीति तथा निर्णय तत्काल कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । साथै मूल्य समायोजनसम्बन्धी कानुनी व्यवस्था प्रभावकारी रूपमा लागू गरी निर्माण व्यवसायीलाई राहत दिनुपर्नेमा जोड दिएको छ ।

चेम्बरले सडक, ऊर्जा, जलस्रोत, सहरी विकास तथा औद्योगिक पूर्वाधारलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना बनाउन पनि सरकारलाई सुझाव दिएको छ । पूर्वाधार विकासलाई प्राथमिकता दिइए पनि निर्माण व्यवसायी पलायन हुने अवस्था सिर्जना हुनु चिन्ताजनक भएको चेम्बरको भनाइ छ । सरकार र निजी क्षेत्रबीच सहकार्य तथा विश्वासको वातावरण कायम भए आर्थिक विकासको लक्ष्य हासिल गर्न सहज हुने विश्वास पनि चेम्बरले व्यक्त गरेको छ ।

Read More